प्रदेश २ को सरकार गठन : फोरम-राजपा प्याकेजमा सहमति प्रयास

प्रदेश २ को सरकार गठन : फोरम-राजपा प्याकेजमा सहमति प्रयास

काठमाडौं : प्रदेश २ मा बहुमत जितेको मधेसी गठबन्धनका संघीय फोरम र राजपा दुवैले सरकार गठनको प्रयास तीव्र पारेका छन् । गठबन्धनले प्रदेश २ मा सरकार गठन गर्न सक्ने पूर्ण बहुमत अर्थात ५४ सिट जितेका छन् ।

प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा संघीय फोरम र राजपाले संयुक्त मधेसी गठबन्धन बनाएका थिए । राजपा अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले प्रदेश २ मा सरकार गठनबारे संघीय फोरमसँग पछिल्लो समय संवाद भइरहेको स्विकारे । उनले भने, ‘औपचारिक संवाद पनि अब चाँडै सुरु हुनेछ ।’ उनले संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पछिल्लो समय भइरहेको अनौपचारिक संवादबारे विस्तृत जानकारी दिन चाहेनन् । उनले भने, ‘हामीबीच कुनै विवाद छैन, सबै कुरा समयमै गर्छौं ।’

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि महतोकोजस्तै धारणा व्यक्त गरे । उनले भने, ‘प्रदेश २ का गर्भनरले सरकार गठनका लागि आह्वान गरेपछि औपचारिक बैठक गरी दुईपक्षीय सहमतिमा प्याकेज सार्वजनिक गर्नेछौं ।’ पार्टी तहमा संघीय फोरमले आन्तरिक तयारी गरिरहेको उनको भनाइ छ । मधेसी पार्टीसंबद्ध स्रोतका अनुसार अघिल्लो सातादेखि राजपाका केही शीर्ष नेता र संघीय फोरमका अध्यक्ष यादवबीच संवाद बाक्लिएको छ ।

अघिल्लो साता राजपा नेता महतोले पनि यादवसँग अनौपचारिक संवाद गरेका थिए । त्यसयता राजपा अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर र यादवबीच दुईपल्ट भेटवार्ता भएको संबद्ध नेताहरूले बताए । राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवका अनुसार प्रदेश २ मा सरकार गठन गर्न दुवै पार्टीबीच प्याकेजमै सहमतिको प्रयास भइरहेको छ । उनले भने, ‘१÷२ दिनभित्रै हुने औपचारिक संवादले प्याकेजलाई मूर्त रूप दिनेछ ।’ फागुनको पहिलो सातासम्म संघीय फोरम-राजपा गठबन्धनले प्रदेश २ को मुख्यमन्त्री चयन गरिसक्नु पर्ने हुन्छ ।

मुख्यमन्त्रीमा संघीय फोरमका कोषाध्यक्ष विजय यादव र उपाध्यक्ष लालबाबु राउतमध्ये एक जना निश्चितजस्तै रहेको पार्टीका नेताहरूले बताएका छन् ।

अनौपचारिक संवादमा सक्रिया एक शीर्ष मधेसी नेताका अनुसार संघीय फोरम र राजपाबीच सहमतिको खाका बनाउन सुरु भइसकेको छ । प्रदेशसभामा राजपाभन्दा संघीय फोरमले ४ सिट धेरै जितेकाले प्रदेश सरकारको मुख्यमन्त्री संघीय फोरमले पाउने भएको छ । त्यसपछि सभामुखसहित प्रमुख मन्त्रालयको भागबन्डा मिलाउन बाक्लिएको अनौपचारिक संवादले खाका बनाइरहेको नेताहरू बताउँछन् । मुख्यमन्त्रीमा पार्टीका कोषाध्यक्ष विजय यादव र उपाध्यक्ष लालबाबु राउतमध्ये एक जना निश्चितजस्तै रहेको संघीय फोरमका नेताहरूले बताएका छन् । पार्टी अध्यक्ष यादव यी दुई जनामध्ये एक जनालाई मुख्यमन्त्री र अर्कोलाई संसदीय दलको नेता बनाउने पक्षमा छन् । राजपाबाट नवलकिशोर शाहलाई संसदीय दलको नेता बनाउने र जितेन्द्र सोनललाई सभामुख बनाउने तयारी भइरहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रीमण्डलमा सहभागी गराउन सकिने भए पनि मुख्यमन्त्रीसहित ७ सदस्यीय मन्त्रिपरिषद्को सिफारिस प्रशासन आयोगले गरेको छ । प्रदेश २ मा १ सय ७ सदस्यीय प्रदेशसभाका झण्डै २० देखि २१ जना सांसद्ले मन्त्रिपरिषद्मा स्थान पाउन सक्छन् । मधेसी गठबन्धनले चुस्तदुरुस्त प्रदेश सरकार गठन गर्न चाहेकाले पहिलो चरणमा ७ सदस्यीय मन्त्रिमण्डलको गृहकार्य गरिरहेका छन् ।

माघ २१ गते प्रदेश २ को प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री पाउने निश्चित भएकाले संघीय फोरमले पार्टी बैठक २० गते बोलाएको छ । बैठकमा मुख्य गरी प्रदेश सरकार गठनबारे छलफल हुने संघीय फोरमका अध्यक्ष यादवले बताए । उनले भने, ‘हामी पार्टीभित्र सल्लाह गरिरहेका छौं र छलफल गर्न २० गते बैठक डाकेका छौं । बैठकले मुख्यमन्त्रीसहित अन्य प्रमुख पदमा कसलाई पठाउने टुंगो लगाउने छ ।’ दुवै पार्टीभित्र प्रमुख पदसहित मन्त्रिपरिषद्मा जान निर्वाचित सासंद्हरूको दौडधुप तीव्र देखिएको छ ।

दुई वर्षअघि संविधान संशोधनका लागि ६ महिना लामो आन्दोलन गरेका दुवै मधेसी पार्टी संशोधनको मुद्दा थाँती राख्दै स्थानीय तहदेखि प्रदेश र केन्द्रको निर्वाचनमा सहभागी भएका थिए । स्थानीय तह निर्वाचनमा खासै राम्रो नतिजा नल्याए पनि प्रदेश २ मा सरकार गठन गर्ने बहुमत पाएको छ । पर्सादेखि सप्तरीसम्म ८ जिल्ला समावेश प्रदेश २ आन्दोलनताका पनि मधेसी पार्टीहरूको आधार क्षेत्र थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.