‘म बनाउँछु मेरो खेलमैदान’
धनकुटा : सामाजिक सञ्जाल दुरुपयोगको चर्चा बेलाबखत हुने गर्छ । कतिपयले त सामाजिक सञ्जाललाई नकारात्मक भनेर टिप्पणी पनि गर्छन् । तर, केही त्यस्ता उदाहरण छन्, सामाजिक सञ्जालको प्रयोगले समाजलाई फाइदा पुग्ने काम पनि भएका छन् ।
सामाजिक सञ्जाल ‘फेसबुक’लाई माध्यम बनाई आर्थिक सहयोग जुटाएर अहिले सिँधुवा बजारमा राष्ट्रियस्तरको खेलमैदान निर्माणकार्य भइरहेको छ । पूर्वफुटबलर लक्ष्मीनारायण श्रेष्ठको अगुवाइमा सामाजिक सञ्जाल फेसबुकमा ‘म बनाउँछु मेरो खेलमैदान’ अभियानबाट सहयोग जुटाएर खेलमैदान निर्माणकार्य सुरु गरिएको हो ।
सिँधुवार बजारमा राष्ट्रियस्तरको खेलमैदान निर्माण गर्ने लक्ष्यसहित सरस्वती माध्यमिक विद्यालयको करिब १५ रोपनी जग्गा प्रयोग गरिएको छ । लक्ष्मीनारायण श्रेष्ठले करिब एक दशक स्थानीय क्लबदेखि ‘ए’ डिभिजन क्लब जावलाखेल, मछिन्द्रबाट व्यावसायिक फुटबल खेलेका थिए । करिअरमा उत्कृष्ट फर्ममै रहेका बेला चटक्कै खेलजीवन त्यागेर उनी जन्मथलो सिँधुवामा व्यवसाय गर्न आइपुगे।
‘घरायसी समस्याले गर्दा खेलजीवनवाट टाढा भएँ ।’ उनले भने ‘खेलजीवनबाट टाढा भए पनि फुटबलप्रतिको मोह सधैं जागिरह्यो ।’ सोही कारण आफ्नै जन्मथलोमा फुटबल खेलमैदान निर्माण गर्ने सोचले सहयोग जुटाउन सामाजिक सञ्जालको सहारा लियौं । खेलमैदान निर्माण गर्ने योजना एक्लैले सम्भव छैन । सबैको सहयोग जुटे सम्भव हुन्छ भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको उनले बताए । श्रेष्ठको अगुवाइमा खेलमैदान निर्माण भए पनि व्यवस्थापन भने सिँधुवा सिहंदेवी युथ क्लबले गरिरहेको छ ।
खेलमैदान अभावको कारण श्रेष्ठले बजार नजिकै सगरमाथा बोडिङ स्कुलको सानो मैदानमा केही खेलाडीलाई फुटबल प्रशिक्षण दिँदै आइरहेका थिए । मैदान सानो र साँघुरो हुँदा प्रशिक्षण गर्न कठिनाइ भयो । प्रतिभावान् खेलाडी उत्पादन गर्न सकिने भए पनि उनीहरूले खेलमैदान अभावले अभ्यास गर्न पाइरहेका थिएनन् । खेलमैदान निर्माण गर्न ठूलो बजेटको आवश्यक पर्ने भएकाले सामाजिक सञ्जालमा अभियान चलाएको श्रेष्ठले बताए ।
‘म बनाउँछु मेरो खेलमैदान’ अभियानवाट हालसम्म ३० जना सहयोगी दाताबाट तीन लाख रुपैयाँ संकलन भइसकेको छ । सहयोग रकम जुट्ने क्रम जारी नै छ । दाताहरूले न्यूनतम पाँच हजार देखि ३५ हजार रुपैयाँ सहयोग गरिराखेका छन् । अहिले खेलमैदान सम्याउन मात्रै १० लाख रुपैयाँ बजेटको आवश्यक छ । सामाजिक सञ्जालको अभियानबाट १० लाख रुपैयाँ सहयोग जुटाउने लक्ष्य लिइएका क्लबका अध्यक्ष दिवेश खड्काले बताए । उनले भने ‘खेलमैदान निर्माणको लागि अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र कतारमा रहेका खेलप्रेमीबाट सहयोग जुटिरहेको छ । दाताहरूले सिँधुवा सिंहदेवी युथ क्लबको राष्ट्रिय वाणिज्य वैंक धनकुटामा रकम जम्मा गर्दै आइरहेका छन् ।’
यसैगरी छथर जोरपाटी गाउँपालिका वडा नं. ७ वडा कार्यालयले पनि खेलमैदान निर्माणमा दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । राष्ट्रिय मापदण्डअनुसार नै खेलमैदानको लम्बाइ एक सय मिटर र चौडाइ ६० मिटर हुनेछ । ‘अहिले स्काइभेटर र डोजरले मैदान सम्याउने काम भइरहेको छ’ उनले भने ‘सहयोग रकम जुटे प्यारापिट बनाउने, मैदानमा दुबो रोप्ने र मञ्च तयार लगायत संरचना निर्माण गर्दै जानेछौं’ खेलमैदान अभावमा खेलकुद गतिविधि सुन्य थियो । अब खेलमैदान निर्माण भएसँगै निकट भविष्यमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्नेछौं,’ अध्यक्ष खड्काले भने ।