वैज्ञानिक ‘ब्रेन ड्रेन’

वैज्ञानिक ‘ब्रेन ड्रेन’

दक्ष जनशक्ति बाहिरिने प्रवृत्ति हाम्रो सन्दर्भमा बढी नै छ। त्यसमा पनि विज्ञान क्षेत्रमा त दक्ष जनशक्ति पाउनु त शिला खोजेजस्तै भएको छ। विदेशका विभिन्न विज्ञान र प्रविधिसँग जोडिएका संस्थामा नेपाली वैज्ञानिकहरू कार्यरत छन्। तर देशमै त्यो जनशक्ति उपलब्ध छैन। सरकारले गत वर्ष विदेशमा रहेका नेपाली वैज्ञानिक फर्काउन पहल गर्दा सकेन। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ अभियान चलाउ“दा जम्मा दुईजना वैज्ञानिक नेपाल फर्के। 

विदेशी भूमिमा काम गरिरहेका वैज्ञानिकलाई नेपाल सरकारले आकर्षित गर्न नसक्नुको पहिलो कारण थियो, त्यस्तो अभियान प्रचारमूलक उद्देश्यबाट बढी प्रेरित थियो। त्यसमाथि विज्ञानको क्षेत्रमा अध्ययन-अनुसन्धानका लागि आवश्यक बजेट र अरू साधनस्रोतको अभावले पनि आकर्षित गर्न सकेको छैन। त्यसकारण वैज्ञानिकहरूलाई काम गर्न उत्प्रेरित र आकर्षण गर्न सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ। आवश्यक स्रोतसाधनको उचित प्रबन्ध गर्न सक्नुपर्छ।

निश्चय पनि विश्वका ठूलाठूला वैज्ञानिक संस्थाहरूले गरेजस्तो अध्ययन -अनुसन्धानका लागि खर्चिने हैसियत राज्यसँग नहोला, तर यसको अर्थ विज्ञान र प्रविधि क्षेत्रलाई उपेक्षित गरिनु न्यायसंगत होइन। नेपालमा विज्ञान-प्रविधिको गहिरो ज्ञान र सीप वर्षौं पहिलो भएको कुरा नेपाली इतिहास पल्टाउँदा प्रस्टिन्छ। गेहेन्द्रशमशेर राणाले जापान गएर कतिपय यन्त्रका तस्बिरहरू हेरेकै भरमा नेपाल फर्केर त्यस्तै यन्त्र बनाए।

चीनमा गएर गुम्बाहरू बनाएका नेपाली कलाकार अरनिकोले दुरबिनजस्तै यन्त्र बनाएको विषय चिनियाँ इतिहासमा अंकित छ। काठमाडौं, ललितपुर र भक्तपुरमा प्रचलित सुनको जलप लगाउने प्रविधि हाम्रै मौलिक प्रविधि हो। अहिले पनि नेपालबाहिर गएर हाम्रै नेपाली दिमागले थुप्रै अनुसन्धान गरिरहेका छन्। मंगलग्रहमा पानी रहेको तथ्य पत्ता लगाउने अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) को टोलीमा नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझा रहेको तथ्य दुई वर्षअघि सार्वजनिक भएको थियो। यी दृष्टान्तका आधारमा भन्न सकिन्छ- स्रोत, साधन र वातावरण हुने हो भने विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय काम हुन सक्छ।

कृषि, रसायनशास्त्र र न्यानो प्रविधिलगायत क्षेत्रमा केही विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र अन्य निजी संस्थाले केही अनुसन्धान त गरिरहेका छन् तर ती पर्याप्त छैनन्। जैविक विविधतायुक्त हाम्रो मुलुकमा अनेका प्रकारका कृषि उत्पादन र अनुसन्धानमार्फत त्यसको वृद्धि सम्भव छ। योग, ध्यान, जडीबुटी, औषधीमुलो र हस्तकलालाई विज्ञान प्रविधिमा जोड्ने हो भने त्यसबाट मुलुकले फड्को मार्ने सम्भावना छ।

यहाँ विश्वका दुर्लभ जडीबुटी पाइने र हिमाली जडीबुटीप्रति संसारको रुचि भएकाले त्यसलाई महँगा औषधि बनाएर बेच्न सम्भव छ। त्यसबाहेक आधुनिक प्रविधिको क्षेत्रमा हामीले लगानी गर्ने हो भने त्यसबाट नाफा कमाउन सकिन्छ भन्ने उदाहरण नजिकैका जापान, चीन र कोरिया हुन्। तर त्यसका लागि विज्ञान क्षेत्रमा रुचि भएका तर कमाउन बिदेसिएका तेजिला वैज्ञानिक युवायुवतीलाई देश फर्काउन आवश्यक छ।

देश फर्काएर मात्रै हुँदैन, उनीहरूको रुचि र ज्ञानका आधारमा क्षेत्र तोकिदिने र उनीहरूले चाहेको अनुसन्धानमा पर्याप्त लगानीसमेत गर्नुपर्छ। विदेशबाट ज्ञान र सीप हाँसिल गरेर आएकाहरूलाई स्थायी रूपमा आकर्षक सेवा सुविधा र काम गर्ने वातावरण दिन सक्नुपर्छ। व्यवस्थित रूपमा विज्ञानमा गरिएको लगानीको देशलाई प्रतिफल प्राप्त हुन्छ। इन्जिनियरिङ, विज्ञान, कृषि, वन, वनौषधि र खाद्य प्रविधि क्षेत्रमा नेपाललाई ठूलो जनशक्ति आवश्यक छ र त्यसलाई पूर्ति गर्ने गरी सरकारले बिदेसिएका नेपाली वैज्ञानिक घर फर्काउन पहल गर्नुपर्छ। नेपाली युवा आफैंले जन्मभूमिमा फर्केर अनुसन्धान गर्न या अनुसन्धानमूलक संस्था बनाएर विज्ञानको उत्थानमा लाग्ने प्रेरणा लिनु पनि आवश्यक छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.