कांग्रेस जगाउन जुत्ता पालिस
काठमाडौं : उसबेला नयाँ बानेश्वरमा अहिलेजस्तो ठूला कफिसप खुलिसकेका थिएनन्। सन्तनेता कृष्णप्रसाद भट्टराई ‘लक्ष्मीको चिया पसल’ पुगेर दैनिक चियाचर्चा गर्थे। उनै किसुनजी पुग्ने चियापसल अगाडि मंगलबार कांग्रेस नेता-कार्यकर्ता भेला भएर अचानक पैदलयात्रीको जुत्तामा पालिस दल्न थाले।
किसुनजी त बितिसके। उनको सादगी जीवनका प्रतीक छाता र ट्यांकालाई अघिल्तिर राखेर अभियान चलाइयो। हिजोको कांग्रेस र आजको कांग्रेसबीचको समयरेखा छुट्याउन यही प्रतीक पर्याप्त थियो। पार्टी शुद्धीकरणका लागि भन्दै कांग्रेस नेताहरूले यसरी सडकमै जुत्ता पालिस अभियान चलाएका हुन्।
सहिद दिवसको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी, धनराज गुरुङलगायतले जुत्ता पालिस गरेका हुन्।
४३ वर्षअघि पञ्चायती व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाएको अंकुशविरुद्ध लेखकहरूले बुट पालिस अभियान चलाएका थिए। सोही अभियानको झल्को आउने गरी राजधानीमा कांग्रेस नेता कार्यकर्ताले जुत्ता चम्काउने अभियान चलाए। भर्खरैको चुनावमा कांग्रेसी मत खस्किएको बेला यो अभियान चलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
‘ श्रमप्रति कांग्रेस दृष्टिकोण कस्तो थियो भन्ने चिनाउन सांकेतिक रूपमा जुत्ता पालिस गरेका हौं।’ चन्द्र भण्डारी, कांग्रेस नेता
‘राजनीतिमा अन्याय, सिद्धान्तहीनता मौलाएको छ, नेता भण्डारीले भने, ‘त्यसैले श्रमप्रति कांग्रेसको दृष्टिकोण कस्तो थियो भन्ने चिनाउन सांकेतिक जुत्ता पालिस गरेका हौं।’
उनले जुत्ता पालिस अभियान कांग्रेसको शुद्धीकरणका साथै समग्र राजनीतिको शुद्धीकरणका लागि सञ्चालन गरिएको बताए।प्रतिष्ठानका महासचिव विनोदकुमार भट्टराईले नेता किसुनजीको आदर्श जीवित राख्न प्रतिकात्मक कार्यक्रम गरिएको बताए।उनले भने, ‘किसुनजीको आदर्शलाई उजागर गरेर अहिलेको राजनीतिक बेथिति शुद्धीकरण गर्न आयोजना गरेका हौं।’
यो पनि पढ्नोस : सडक पेटीमा जुत्ता टल्काउँदै कांग्रेस नेता (फोटोफिचर)
शुद्धीकरण अभियान विभिन्न चरणमा कार्यक्रम गरी वर्षभर मनाउने योजना रहेको महासचिव भट्टराईले बताए। नेता भट्टराईको विचार र आदर्शलाई पुस्तान्तरण गर्न पनि यो कार्यक्रमले सघाउने उनले बताए।
कृष्णप्रसाद भट्टराई स्वच्छ छवि, निष्टा र नैतिकताको राजनीति गर्ने नेता भएका कारण उनलाई प्रतिकात्मक रूपमा उभ्याइएको प्रतिष्ठानका अध्यक्ष दमननाथ ढुंगानाले बताए।
‘नेपालमा ठुल्ठूला परिवर्तन भए। तर, राजनीतिक संस्कार परिवर्तन भएन। भ्रष्टाचार, अनियमितता, बेराजगार बढ्दो छ। राजनीतिमा नैतिकताको संकट छ। त्यसविरुद्ध हो यो अभियान।’ -दमननाथ ढुंगाना, कांग्रेस नेता
उनले भने, ‘नेपालमा ठुल्ठूला परिवर्तन भए। तर, राजनीतिक संस्कार परिवर्तन भएन। सरकार जनउत्तरदायी छैन। भ्रष्टाचार, अनियमितता, बेराजगार बढ्दो छ। राजनीतिमा नैतिकताको संकट छ। त्यसविरुद्ध हो यो अभियान।’युवा पुस्तामाझ भट्टराईको विचार पुर्याउने उद्देश्य रहेको उनले बताए। भने, ‘जहाँ-जहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ-त्यहाँ यो कार्यक्रम पुग्नेछ।’
पहिलो बुटपालिसको झल्को
चार दशकअघि पञ्चायती व्यवस्थाविरुद्ध लेखकहरूले न्युरोडमा ‘बुट पालिस अभियान’ चलाएका थिए। सोही अभियानमा आबद्ध थिए लेखक नारायण ढकाल। उनी त्यसबेलाको बुट पालिस अभियान कुनै पार्टी विशेषको नभई अभिव्यक्ति स्वतन्त्रताका लागि गएको बताउँछन्। उनी भन्छन्, ‘त्यहाँ हामी सबै खालका लेखक थियौं। किताब प्रकाशन गर्न केही अर्थ संकलनसमेत गरेका थियौं।’
अहिलेको राजनीति निकै प्रदूषित भएकाले सुधारका लागि अभियान चल्नु सान्दर्भिक भएको उनको ठम्याइ छ। पञ्चायती व्यवस्था र अहिलेको व्यवस्थामा निकै फेरबदल आइसकेको छ। चार दशक अघिको प्रतिकात्मक आन्दोलनको सान्दर्भिकता अहिले किन पर्यो ? लेखक ढकाल पञ्चायती व्यवस्थाको तुलना अहिले हुन नसक्ने बताउँछन्। तर, जनताले पूर्ण स्वतन्त्रता अझै पाइनसकेकाले अभियान जायज भएको उनको ठम्याइ छ।
उनी भन्छन्, ‘अझै पूर्ण स्वतन्त्रता छैन। बेथिति व्याप्त छ। सीमान्तकृतको आवाज अझै सुनिएको छैन।’ सन्त नेता किसुनजीलाई प्रतीक मानेर अभियान चलाउनु राम्रो भएको उनको मत छ।