कर्णालीमा तीव्र गतिको इन्टरनेट
जुम्ला : कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार जुम्लामा सकिएको छ। यहाँका सबै ग्रामीण बस्तीमा तीव्र गतिको इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमलाई चुनौती दिँदै कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारमा जुटेको सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालिले जुम्लामा काम सम्पन्न गरेको छ।
वाइभ सरोवर कम्युनिकेसन प्रालि काठमाडौँको प्राविधिक सहयोग तथा सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालि जुम्लाको एक करोड लगानीमा सिम्पल नेटर्वकको इन्टरनेट सेवा विस्तार भएको हो।
नेपालगन्जको मिड प्वाइन्टबाट सिम्पल नेटर्वकको तीव्र गतिको इन्टरनेट सेवाको लिंक दैलेखको रानीमता टावर हँुदै कालिकोटको टावरबाट जुम्लाको बास्थाप्ला टावरमा पठाइने सिम्पल नेटर्वककी प्रबन्धक प्रतिभा शाहीले जानकारी दिइन्। यसअन्तर्गत जुम्लाको बास्थाप्ला टावरले जिल्लाका सबै स्थानीय तहलाई पायक पर्ने हिसाबले विस्तार गरिएका एक दर्जनभन्दा बढी टावरमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार गर्नेछ। ‘हामी तत्काल कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार गर्दै छौं, जुम्लामा काम सम्पन्न भयो’, उनले भनिन्, ‘स्थानीयले ढुक्क भएर आफ्नो घरदैलोमै ५० एमबीको क्षमतासहितको इन्टरनेट सेवा प्रयोग गर्नेछन्।’
इन्टरनेट सेवाले कर्णालीका ग्रामीण क्षेत्रसम्मका नागरिकलाई सूचनाको पहुँचमा ल्याउन सहयोग पुगेको छ।
इन्टरनेट सेवाले कर्णालीका ग्रामीण क्षेत्रसम्मका नागरिकलाई सूचनाको पहँुचमा ल्याउन सहयोग पुगेको छ। कम क्षमताको नेपाल टेलिकमको इन्टरनेट सेवाबाट असन्तुष्ट सेवाग्राही, संघीय संरचनापछिका गाउँपालिका र सरकारी तथा गैरसरकारी कार्यालयसमेत घरदैलोमै विस्तारित इन्टरनेट सेवाले खुसी भएका छन्।
पर्यटकीय क्षेत्रमा हटस्पट
कर्णालीमा दर्जनभन्दा बढीको संख्यामा पर्यटकीय क्षेत्र छन्। यी क्षेत्रमा इन्टरनेटको अभावका कारण पर्यटकले सूचनालगायत सेवामा समस्या झेल्नुपरेको छ। यिनै समस्यालाई दृष्टिगत गरी सिम्पल नेटर्वकले पर्यटकीय स्थलमा हटस्पट सञ्चालन गर्ने भएको छ। यसका लागि मुगुमा रहेको राराताल, जुम्लाको तातोपानी धारा, आधा दर्जनभन्दा बढी दह, कुण्ड रहेका रमणीय पाटन क्षेत्र, खस भाषाको सभ्यता स्थान सिँजा उपत्यका, कालिकोट, जुम्लाको सीमा तथा व्यापारिक केन्द्र नाग्मघाटलगायत दर्जनौँ स्थानमा हटस्पट सञ्चालन हुने भएको छ।
बैंकिङ सेवामा सहज
इन्टरनेट समस्याका कारण स्थानीय तह गाउँपालिकामा बैंकिङ सेवा सुरु गर्न समस्या हुने गरेकाले सिम्पल नेटर्वकको इन्टरनेट सेवा विस्तारपछि स्थानीय तहमा बैंकिङ सेवा सुरु गर्न सहज हुने भएको छ। हाल इन्टरनेट समस्या देखाउँदै जुम्लाका ग्रामीण भेगका गाउँपालिका अझै पनि इन्टरनेटसँग सम्बन्धित महत्वपूर्ण कार्य सदरमुकामबाटै सम्पादन गरिरहेका छन्।
स्थानीय तहमा इन्टरनेट र बैंकिङ सेवा नभएकाले सदरमुकाम केन्द्रित हुनुपरेको तिला गाउँपालिका कार्यकारी अधिकृत विष्णुप्रसाद धितालले बताए। केही सूचनाको जानकारी लिनुपर्ने अवस्था आएमा सदरमुकाम खलंगामै आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।