थ्रीस्टार उपाधि नजिक
पोखरा : थ्रीस्टार क्लब आहा रारा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ ।बुधबार पोखरा रंगशालामा भएको खेलमा बंगलादेशको उत्तर बरिन्धारा क्लबलाई ५-० को फराकिलो अन्तरले हराउँदै थ्रीस्टारले फाइनल यात्रा तय गरेको हो । थ्रीस्टारको जितमा विश्वास श्रेष्ठले ह्याट्रिक गरे ।
थ्रीस्टारले उपाधिका लागि धरान फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।बुधबारको खेलमा नीराजन खड्का र विष्णु गुरुङले पनि एकएक गोल गरे । खेलमा म्यान अफ दी म्याच घोषित भएका विश्वासले खेलको ४७, ६७ र ७५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । आहा रारा गोल्डकपको १६औं संस्करणमा विश्वासको पहिलो ह्याट्रिक हो ।
खेल अवधिभर बरिन्धारा क्लबलाई दबाबमा राखेको थ्रीस्टारका विष्णु गुरुङले खेलको ४१औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । बुद्ध चेम्जोङले डीबक्समा मिलाइदिएको पासलाई गुरुङले जाली चुमाएका थिए ।
खेलको ४५औं मिनेटमा विश्वासको पासमा नीराजन खड्काले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयमा नीराजन खड्काले मैदानको बायाँ भागबाट दिएको पासलाई विश्वासले सदुपयोग गरेका थिए ।
खेलको ६७औं मिनेटमा नीराजनको पासमा गोल गरेका विश्वासले ७५औं मिनेटमा सुनील बलको पासलाई सदुपयोग गरे ।
खेलको सुरुआतबाट नै दबाबमा परेको बरिन्धाराले कुनै समय पनि गोलको अवसर सिर्जना गर्न सकेन ।
बरिन्धाराका प्रशिक्षक महाबुब अलाम मनिकले आफ्ना महत्वपूर्ण चार जना खेलाडी घाइते भएको र क्वार्टरफाइनलमा दुई खेलाडीले रातो कार्ड पाएकाले पराजित हुनु परेको बताए ।
बिहीबारको अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र धरान फुटबल क्लबबीच हुनेछ । पुलिसले मनाङ मस्र्याङ्दी क्लबलाई र धरानले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । पुलिसले पोखराको खेल मैदानमा क्याराभान गोल्ड कपसहित पाँचपटक गोल्डकप उचालिसकेको छ ।