स्वराज यात्रा: नेपाललाई चीनको हातमा जान नदिने भारतीय प्रयास

स्वराज यात्रा: नेपाललाई चीनको हातमा जान नदिने भारतीय प्रयास

काठमाडौं : वाम गठबन्धन सरकारमा गइनसकेको र शेरबहादुर देउवा सरकारको बहिर्गमन भइनसकेको संक्रमणकालिन अवस्थामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई विभिन्न कोणबाट अर्थपूर्ण र श‌ंकास्पदरुपमा हेरिएको छ ।

नेपालले औपचारिक निम्तो नै नदिई पूर्णतया भारतीय इच्छा र चहानामा भएको यो भ्रमणले देशमा विभिन्न स‌ंशय पनि पैदा गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबीच एकताको गाँठो फुक्न नसकेको अवस्थामा भारतीय विदेश मन्त्रीको यो भ्रमणले सर्वसाधरणमा श‌ंका जन्माएको छ ।

६ महिना लामो नाकाबन्दी लगाएसँगै नेपालले भारतसँगको व्यापारिक एकाधिकार तोड्न चीनसँग सम्बन्ध बढाएको थियो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले चीनसँग व्यापारिक तथा अन्य सामरिक महत्वका सम्झौता गरेसँगै भारतले नेपाल आफ्नो हातबाट फुत्केको भन्दै चिन्ता जनाइरहेको थियो ।

नेपाललाई आफ्नो हातबाट चीनलाई सुम्पिएको भन्दै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना पनि भयो । तर नयाँ जनादेशबाट वाम गठबन्धनको सरकार बन्न लागेको पृष्ठभूमिमा मोदीले दूतका रुपमा स्वराजलाई पठाएर नेपालाई फकाउन थालेको आँकलन कुटनीतिक क्षेत्रमा भइरहेको छ ।

विदेशमन्त्री स्वराजको नेपाल भ्रमणलाई उत्तरी छिमेकी चीन र चीन मामिलाका विज्ञहरुले पनि नजिकबाट नियालिरहेका छन् । केही वर्षयता नेपाल मामिलामा गम्भीर चासो लिन थालेको चीनले स्वराजको भ्रमणलाई अहिलेको अवस्थामा नजरअन्दाज गरेर बस्न नसक्ने कुटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।

के भन्छन् चीन मामिलाका जानकार ?

जनमत विपरितको कसरत असम्भव भएपछि बन्न लागेको वाम गठबन्धनको सरकारसँग सम्बन्ध सुधार्न र आफुलाई पहिलो देखाउन भारतीय प्रधानमन्त्री मोदीले स्वराजलाई नेपाल पठाएको चीन मामिलाका जानकारहरु बताउँछन् । उनीहरुले निर्वाचन परिणाम आएको दुई महिनासम्म जनमत विपरित कसरत गरेर सम्भव नभएपछि सम्बन्ध सुधार्न मोदीले स्वराजलाई पठाएको बताएका छन् ।

ओलीलाई रोक्ने कसरत फेल !

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुन नदिन भारतले यी दुई महिनाबीचमा धेरै प्रत्यत्न गरेको कुटनीतिक मामिलाका जानकार बताउँछन् । 'ओलीलाई प्रधानमन्त्रीमा रोक्न भारतले धेरै कोसिस गर्‍यो तर त्यो प्रयास सफल भएन', चीनमामिलाका एक जानकारले भने, 'त्यसपछि आफ्नै चासो र पहलमा ओली प्रधानमन्त्री बन्दैछन् भन्ने सन्देश दिन स्वराजलाई मोदीले पठाएका हुन् । अस्थिर राजनीतिमा खेलिरहेको भारत नेपालमा स्थिर सरकार बन्न लागेपछि आतिएको छ ।'

जनमत विपरित जाँदैन भारत

नेपाल-चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले विदेशमन्त्री स्वराजको भ्रमणबारे प्रतिक्रिया दिँदै नेपालको जनमतविपरित भारत जानै नसक्ने चीनको विशलेषण रहेको बताए ।

भारतले चाहेर पनि नेपालको जनमत विपरित जानसक्ने अवस्था नरहेको चीनको ठहर रहेको भट्टराईले बताए । ‘नेपाल चीनको नजिक जान्छ भनेर मोदी डराएका छन्, त्यही भएर नेपालको नयाँ बन्ने सरकारलाई फकाउन उनले स्वराज पठाएका हुन्', उनले भने, ‘तर चीनलाई त्यसमा त्यति चासो छैन, पूर्वराजा वीरेन्द्रको पालादेखि चीनले भारतसँग पनि सम्बन्ध राख्नुको विकल्प नेपालसँग नरहेको सुझाव दिने गर्थ्यो ।’

आफ्नै चासो र पहलमा ओली प्रधानमन्त्री बन्दैछन् भन्ने सन्देश दिन स्वराजलाई मोदीले पठाएका हुन् । अस्थिर राजनीतिमा खेलिरहेको भारत नेपालमा स्थिर सरकार बन्न लागेपछि आतिएको छ ।

भारतसँग तीनतिर सिमाना भएकाले पनि चीनसँग मात्रै सम्बन्ध राख्ने अवस्था नेपालसँग समेत रहेको उनले बताए । ‘नेपाल भारत र चीन दुवैसँग समदुरीमा रहनुपर्छ भन्ने चीनको धारणा छ', उनले थपे, 'तीनतिर भारत छ, सडकमार्गको पहुँच पनि भारतसँगै सहज छ ।’

चीनसँग व्यापारिक लगानी बढाउनुपर्ने वकालत गरिरहेका भट्टराईले चिनियाँ रेल नआएसम्म लगानी र व्यापार भारतसँग गर्ने कुरामा चीनको आपत्ति नरहेको पनि बताए ।

भारतले थालेका काम सकोस्

उनले भारतले थालेको योजना पुरा गरेर मात्रै छाड्नुपर्ने बताए । 'भारतले नेपालमा हात हालेका योजना समयमा सकिदिए हुन्थ्यो', उनले भने, 'उसले थालेका अधिकांश योजना अहिले पनि अलपत्र छन् ।’

भारतले २०१८-०१९ को बजेटमा समेत ७० प्रतिशत भन्दा बढी अनुदान बढाएको छ । बिहीबार प्रस्तुत युनियन बजेटमा भारतले ६ अर्ब ५० करोड भारु नेपालका लागि बिनियोजन गरेको छ । गत वर्ष नेपालका लागि ३ अर्ब ७५ करोड भारु ९६ हजार रुपैयाँ विनियोजन गरेको थियो । उनले बजेट बढाएर मात्र नहुने बताउँदै योजना समय सकेर देखाउनु पनि भारतका लागि चुनौति भएको उल्लेख गरे ।

नेपाल आफ्नो 'ग्रिप' बाहिर नजाओस्

नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले नेपालमा नयाँ बन्ने सरकारको आफ्नो ‘ग्रिप’भन्दा बाहिर नजाओस भन्ने सुनिश्चित गर्न स्वराजको भ्रमण भएको हुनसक्ने बताए । चीनले स्वराजको भ्रमणलाई खासै महत्व नदिएको उनले बताए ।

‘चीनले स्वराजको भ्रमणलाई खासै चासो दिएको छैन, केबल सामान्य रुपमा हेरेको छ’, उनले भने, ‘बरु भारतका लागि ठूलो कुरा होला, ओली चीनतिर धेरै लहसिएर पुरै वेवास्ता त गर्ने होइन भन्ने डर उसलाई छ । ऊ (भारत) सधैँ नेपाललाई आफ्नो मातहतमा छ भन्ने विश्व समुदायलाई देखाउन चाहन्छ ।’

पौडेलले नेपालको अस्थिरतामा राजनीति गरिरहेको भारत वामपन्थीको पक्षमा आएको जनमतले तिलमिलाएको बताए । भारतले ओलीलाई रोक्न धेरै प्रयास गर्दा सम्भव नभएपछि सम्बन्ध सुधार्न आएको उनको ठहर छ । ‘ओलीसँगै भारतको सम्बन्ध चिसिएको छ, स्थायित्वसहित सरकारको नेतृत्व ओलीले गर्दैछन,’ उनले भने ।

पौडेलले राजनीति मात्र नभई जलस्रोत, जडिबुटी लगायत प्राकृतिक स्रोतमा एकाधिकार कायम गरिरहेको भारतलाई नेपालको स्थिर सरकार टाउको दुखाइको विषय बन्ने डर समेत रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.