महिला सांसद्‍ भन्छन्: ३३ प्रतिशत मन्त्री बनाउनैपर्छ

महिला सांसद्‍ भन्छन्: ३३ प्रतिशत मन्त्री बनाउनैपर्छ

काठमाडौं : महिला सांसदहरुले संघीय र प्रदेशको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने आवाज उठाउन थालेका छन् ।

उनीहरुले प्रदेशको मुख्यमन्त्री, सभामुख, उपसभामुखमा संविधानले व्यवस्था गरेको व्यवस्था अनुसार महिलाको प्रतिनिधित्व हुनु माग गरेका छन् । राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

केन्द्रमा ८ महिला मन्त्री ?

जसअनुरुप केन्द्रीय मन्त्रिपरिषद्‍ कम्तिमा ८ महिला मन्त्री हुनुपर्छ । केन्द्रीय मन्त्रिपरिषद्‍मा बढीमा २५ जनाको मन्त्रिपरिषद हुने संवैधानिक व्यवस्था छ ।

यता प्रदेशमा कु्ल सांसदको २० प्रतिशत मन्त्री बनाउन सकिने व्यवस्था छन् । ६ वटा प्रदेशमा स्पष्ट बहुमत रहेका एमाले र माओवादीको गठनबन्धनले कुल सांसदको १० प्रतिशत मन्त्री बनाउने निर्णय गरेका छन् ।

प्रदेशमा महिलाको अवस्था

जसअनुसार ९३ सांसद रहेको प्रदेश १ मा ९ जनाको मन्त्रिपरिषद हुन्छ भने ११० सांसद रहेको प्रदेश ३ मा ११ जना, ६० सांसद रहेको प्रदेश ४ मा ६, ८७ सांसद रहेको प्रदेश ५ को ९ जना , ४० सांसद रहेको प्रदेश ६ मा ४ जना, ५३ सांसद रहेको प्रदेश ७ मा ५ को मन्त्रिपरिषद्‍ हुन्छ ।

उता मधेसवादी गठबन्धनको बहुमत रहेको प्रदेश २ मा २० प्रतिशत नै मन्त्री बनाएपनि २० जनाको मन्त्रिपरिषद्‍ हुन्छन् । प्रदेश २ मा कुल १०३ प्रदेश सांसद् रहेका छन् ।

जसमा ३३ प्रतिशतको संवैधानिक व्यवस्था अनुसार प्रदेश १ मा ४ जना, प्रदेश ३ मा ३ जना, प्रदेश ४ मा २ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ६ मा १ जना र प्रदेश ७ मा २ जना महिला मन्त्री हुनसक्छ । उता प्रदेश २ मा कन्तिमा ६ जना महिला मन्त्री बन्न सक्छन् ।

संघीय र प्रदेश सभामा प्रत्यक्षतर्फ न्यून महिलाले विजयी भए पनि संघीय सांसदमा ३३ प्रतिशत प्रतिनिधित्वको अनिवार्य व्यवस्थाले समानुपातिकतर्फबाट अधितम महिला लगिएको छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमालेबाट दुईजना महिला विजयी भएका छन् । माओवादी केन्द्रबाट तीन जना र जनमोर्चाबाट एक गरी ६ महिलाले मात्र प्रतिनिधि सभामा जितेका छन् ।

पवित्रा भन्छिन्: ३३ प्रतिशत चाहिन्छ

झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी पवित्रा निरौला सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य हुनु पर्ने बताउँछिन् ।

‘नीति मात्र बनेर हुदैन ,राज्यका रहेका निकायमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ , अब बन्ने केन्द्रीय र प्रदेश दुवैको मन्त्रिपरिषद् ३३ प्रतिशत महिला हुनैपर्छ’, उनले भनिन् । उनले आफुले जुनसुकै मन्त्रालय दिएर पुरुषले भन्दा राम्रो चलाएर देखाउने दृढता व्यक्त गरिन् ।

सांसद निरौलाले आधाभन्दा बढी जनसंख्या रहेका महिलालाई संविधानले व्यवस्था गरेको कुरा दिन समेत कन्जुस्याईँ भइरहेको गुनासो गरिन । ‘जबसम्म हाम्रो मागको सम्बोधन हुदैन, तबसम्म हामी लडिरहेछौ’, उनले भनिन, ‘आमाको दुध खान त बाच्चाले रुनु पर्छ भने अधिकार लिन हामी नलडी हुँदैन । ’

उनले महिलाले चुनाव जित्न सक्दैनन भनेर दलहरुले उम्मेदवारी दिने क्रममा नै कन्जुस्याईँ गर्ने गरेको बताइन् । ‘महिलाले जित्न सक्दैनन् भनेर उम्मेदवारी नै दिन मान्दैन, दिएपनि कामजोर ठाउँमा मात्र', उनको गुनासो थियो, 'अनि कसरी प्रत्यक्षमा धेरै महिला आउनु सक्छन् त ?’

कार्यकारीमा लैजानुपर्छ: रमा

काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट प्रदेश सभामा निर्वाचित रमा आलेमगरले प्रदेश मन्त्री, सभामुख,उपसभामुख र मुख्यमन्त्रीसम्ममा संविधानले व्यवस्था गरे अनुसारको प्रतिनिधित्व गराउनु पर्ने बताइन । उनले भनिन,‘प्रदेशको मन्त्री मात्र होइन, मुख्यमन्त्री, सभामुख, उपसभामुख पनि ३३ प्रतिशत महिला हुनुपर्छ।'

उनले प्रदेश नम्बर ३ मा मुख्यमन्त्री महिला नै हुने सम्भावना रहेको बताइन् । ‘हाम्रो प्रदेशको मुख्यमन्त्री नै महिला हुँदैहुनुहुन्छ, म पनि मन्त्री हुन सक्षम छु', उनले भनिन् । आलेमगरले निर्णायक तहमा नपुगेसम्म महिलाको क्षमता अभिबृद्धि नहुने बताइन ।

एमालेबाट निर्वाचित रमाले महिलाको बढी भन्दा प्रतिनिधित्वको लागि पार्टीमा लविङ गरिरहेको बताइन् । उनले प्रत्यक्षमा जितेका महिलालाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन् ।

हामी सक्षम छौँ: आरती

बाँके क्षेत्र नम्बर १ 'ख' बाट निर्वाचित प्रदेश सांसद आरती पौडेलले महिला जुनसुकै भुमिका दिएपनि कुशलतापूर्वक निर्वाह गर्न सक्ने बताइन् । ‘प्रदेश ५ मा प्रत्यक्षमा निर्वाचित एमालेबाट म मात्रै हुँ', उनले भनिन्, 'जुनसुकै जिम्मेवारी दिएपनि कुशलतापूर्वक निर्वाह गर्न सक्छु ।’

उनले पनि प्रदेशको मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने माग गरिन् । उनले चुनौतीको सामना गर्न तयार भएर महिलाहरु राजनीतिमा आएको पनि बताइन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.