सुष्माले उपेन्द्रलाई सोधिन्ः संशोधनको मुद्दा कहाँ पुग्यो ?
काठमाडौँः नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार बिहान संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेकी छन् ।
होटल सोल्टीमा करिब आधा घण्टासम्म भएको भेटवार्ताका क्रममा विदेशमन्त्री स्वराजले प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको अवस्थामा संविधान संशोधन प्रक्रियाबारे चासो राखेकी थिइन् ।
‘भेटमा नयाँ सरकार गठनदेखि संविधान संशोधनको मुद्दाबारेमा पनि छलफल भयो’, यादवनिकट स्रोतले भन्यो, ‘२ नम्बर प्रदेशमा मुख्यमन्त्री चयनबारे पनि दुई नेताबीच वार्ता भएको छ । विदेश मन्त्री स्वराजले संविधान संशोधनबाट मधेसका मुद्दा सम्बोधन भए नभएको बारे गम्भीर चासो राख्नु भएको छ ।’
स्वराजको चासोलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नयाँ जनमतपछि संशोधनको मुद्दालाई अघि बढाउनेबारेमा आफूहरु छलफलमै रहेको बताएका थिए । यसअघि स्वराजले एमाले अध्यक्ष केपी ओली र एमालेको टोलीसँग भेटेपछि राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई बिहीबार राति भेटेकी थिइन् ।