गाउँपालिकालाई एम्बुलेन्स उपहार
जुम्ला : भारतीय राजदूतावासले जुम्लाको पातारासी गाउँपालिकालाई एम्बुलेन्स उपहार दिएको छ । दूतावासले गाउँपालिका अध्यक्ष लछिमन बोहोरालाई काठमाडौं बोलाएर एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
गएको असार महिनामा पातारासी गाउँपालिकाका बासिन्दाले स्वास्थ्य क्षेत्रमा भोग्दै आएको समस्याबारे बताउँदै भारतीय दुुताबासमा एम्बुलेन्स माग गरेका थिए । एम्बुलेन्स पाएपछि गाँउपालीकाका बासिन्दा निकै खुशी भएका छन् ।
अध्यक्ष बोहोराले भने, ‘गाँउबाट बिरामीलाई सुविधा सम्पन्न अस्पताल पुर्याउन सहज भयो । जिल्ला सदरमुकाम खलंगा देखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाका बिरामीले एम्बुलेन्स सेवा लिनेछन् ।
यस अघि पातारासी गाँउपालीकाको सबै वडाबाट बिरामीलाई स्टेचरमा बोकेर स्वास्थ्य संस्था लैजानुपर्ने अवस्था थियो । हाल उक्त गाउँपालिकामा चार स्वास्थ्य चौकी छन्, बिरामीलाई सदरमुकाम लैजान एउटा स्वास्थ्यचौकीबाट न्युनतम् ३ देखि ६ घण्टा सम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।
‘गाउँपालिकामा एम्बुलेन्सको व्यवस्था भएपछि बिरामीलाई सहजै सुविधा सम्पन्न अस्पताल पुर्याउन सकिने भयो । यहाँ विशेष गरी मातृशिशु मृत्यु दर बढी छ’ पातारासी स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण बुढाले भने ।
साविक मालिकाबोता गाविस र नेपाल रेडक्रस सोसाईटी शाखा जुम्लाले संचालन गरेका दुई वटा एम्बुलेन्स सहि प्रयोग र मर्मत नहुँदा बिग्रिएर थन्किएका छन् । हाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले मात्र एम्बुलेन्स सेवा प्रभावकारी रुपमा रुपमा दिइरहेको छ ।