म्यानचेस्टर सिटीको सहज जित, म्यानचेस्टर युनाइटेड हार्यो
काठमाडौं : इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले बुधबारको खेलमा वेस्ट अल्विनमाथि ३-० को सहज जित निकालेको छ । म्यानचेस्टर सिटीको होम ग्राउण्डमा भएको खेलमा म्यानचेस्टरले एकपक्षीय नतिजा निकाल्न सफल भएको हो ।
ब्राजिलियन मिडफिल्डर फर्नान्डिनोले १९ औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए । अर्का मिडफिल्डर बेल्जियमका खेलाडी केभिन डे ब्रुनेले ६८ मिनेटमा र अर्जेन्टिनी फर्वाड सर्जिओ अगुइरोले ८९ औं मिनेटमा गोल गरी म्यानचेस्टर सिटीका लागि ३-० को जित पक्का गरेका हुन्।
उता दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले भने टोटनह्यामसँग २-० को व्यहोरेको छ । वेम्ली रंगशालामा भएको खेलमा पहिलो मिनेटमै टोटनह्यामका लागि क्रिस्टियन एरिक्सेनले गोल गरेपछि म्यानचेस्टर युनाइटेड खेलमा पछि परेको थियो । म्यानचेस्टर युनाइटेडका फर्वाड फिल जोनेजले २८ औं मिनेटमा अत्माघाती गोल गरी टोटनह्यामको अग्रता दोब्बर बनाइ दिए । त्यसपछि खेलमा फर्कन निकै प्रयास गरेको म्यानचेस्टर युनाइटेड असफल रह्यो ।
हारपछि पनि २५ खेल खेलेको म्यानचेस्टर युनाइटेड ५३ अंकका साथ अंक तालिका को दोस्रो स्थानमा कायम रहेको छ । समान खेल खेलेर ६८ अंक बनाएको म्यानचेस्टर सिटी ६८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ५० अंक रहेको लिभरपुल तेस्रो र ५० नै अंक रहेको चेल्सी गोलअन्तरका आधारमा चौथो स्थानमा रहेको छ ।