माहेश्वरी खेल मैदान रंगशाला बन्दै
भक्तपुर : भक्तपुर नगरपालिका –७ मा रहेको माहेश्वरी खेल मैदानलाई फुटबल मैदानसहितको रंगशालाको रुपमा स्तरोन्नति गरिने भएको छ । अव्यवस्थित हुँदै गएपछि उक्त मैदानलाई बाह्रै महिना फुटबल खेल्न मिल्ने गरी रंगशाला बनाउन लागिएको हो ।
भक्तपुरकै एकमात्र उक्त मैदानमा पाँच हजारभन्दा बढी दर्शक अट्ने प्याराफिट निर्माण हुने भक्तपुर जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै कृत्रिम घाँस बिछ्याएर उक्त मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको संघका अध्यक्ष गौतम सुजखू बताए ।
त्यस्तै रातको समयमा समेत फुटबल खेल्न सकिने गरी ठूला फ्लोड लाइट, खेलको क्रममा गोल हुँदा त्यसको जानकारी दिने डिस्प्ले बोर्डसमेत व्यवस्था गर्नेगरी मैदानको स्तरोन्नति हुन लागेको उनले जानकारी दिए ।
उक्त खेल मैदानको स्तरोन्नती गर्दै रंगशाला बनाउनको लागि भक्तपुर नगरपालिकाले डिजाइनसमेत तयार गरिसकेको छ । नगरपालिकाले आफ्नो लगानीमा सञ्चालन भएको ख्वप इञ्जिनियरिङ कलेजका विद्यार्थीलाई उक्त रंगशालाको डिजाइन बनाउन लगाएको हो ।
भक्तपुर नपाले उक्त मैदानको स्तरोन्नतिका लागि गएको वर्ष नै २० लाख रुपैयाँ विनियोजन गरेको थियो तर स्थानीय तहको निर्वाचन घोषणासँगै आचारसंहिता लागू भएका कारण उक्त बजेट खर्च हुन पाएको थिएन । तर निर्वाचनलगत्तै नगरपालिकामा जनप्रतिनिधि आएपछि चालू आर्थिक वर्षमा नपाले खेलकुद क्षेत्रको लागि करिब तीन करोड रुपैयाँ छुट्याएको छ ।
भक्तपुर नगरपालिकाले उक्त बजेट व्यवस्था गरेसँगै माहेश्वरी खेल मैदानको स्तरोन्नति हुने सम्भावना बढेको भक्तपुर जिल्ला फुटबल संघका महासचिव योगेन्द्र खर्बुजाले बताए ।
उनका अनुसार उक्त मैदानको स्तरोन्नति गर्न अखिल नेपाल फुटबल संघ –एन्फा) ले समेत चासो व्यक्त गरेको छ । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले उक्त मैदानको स्थलगत अवलोकनसमेत गरिसकेको छ । उक्त टोलीले भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरी माहेश्वरी खेल मैदानको स्तरोन्नतिको लागि नपासँग सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी गराएको महासचिव खर्बुजा बताउँछन् ।
‘माहेश्वरी खेल मैदानको स्तरोन्नतिको लागि भक्तपुर नपा र एन्फा दुवै सकारात्मक छन्’, उनले भने, ‘त्यसको लागि दुवै संस्थाले आआफ्नो प्रस्तावसमेत प्रस्तुत गरिसकेका छन् । उक्त प्रस्ताव स्वीकृत भएपछि मैदानले मुहार फेर्नेछ ।’
भक्तपुर नगर प्रमुख प्रजापतिले माहेश्वरी खेल मैदानलाई फुटबल मैदानको रुपमा विकास गर्न नपा लागिपरेको जानकारी दिए । ‘भक्तपुरमा फुटबल मैदानको अभावलाई ध्यानमा राख्दै नगरपालिकाले माहेश्वरी खेल मैदानलाई प्राथमिकतामा राखेर बजेट तयार गरिरहेको छ’, उनले भने ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष श्रेष्ठले फुटबल खेलको विकास र खेलाडी उत्पादनमा भक्तपुरको सम्भावना उच्च रहेकोले एन्फाले फुटबल मैदानमा चासो राखेको बताए ।