माघ २२ मा प्रदेशसभा अधिवेशन

माघ २२ मा प्रदेशसभा अधिवेशन

विराटनगर : प्रदेश १ को प्रदेशसभाको पहिलो अधिवेशन माघ २२ गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले संविधानको धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन बोलाउने निर्णय भएको जानकारी दिएका छन्।

‘जिसस मोरङको सभाहलमा तयार पारिएको संसद् सभाहलमा पहिलो बैठक बस्नेछ’, उनले भने, ‘बैठक बस्ने स्थानमा पूर्वाधार निर्माणको कामलाई तीव्रता दिनुका साथै अरू तयारी पनि बढाएका छौं।’ प्रदेशसभा सदस्यलाई शपथ गराएपछि काठमाडौं फर्किएका तुम्बाहाङ सोमबार विराटनगर फर्किएका हुन्। बहुमतप्राप्त दललाई अब प्रदेश सरकार बनाउन बाटो खुलेको उनले जानकारी दिए।

सभाहल सिँगारपटारको काम कर्मचारीले आधाभन्दा धेरै पूरा गरेका छन्। त्यहाँ कुर्सी मर्मत गरेर मिलाउने, भत्किएको भुइँमा प्लास्टर गर्ने, भित्ता रंगरोगनलाई गति दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार जिससकै माथिल्लो तलामा सभामुख, उपसभामुख र विपक्षी दलका नेताको कार्यालय पनि रहनेछ। ‘सभाहलको पूर्वाधार निर्माण, सुरक्षा व्यवस्थासहितका सबै तयारीलाई व्यवस्थित ढंगले अघि बढाइएको छ’, उनले भने।

प्रदेश प्रमुखको कार्यालय तथा सचिवालय क्षेत्रीय कृषि निर्देशनलायमा तोकिएको छ। प्रदेश प्रमुखको कार्यालय तथा सचिवालय भने पशु निर्देशनालयबाट क्षेत्रीय वन कार्यालयमा सार्ने तयारी छ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ओमप्रकाश सरागवीले गर्नेछन्। यसअघि प्रदेश प्रमुखले सरागवीलाई शपथ गराएपछि उनले बाँकी सदस्यलाई शपथ खुवाएका थिए। उनले अब प्रदेश सरकार गठनसहितका कामले गति लिने पनि बताए।

दुई पदमा मात्र चुनाव

राष्ट्रियसभा सदस्यका दुई पदमा मात्र प्रदेश १ मा निर्वाचन हुने भएको छ। प्रदेश १ मा राष्ट्रियसभा सदस्यका लागि दलित र अल्पसंख्यकमा मात्र मतदान हुने भएको हो। यी दुई पदका लागि चार जना प्रतिस्पर्धामा छन्। दलित एक पदमा एमालेका खेमराज नेपाली र कांग्रेसका विनकुमार विश्वकर्मा उम्मेदवार छन्। अल्पसंख्यकमा एमालेका अगमप्रसाद बान्तवा राई र कांग्रेसबाट महेशकुमार जाजूबीच प्रतिस्पर्धा हुँदै छ।

आठमध्ये ६ पदमा उम्मेदवार निर्विरोध भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुलातर्फ एमालेका परशुराम मेघी गुरुङ (संखुवासभा), कांग्रेसका रमेशजंग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध भएका हुन्। खड्गप्रसाद बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि गुरुङ, रायमाझी र शिवाकोटी निर्विरोध भएको जनाइएको छ।

महिलातर्फ एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी बिना पोखरेल (मोरङ) र कांग्रेसकी सरिता प्रसाइँ (झापा) मनोनयन दर्ताकै दिन निर्विरोध भएका थिए। अल्पसंख्यक÷अपांगतातर्फ राप्रपाकी अनुपमादेवी साहले पनि उम्मेदवारी फिर्ता लिएकी छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.