सुष्मा स्वराज आज आउँदै : विश्वास ब्युँताउने अवसर

सुष्मा स्वराज आज आउँदै : विश्वास ब्युँताउने अवसर

काठमाडौं : न कुनै पूर्वजानकारी। न कुनै पूर्वतयारी। न खास एजेन्डा नै ! कूटनीतिज्ञहरू यस्तो प्रकृतिको घुमफिरलाई ‘गुडविल भिजिट’ को संज्ञा दिने गर्छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लन लागेकी विदेशमन्त्री सुष्मा स्वराजसामु यही छेकमा नेपाल–भारत सम्बन्धलाई ठीकठाक पुनर्जागृत गर्ने अवसर उपलब्ध छ।

भारतीय विदेशमन्त्री स्वराजको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली हुनेछ। टोलीमा समावेश हुने कूटनीतिज्ञ र सरकारी प्रतिनिधिको सूची हेर्दा भारतले यो भ्रमणलाई निकै महत्व दिएको बुझ्न सकिन्छ। सरकारी स्रोतका अनुसार स्वराजको टिमले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, आसन्न सत्ता नेतृत्वकर्ता एमाले अध्यक्ष केपी ओली अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेट्नेछ।

परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीसँग स्वराजको भेट हुने कुरा पुष्टि गरे पनि अन्य केही खुलाएको छैन। भारतीय उच्च टोलीको दुईदिवसीय भ्रमणबारे मन्त्रालयले यत्ति खुलाएको छ, ‘दुईपक्षीय परस्पर स्वार्थका विषयमा संवाद हुनेछन्।’ भारतीय दूतावासको वक्तव्यअनुसार पुराना दुई देशबीचको सम्बन्ध, परस्पर स्वार्थ आदि विषयमा भ्रमण केन्द्रित हुनेछ। भ्रमण कार्यसूचीमा राखे या नराखे पनि भारतीय टोलीले पशुपतिनाथको दर्शन अक्सर छुटाउँदैन।

प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतका अनुसार भर्खरैको चुनावपछि नेपालमा विकसित नयाँ परिस्थितिमा भारत ‘कम्फर्टेबल’ हुन खोजिरहेको छ। ‘भित्री एजेन्डा केही भए सुष्माजी यहाँ आइपुगेपछि नै थाहा होला, नत्र यस्तो गुडविल भिजिट अक्सर सम्बन्ध सुधारकै लागि हुने गर्छ’, देउवानिकट स्रोतले भन्यो, ‘विश्वास पुनर्जागृत गर्ने अवसर हो यो।’

पछिल्ला अढाई वर्ष, खासगरी ०७२ जेठमा ठूला चार दलको १६ बुँदे समझदारीसँगै अघि बढेको संविधान निर्माण प्रक्रियासँग भारतीय असन्तुष्टि सोही वर्ष असोज–माघको साढे चार महिने नाकाबन्दीसँगै उत्कर्षमा पुगेको थियो। त्यस क्रममा नेपालमा भारतविरोधी भावना मात्रै उछालिएन, उत्तरी छिमेकी चीनसँग निकटता पनि बढ्न गयो। विज्ञहरूका अनुसार यही जनमतलाई भर्खरै चुनावी मतपेटिकामा रूपान्तर गर्न सफल वाम गठबन्धनलाई विश्वासमा लिने प्रयत्न नै स्वराज भ्रमणको प्राथमिकतामा हुनेछ।

प्रधानमन्त्री देउवाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले स्वराजमार्फत आउने मोदीको सन्देशबाट ‘बाँकी कुरा’ प्रस्टिने बताए। उनले स्वराजको भ्रमण पहिलेदेखि योजना बनाएर तय नभएको खुलाए। ‘चुनाव सफलता र संविधान कार्यान्वयनपछिको नयाँ परिस्थितिमा सुष्माजीको भ्रमण हुन गइरहेको छ,’ भट्टराईले भने, ‘विगतको विश्वास फेरि ब्युँताऊँ, र नयाँ ‘फ्रेस स्टार्ट’ गरौं भन्ने सन्देश पनि पक्कै होला। योजनाबद्ध भ्रमण नभएकाले उहाँ आएपछि नै खास कुुरा बुझिनेछ।’

पाँच दिनअघि ६९ औं भारतीय गणतन्त्र दिवसको अवसरमा एमाले अध्यक्ष ओलीले मोदीलाई चिठी पठाउँदै ‘सँगै मिलेर काम गर्न इच्छुक रहेको’ सन्देश दिएका थिए। कतिपयको बुझाइमा ओलीको त्यो सन्देश र त्यसअघि ओली–मोदी फोनसंवाद नै सुष्मा भ्रमणका कुञ्जी हुन्। स्वराजले बिहीबार एमाले अध्यक्ष ओलीलाई भेट्ने र नेताहरूसँग सामूहिक डिनर गर्ने कार्यक्रम तय भएको बुझिए पनि एमालेले त्यसलाई पुष्टि गरेन।

भारतका लागि पूर्वराजदूत लोकराज बरालले विदेशमन्त्री स्वराजको आसन्न भ्रमणलाई ‘गुडविल भिजिट’ कै रूपमा आफूले बुझेको बताए। ‘नरेन्द्र मोदीकै भ्रमण हुने गाइँगुईँ पनि सुनिन्छ, भित्री उद्देश्य अरू भए बेग्लै कुरा,’ बरालले भने, ‘नत्र यस्तो गुडविल भिजिट चलिरहन्छ। कुनै समय या योजना हुन्न। लन्च खाएर फर्कन पनि सकिन्छ।’ जे भए पनि अब विकसित नयाँ परिस्थितिमा भारतले पुरानो सोच कायम राखेर अघि बढ्न नहुने, नयाँ आधारमा अगाडि जानुपर्ने उनले टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.