मनु ब्राजाकीको प्रकाशित अन्तिम लेख 'अमेरिकातिर बरालिँदा'

मनु ब्राजाकीको प्रकाशित अन्तिम लेख  'अमेरिकातिर बरालिँदा'

अहिले नेपाल आफ्नो सम्पूर्ण इतिहासको अत्यन्त संक्रमणकालीन अवस्थाबाट गुज्रिँदैछ। सर्वत्र बेरीति र बेथितिको ताण्डव व्याप्त छ। कुन बेला कहाँ के हुन्छ भन्नसक्ने अवस्था छैन। यस्तो घोर अन्योल, दिशाहीनता, अराजकता र बेथितिको दैनिकी भोगेर अमेरिका आइपुग्दा तीनवटा सुखद आश्चर्य अनुभव प्रारम्भमै गर्नु पर्‍यो। अमेरिकालाई ‘अमेरिका’ बनाउने तीन कारक रहेछन्। भन्न सकिन्छ, अमेरिका ती तीन खुट्टा टेकेर समृद्ध भएको हो। अमेरिकी समृद्धिका जग बनेका ती तीन खुट्टा हुन्— विधिको शासन, श्रमको सम्मान, विश्वका विभिन्न ठाउँबाट आएका विविध जाति प्रजातिहरूको सद्भावपूर्ण सहअस्तित्व। 

साहित्यकार मनु ब्राजाकी रहेनन्

विधिको शासन

अमेरिकामा विधिको शासन छ भन्ने यहाँको दैनन्दिन जीवनका क्रियाकलापमा पालन गरिने नियमहरूबाट प्रस्ट देखा पर्छ। यातायात नियमकै कुरा गरौं, यहाँ कसैले ट्राफिक नियम उल्लंघन गर्दै मोटर हाँकेको देखिएन, न त उछिनपाछिन गर्दै गाडी हुइँक्याएको देखियो। किनभने जसले यातायात नियम उल्लंघन गरेर गाडी हाँक्छ ऊ आफू त दुर्घटनामा पर्छ पर्छ, अरूलाई समेत दुर्घटनाग्रस्त पार्छ। यहाँ सडकको व्यवस्थित सञ्चालन छ। सडकहरू प्रतिवर्ष गर्मी मौसममा मर्मतसम्भार गरिँदो रहेछ। यसले गर्दा सडकहरू समथर, चिल्ला र अवरोधरहीन मात्र होइन, दैनिक सफाइ र हेरचाहले गर्दा सफासुग्घर पनि छन्। प्रत्येक कार र ट्रक/बसजस्ता ठूला वाहनहरू सडकमा आआफ्नो साइडमा र आआफ्नो लेनमा मात्र हिँड्छन्। ठाउँअनुसार गतिको मात्रा तोकिएका संकेत चिह्नहरू राखिएका छन् र तदनुरूप वाहनहरू कुद्छन्।

यहाँ जस्तोसुकै सानो काम गर्ने सामान्य मजदुरसित पनि आफ्नो गाडी हुनाले सडकमा असंख्य वाहनहरू ताँती लागेर हर्न नबजाईकन कुदिरहेका हुन्छन्। यस्तो बेला कसैले यातायात नियमको अलिकति पनि उल्लंघन ग¥यो भने ठाडै गएर अर्को मोटरसित ठोक्किन पुग्छ। अन्य वाहनसित नठोकिए पनि चौबाटोहरूमा जडान गरिएका क्लोज सर्किट क्यामराले के कस्तो नियम उल्लंघन गरेको हो सोको फोटो खिचेर सडकहरूमा पेट्रोलिङ गरिरहेका यातायात प्रहरी वाहनलाई सूचित गर्छ। तत्काल प्रहरीले त्यस्तो वाहनलाई लखेट्छ र रोक्ने संकेत गर्छ। अनि गाडी रोक्न करै लाग्छ, तर गाडी रोकेर गाडीबाट बाहिर निस्किनु त के आफूले बाँधेको सिट बेल्टसम्म खोल्न पाइँदैन। त्यसो गरेर गाडीबाहिर निस्कियो भने भाग्न आँटेको आशंकामा प्रहरीले गोली हान्नसमेत सक्छ।

एकपटक छोरी अर्पणले कार चलाइरहेकी थिई र म अघिल्लो सिटमा छोरीनेर बसेको थिएँ। नेपालमा सिटबेल्ट लगाउने बानी नहुनाले सिटबेल्ट बाँध्न बिर्सिएछु। छोरीले थाहा पाएर हतारिँदै सिटबेल्ट बाँध्ने संकेत गरी र भनी, ‘अहिल्यै पुलिसले गाडी रोक्न लगाएर टिकट दिन्छ।’

‘कस्तो टिकट ? ’ मैले अचम्म मान्दै सोधेँ। ‘सिटबेल्ट बाँध्नुपर्ने अनिवार्य नियम पालन नगरेबापत फाइन तिर्नुपर्ने टिकट।’

जस्तोसुकै काम गर्ने जोसुकैलाई पनि अमेरिकी समाजले हेपेको, खिसी गरेको र होच्याएको छैन जसरी नेपालीले छिमेकको महान् लोकतान्त्रिक देश भारतमा ‘बहादुर’, ‘दरबान’, ‘कुल्ली’ भनेर हेपिनु परेको छ।

यहाँ यातायात नियम पालन गरे/नगरेको जाँच्न चौबाटोहरूमा क्लोज सर्किट क्यामरा त छँदैछन् साथै प्रहरीहरू ‘पुलिस’ लेखिएको कारमा आआफ्नो क्षेत्रभरि निरन्तर निगरानी भ्रमण गरिरहन्छन्। नेपाल र भारतमा (आफूले देखाएको बुझेको देश) जस्तो प्रत्येक चौबाटोमा डन्डा हल्लाएर बसेका प्रहरी यहाँ कतै देखिएन। साँच्चि भनूँ भने मैले यहाँ प्रहरी देख्दै देखिनँ। तर, एकपटक राम्रैसित देखेँ आफ्नै गल्तीले गर्दा त्यसको चर्चा पछि गरूँला।

यहाँका सडकमा साइकल चलाउने लेनमा मोटर कुदाएको देखिएन, न त फुटपाथमा मोटरसाइकल हुइँक्याएको देखियो। क्लोज सर्किट क्यामरा जडान गरिएका मूल सडकमा त के आवास क्षेत्रमा गल्ली भनिने भित्री सडकमा पनि कुनै मान्छेले सडक नाघ्न आँटेका देखियो भने उसले सडक नाघेर अर्कापट्टि नपुगुन्जेलसम्म दुवैतिरका मोटरहरू रोकिन्छन्।

भ्रष्ट भगवान

यति बाक्लो सडकको सञ्जाल र यति धेरै मोटरको घुइँचो हुँदा पनि सडक दुर्घटनाको समाचार यदाकदा मात्रै पढ्न पाइनु यातायात व्यवस्थापनको कुशलता मात्र नभएर यहाँका मानिसमा नियम पालन गर्ने संस्कारको उदाहरण पनि हो। ट्राफिक नियमहरूको पालन गर्ने यस्तो सहज अभ्यास यहाँका मानिसमा देख्दा अमेरिकामा विधिको शासन रहेछ भन्ने उदाहरण यतिले नै प्रस्ट हुन्थ्यो। यसका लागि अन्य ठूला उदाहरणहरू खोज्नुपर्ने अथवा अमेरिकी संविधान नै पढ्नुपर्ने आवश्यकता थिएन।

श्रमको सम्मान

मलाई तत्काल प्रभाव पारेको अर्को सुखद आश्चर्यको कुरा थियो— श्रमको सम्मान।

श्रमको सम्मान भयो भने श्रमिकको पनि सम्मान हुन्छ। असामाजिक र अवैधानिक कामबाहेक अन्य जस्तोसुकै काम गरे पनि यहाँ अपहेलित र अपमानित हुनु पर्दैन। उदाहरणार्थ, सामाजिक रूपमा फोहर संकलन गर्न आउने व्यक्तिले फोहर ट्रकमा हालेपछि तपाईंको फोहर राख्ने भाँडो सडक छेउबाट तपाईंको घरसम्म चार कदम टाढा ल्याइदिन्छ भने तपार्इंले त्यसलाई अनिवार्य रूपले धन्यवाद दिनैपर्छ। यो यहाँको सामान्य शिष्टाचार हो र श्रम तथा श्रमिकको सम्मान पनि हो। तपाईंले उसले गरेको सानो परि श्रमप्रति सम्मान देखाएर ‘धन्यवाद’ दिनुभएन भने उसले तपाईंलाई ‘पाखे’ र ‘असभ्य’ ठान्नेछ। सम्भवतः अर्कोपटक उसले आफूले गर्नुपर्ने कर्तव्यबाहेक अतिरिक्त श्रम तपाईंका लागि गर्नेछैन।

यतिमात्र कहाँ हो र ? आइतबारका दिन उही फोहर फ्याँक्ने व्यक्ति सुवेशधारी भएर चर्चमा समाजका सबै स्तरका व्यक्तिहरू (डाक्टर, उद्योगपति, प्राध्यापक, नेता, सचिव, मन्त्री इत्यादि)का साथ प्रार्थना गरिरहेको पाउनुहुनेछ। त्यहाँ उसलाई कसैले छिःछिः दुर्–दुर् गर्दैन। उसै पनि यहाँ कुनै काम कुनै व्यक्ति विशेषका लागि बाध्यकारी छैन। जसले पनि आफ्नो योग्यता र क्षमतानुसार जुनसुकै काम गर्नसक्छ।

हामीकहाँ जस्तो बाहुन ‘गुरु’ ठहरिनैपर्ने ‘गुरु’ ठहरिनैपर्ने गोरु चराउनुबाहेक अरू केही काम नआए पनि, क्षेत्री वीर ठहरिनैपर्ने बिरालोले म्याउँ गर्दा सातो गए पनि, वैश्यले ‘ श्रेष्ठ’जी, साहुजी र सेठजी हुनैपर्ने हजारको नोटको दर्शन कहिल्यै नपाएको भए पनि शुद्रले घन ठटाउनैपर्ने, सनाई बजाउनैपर्ने, फोहर बढार्नैपर्ने जस्तो हास्यास्पद सामाजिक बाध्यता यहाँ छैन। शुद्रले समाजलाई नभई नहुने अत्यन्त अवश्यकीय कार्य गरे तापनि हाम्रा गुरुजी, वीरबहादुरजी र श्रेष्ठजीहरूले आफ्नो चर्चरूपी मन्दिरमा पाइलोसम्म टेक्न दिँदैनन्। शुद्रहरूले यस्तो जमर्को गरिहालेछन् भने धर्मयुद्ध गर्न अचेलधरि गुरु, वीर र साहूहरू कटिबद्ध हुन्छन्।

श्रमको सम्मान गर्न नजान्ने र नचाहने समाज व्यवस्था कि त नष्ट हुन्छ कि त अविकसित भएर दासत्व र परतन्त्र बेहोर्न बाध्य हुन्छ। स्वाधीन हुनका लागि आत्मनिर्भर हुनु अनिवार्य छ। त्यस्तै स्वाधीन राज्य व्यवस्थामा आत्मनिर्भर हुनका लागि श्रमको सम्मान हुनु पनि अनिवार्य छ।

अहिलेसम्म मैले नेपाल र भारतबाहेक अन्य देश देखेको थिइनँ। यसपटक अमेरिका आएर यहाँको समाज व्यवस्थालाई देख्न पाएँ। सामन्तवादी सांस्कृतिक र धार्मिक कर्मकाण्डीय संस्कारले ग्रस्त भारतीय समाज व्यवस्थामा समेत श्रम र श्रमिकको समुचित सम्मान भएको मैले देखेको छैन। विश्वकै ठूलो जनसंख्या भएको विशाल लोकतन्त्र भए तापनि। नेपालको यस सन्दर्भमा के चर्चा गर्नु, ऊ त अहिले ‘शिशु प्रजातन्त्र’कै रूपमा नवजान छ। पालित/पोषित भएर बाँच्ने/हुर्किने हो कि नेपाल आमालाई रुवाउँदै अकालकलवित हुने हो थाहा छैन।

अँ, मैले श्रमिकहरूको देश भनिने कुनै साम्यवादी देश देख्न पाएको छैन। अतः त्यसबाट केही आधिकारिक रूपले भन्नु अनधिकार चेष्टा हुनेछ। तर, एउटा अचम्मको कुरा भने उल्लेखनीय छ। सर्वहाराको अधिनाकत्व भएको श्रमिकहरूको त्यत्रो विशाल देश समयको साथ चल्न नसकेर एक्कासि कसरी भताभुंग भयो ? यस दुर्घटनामा लेनिनको ‘जनवादी केन्द्रीयता’को सिद्धान्त सूत्र लुकेको त छैन ? अथवा श्रमिक वर्गबाटै आएका स्टालिनले लेनिनको यसै विरोधाभाषी सूत्रलाई अझ बढी परिस्कृत र व्यावहारिक बनाउन खोज्दाको परिणाम त होइन।

लेनिनको राज्य सम्बन्धित अवधारणा अध्ययन गर्दाखेरि नै उनको यो ‘जनवादी केन्द्रीयता’ले मलाई गहिरिएर सोच्न बाध्य पारेको थियो। अन्ततः म के निष्कर्षमा पुगेको थिएँ भने जहाँ डेमोक्रेसी (लोकतन्त्र, प्रजान्त्र अथवा जनतन्त्र) हुन्छ, त्यहाँ राज्यव्यवस्थामा सेन्ट्रालिज्म (केन्द्रीयता) हुन सक्दैन। राज्य सञ्चालनमा केन्द्रीयताको अवधारणा सामन्तवादी कार्यसूत्र हो। राज्यव्यवस्थामा केन्द्रीयताको कार्यसूत्रले अधिनायक उत्पन्न गर्छ, त्यो अधिनायक राजा भए पनि अथवा कुनै श्रमिक वर्गको व्यक्ति भए पनि।

जहाँ श्रम महत्वपूर्ण र उपलब्धिकारक हुन्छ त्यहाँ श्रमिक ‘जीउ–धन सबै सरकारी’ भनेझैं सर्वहारा हुँदैन। उसको आफ्नो निजत्व हुन्छ र उसका आफ्ना उपलब्धिहरू हुन्छन्। उसको निजत्व र उपलब्धि समाजसापेक्ष हुन्छ, त्यस सापेक्षतामा श्रमिकको अस्तित्वहीनता हुँदैन।

मानव जातिको कल्याणका लागि मानिसहरूबाटै उत्पन्न भएको बौद्धिक भनिने वर्गले अहिलेसम्म हजारौं थरीका सिद्धान्त, व्यवस्था, नीतिनियम र भौतिक/अधिभौतिक अवधारणाहरू बनायो। यी कल्याणकारी भनिने विचारहरूको प्रयोग पनि बडो उदारता र क्रूरतापूर्वक विश्व मानव समुदायमाथि नै गरियो। प्रत्येक युगमा, प्रत्येक युगको प्रत्येक कालखण्डमा, अझ दैनन्दिन जीवनमा समेत गरिएका बौद्धिक वर्गका यस्ता प्रयोगले मानव जातिको कति कल्याण गर्‍यो यसको मानवीय ढंगले लेखाजोखा कसले गर्ने ? ‘गिनिपिग’ बन्ने नियति बोकेको मानवजातिको कल्याण ‘गिनिपिग’ नै बन्नु हो त ? इतिहासमा कति हजार, लाख, करोड मानिसहरू बौद्धिक वर्गको कल्याणकारी स्वर्गमा पुगे होलान्, कसले भन्ने ?

श्रमिक वर्गको सम्मानजनक अस्तित्वका लागि रोबर्ट ओवेनदेखि लेनिनसम्म र लेनिनदेखि आजसम्म पनि अनेकौं थरीका प्रयोग भइरहेका छन्। यिनका सकारात्मक र नकारात्मक परिणाम भोग्न ‘गिनिपिग’हरू अभिशप्त छन्। धेरैको कल्याणका लागि थोरैको बलिदान भन्ने तर्कले धेरै भनेको के हो र थोरै भनेको के हो भन्ने सिद्ध गर्दैन। मानव समुदायअन्तर्गत पर्ने बौद्धिक वर्ग पनि ‘थोरै’ हो।

मानव कल्याणका लागि मानव जातिमाथि प्रयोग हुँदै गरेका थिए, हुँदैछन् र हुँदै रहनेछन्। किनभने अल्पसंख्यक बौद्धिक वर्गको प्रयोगप्रेम सदैव उसको चेतनशीलतासित सम्बन्धित रहिरहनेछ। त्यसै हुनाले भारतीय दार्शनिक यूजी कृष्णमूर्तिलाई यसो भन्न करै लाग्यो, ‘विचार नै तिम्रो शत्रु हो।’

अमेरिकालाई पुँजीवादी देश भनेर प्रचार गरिएको हुँदा मलाई लाग्या थियो यहाँ श्रमिकको भौतिक, सामाजिक र सांस्कृतिक अवस्था सन्तोषजनक छैन होला। तर, नेपाल र भारतमात्र देखेको मजस्तो बबुरो सुखद आश्चर्यमा पर्‍यो यहाँ श्रमको महत्वपूर्ण उपलब्धि र सम्मान देखेर।

अमेरिकामा बसोबास गर्ने साह्रै थोरै नेपाली मात्र उच्च ओहदामा कार्यरत छन् अथवा ‘क्वालिफाइड’ र ‘स्किल्ड’हरूले मात्र योग्यताअनुसारको काम पाएका छन्। अन्य सामान्य शिक्षित, अर्थात् बीए/एमए पास गरेका अथवा त्योभन्दा पनि थोरै पढेका, कुनै प्राविधिक काममा दक्ष नभएकाहरूले जेजस्तो काम पायो सोही गरेर बसेका छन्। तर, जस्तोसुकै काम गरे पनि लगाउन, खान र बस्नका लागि कुनै समस्या छैन (नेपालमा यस्ताले ‘महल’ ठड्याइहाल्न नसक्लान्)। अर्को महत्वपूर्ण कुरा, जस्तोसुकै काम गर्ने जोसुकैलाई पनि अमेरिकी समाजले हेपेको, खिसी गरेको र होच्याएको छैन जसरी नेपालीहरूले छिमेकको महान् लोकतान्त्रिक देश भारतमा ‘बहादुर’, ‘दरबान’ ‘कुल्ली’ भनेर हेपिनु परेको छ। तापनि यहाँ आउनासाथ मलाई एउटा कुरा पूर्वसूचित गरियो, ‘यहाँ कसैसित पनि उसले के काम गर्छ भनेर नसोध्नू।’

अमेरिकामा संयुक्त राष्ट्रसंघजस्तो संस्थामा उच्च पदमा कार्यरत नेपाली पनि छन्। तर यी र यस्ता व्यक्तिको संख्या औंलामा गन्न सकिनेमात्र छ। अधिकांशले नेपालमा छँदा ठूलो पदमा काम गरेको भए पनि यहाँ सामान्य काम गरेर बस्नु परेको छ। यसै हुनाले अमेरिकामा कार्यरत नेपालीहरू आफूले गरेको कामबारे चर्चा गर्न चाहँदैनन्। कामलाई भन्दा पदलाई महत्व दिने सामन्ती संस्कार बोकेका हामी नेपालीलाई यस कुराले नेपालीहरूबीच नै अप्ठ्यारो पारेको छ। अन्यथा अमेरिकी समाजमा ठूला पदकाले धाक/रवाफ देखाउने र साना पदकाले होच्चिनु र हेपिनुपर्ने अवस्था छैन। यो हाम्रो सामन्ती संस्कारले गर्दा आफ्नै समुदायमा हामी संकोचग्रस्त र हीन भावनाले त्रस्त भएका हौं।

विधिको शासनअन्तर्गत श्रम गरेर सम्मानपूर्वक जीवनयापन गर्न पाउनु अमेरिकी राज्यव्यवस्था र समाज व्यवस्थाको महत्वपूर्ण उपलब्धि रहेछ।

सद्भावपूर्ण सहअस्तित्व

मलाई लागेको तेस्रो सुखद आश्चर्यकारी कुरा थियो, विश्वका विभिन्न ठाउँबाट आएका विविध जाति प्रजातिहरूको सद्भावपूर्ण सहअस्तित्व।

यहाँ संसारभरिबाट आएका मानिसहरूको बसोबास छ। ती मानिसहरू थरीथरीका देशहरूबाट आआफ्नो संस्कृति, धर्म र आचारविचार बोकेर आएका हुन्। सबैको यहाँ आउने उद्देश्य झन्डै एउटैजस्तो छ। त्यो हो, नयाँ ठाउँमा नयाँ जीवनको प्रारम्भ गर्नु। त्यसै हुनाले यस नयाँ ठाउँलाई ‘नयाँ संसार’ भनियो। बाँकी विश्वका लागि उत्तर अमेरिका र दक्षिण अमेरिका ‘नयाँ संसार’ नै थियो। उनीहरूका लागि यहाँका मानिस, पशुपक्षी, बोट÷वनस्पतिहरू नयाँ र नौला थिए भने नयाँ जीवन प्रारम्भ गर्ने नयाँ र सुनौला अवसरहरू पनि मनग्गे थिए। तर, ती नयाँ र सुनौला अवसरहरूको उपयोग र उपभोग गर्न पर्याप्त परि श्रम, कौशल, लगन र प्रतिउत्पन्नमति पनि चाहिन्थ्यो। जोसित यी गुणहरू थिए ती यहाँ स्थापित हुनसके, जो पुरानो संसारको सामन्तवादी कार्यशैलीअनुसार झारा टार्न आए ती झारा टारेर कालको प्रवाहमा विलीन भए। कोलाम्बस र अमेरिगो वेस्पुसीलगायत अहिलेसम्म जो पनि यहाँ आए सबैले यसलाई ‘नयाँ संसार’जस्तै पाए। विकासमा पछि परेका देशहरूबाट आएकाहरूका लागि त विशेष गरी संयुक्त राज्य अमेरिका आफ्नो उन्नति, प्रगति र विकासले गर्दा, ‘नयाँ संसार’ होइन कि ‘नयाँ स्वर्ग’ नै भएको छ। तर, यो ‘नयाँ स्वर्ग’मा उपरखुट्टी लगाएर तथाकथित ठूलो मान्छे बनेर बस्न पाइँदैन, स्वर्गमा स्वर्गकै विधि विधानअनुसार कर्तव्यनिष्ठ, इमानदार र लगनशील भएर ‘सानो’ कामलाई पनि ‘ठूलो’ र महŒवपूर्ण ठानेर खटिनैपर्छ। अन्यथा स्वर्ग नर्कमा परिणत हुन बेर लाग्दैन। नोकरचाकर, चल्ला कर्मचारी, कार्यकर्ता र सोझासाझा जनसामान्यमाथि रजाइँ गर्नेका लागि यहाँ न जिम्दारी र बिर्ता छ, न कर्मचारीतन्त्रको नोकरशाही छ, न आफ्ना कार्यकर्ताको मात्र भरणपोषण गर्ने पार्टीहरू छन्, न यहाँको जनसामान्य लाटोसुधो छ।

विश्वका लागि र यहाँ पहिलोपटक आउने युरोपेलीका लागि यो ठाउँ ‘नयाँ दुनियाँ’ अथवा न्यु वल्र्ड भए पनि पहिलेदेखि यहाँ बसोबास गर्नेका लागि यो ठाउँ (उत्तर र दक्षिण अमेरिकी महादेश) पुरानै थियो। बरु नवागन्तुक युरोपेली उनीहरूका लागि ‘नयाँ’ थिए र युरोप भन्ने महादेश र ‘नयाँ संसार’ थियो जसलाई उनीहरूले कहिल्यै देखेका थिएनन्। युरोपेलीहरू यहाँ आउनुभन्दा पहिले उत्तर अमेरिका र दक्षिण अमेरिकामा बसोबास गर्ने मानिसहरू, जसलाई अचेल यहाँ नेटिभ अमेरिकन भन्छन्, यिनीहरू पनि इसापूर्व नै एसिया महादेशबाट आएका आगन्तुकहरू हुन्। इतिहासवेत्ता र नृवंशशास्त्रीहरूको भनाइअनुसार यी मंगोलाकृति अर्थात् कालो र सोझो कपाल, उठेका गालाका हाड र टोप्रा परेका आँखा भएका मानिसहरू चीनको उत्तरी क्षेत्र मंगोलियाबाट अझै उत्तरतर्फ लाग्दै एसिया र उत्तरी अमेरिकालाई छुट्याउने निकटतम क्षेत्र बेयरिङ जलडमरुमध्य पार गरेर अलास्कामा आएका थिए। यो बेयरिङ जलडमरुमध्य उत्तरी ध्रुवको निकट पर्ने हुँदा समुद्र जमेर कठोर भएको बेला एसियाबाट अमेरिका आउन सम्भव भएको हो। अलास्का (रुससित किनेको संयुक्त राज्य अमेरिकाको उत्तरी राज्य) आएपछि यी मंगोल मूलका मानव प्रजाति वर्तमान क्यानडा, संयुक्त राज्य अमेरिका, मेक्सिको हुँदै अझै दक्षिण हानिएर सम्पूर्ण दक्षिण अमेरिकासम्म फिँजिएका थिए।

उत्तरी एसियाको मंगोलिया वरपरका क्षेत्रबाट अमेरिका आइपुगेका यिनै मानव प्रजातिका वंशजहरूले मध्य अमेरिकाको मेक्सिकोको चिआपास, ग्वाटेमाला, होन्डुरस, बेलिजभन्दा पनि परपरसम्म फिँजिएको मध्य अमेरिकी माया सभ्यताको विकास इसापूर्व ४०० देखि ९०० सम्म गरेका थिए। फेरि यिनै प्रजातिका वंशजहरूको अर्को समूहको दक्षिण अमेरिका पुगेर विश्वको विशालतम् साम्राज्य चीनको मिङ र अट्टोमन साम्राज्यभन्दा पनि विशाल साम्राज्यको स्थापना गरेका थिए। त्यस इन्का साम्राज्यलाई उनीहरू आफ्नो भाषामा ताहुअनतिनसुयु अर्थात् चार चौथाइ भूभाग भन्थे। चार चौथाइ भूभाग भन्नुको अर्थ हो— पृथ्वीको चार चौथाइ अर्थात् सम्पूर्ण विश्व। यस साम्राज्यले दक्षिण अमेरिकाको एन्डियन पर्वतमालाको झन्डै सम्पूर्ण क्षेत्रफल ओगटेको थियो। साम्राज्यको उत्तरदेखि दक्षिणसम्मको लम्बाइ पाँच हजार पाँच सय किलोमिटर भग्नावशेषका आधारमा नापिएको छ। जसअन्तर्गत वर्तमानका इक्वेडर, पेरु, चिली, अर्जेन्टिना, बोलिभिया र कोलम्बियाका केही भूभागसमेत पर्छन्। दक्षिण अमेरिकी महादेशमा यत्रो ठूलो भूभाग ओगटेको विश्वकै सबैभन्दा विशाल इन्का साम्राज्य अर्थात् ताहुअनतिनसुयु अर्थात् सम्पूर्ण विश्व नै मानिने र इसाको पन्ध्रौं शताब्दीताका नै एक करोडभन्दा बढी जनसंख्या ओगटेको यस साम्राज्यलाई युरोप महादेशको स्पेनबाट आएको फ्रान्सिसको पिजारोले आफ्ना ६२ घोडचढी सैनिक, एक सय ९८ पैदल सैनिक र दुई सय ६० जना भाडाका सैनिकको सहायताले कसरी जित्यो र नष्टभ्रष्ट पार्‍यो ? यो अचम्मको ऐतिहासिक दुर्घटना ठहरिएको छ।

विश्व इतिहासमा भएको यो अभूतपूर्व दुर्घटनाका कारणहरू पुरातत्ववेत्ता र इतिहासकारहरूले यसरी व्याख्या गरेका छन्— फ्रान्सिसको पिजारोसँग सैन्य संख्या थोरै भए पनि घोडाहरू हुनु, त्यस बेलाका लागि आधुनिक ठहरिएका अग्नेयास्त्र हुनु, नयाँ शैलीको युद्धकौशल प्रयोग गरिएको हुनु र सहयोगी कारणका रूपमा स्पेनी सैनिकहरूद्वारा ल्याइएको विफरजस्तो सरुवा रोग फैलिनु। विशाल र शक्तिशाली इन्का साम्राज्यका सैनिकहरूका लागि द्रुत गतिमा दगुर्ने अचम्मको जनावर घोडा र त्यसमाथि चढेर अग्नेयास्त्र पड्काउने सेता वर्ण र अनौठो वस्त्र धारणा गरेका स्पेनी सैनिकहरू आश्चर्यजनक, आतंककारी र भयावह थिए।

सन् १५३२ मा दक्षिण अमेरिकाको विशालतम् इन्का साम्राज्यलाई नष्टभ्रष्ट पार्ने फ्रान्सिसको पिजारोको आगमन त्यस बेला युरोपमा सामन्तवादको जगजगी भएको समय थियो। अतः उसबाट लोकतान्त्रिक मूल्यमान्यताको अपेक्षा गर्नु उचित होइन। तसर्थ इन्का साम्राज्य नष्ट भएपछि सामन्तवादी कालभरि औपनिवेशिक तन्त्रका अनेकौं घाउ/पीडा सहँदै आजका दक्षिण अमेरिकी देशहरू स्पेनी र तिनीहरूद्वारा अफ्रिका महादेशबाट ल्याइएका काला निग्रो दासहरू तथा इन्का साम्राज्यका स्थानीय निवासीहरूको जातीय, धार्मिक र सांस्कृतिक सम्मि श्रणबाट विकसित, निर्मित भएका हुन्। यस सम्मि श्रणमा स्पेनीबाहेक युरोपका अन्य देशका मानिसहरू र एसिया महादेशबाट आएका मानिसहरूको पनि योगदान छ। विश्वका विभिन्न ठाउँबाट आएका मानिसहरूको सम्मि श्रण मात्र होइन, तिनीहरूले ल्याएका ज्ञान÷विज्ञान, कला÷कौशल, सामाजिक आचार/व्यवहार र आस्थाको समेत सम्मि श्रण अर्थात् सांस्कृतिक अन्तरावलम्बनको अनुपम उदाहरण भएका छन् यी दक्षिण अमेरिकी देशहरू। यस सम्मि श्रणको नकारात्मक पक्ष भनेको स्पेनी सामन्तवादी र उपनिवेशवादी सोच र संस्कारले गर्दा उत्पन्न सामाजिक तथा राजनीतिक विभेदको आर्थिक तुस हो, जसले गर्दा अझै यी देशहरूमा विद्रोहका झिल्का देखा परिरहन्छन्। आर्थिक रूपले सामन्तवादकै एउटा रूप थियो। युरोपीय सामन्तवाद जत्तिकै विभेदकारी, दमनकारी र शोषणमूलक थियो। फरक आफ्नो सामन्ती र विदेशी सामन्तीको, आफ्नो शोषण र विदेशी शोषकको हो। यो फरक नै विदेभकारी फरक र समानता हो।

यसैगरी इसापूर्व ४०० देखि ९०० सम्म मध्य अमेरिकामा विकसित माया सभ्यता र साम्राज्य पनि स्पेनी आक्रमणकारी र विजेताहरूद्वारा विनष्ट भयो। माया संस्कृति र सभ्यताको धार्मिक विश्वास थियो, ‘जीवन मृत्युबाटै प्राप्त हुन्छ। जीवनको मूल मृत्यु हो।’ अतः उनीहरू आफ्ना मन्दिरमा अनुष्ठानपूर्वक नरबलि दिन्थे। तर, उनीहरूको यस्तो आनुष्ठानिक धार्मिक कृत्यले माया राज्यव्यवस्थाको सामन्तवादी स्वरूपलाई जोगाउन सकेन र युरोपबाट आएको अर्को सामन्तवादी राज्य स्पेनका आक्रमणकारीद्वारा नष्ट भयो। उत्तर र दक्षिण अमेरिका मध्ययुगीन सामान्तवादी साम्राज्यहरू इन्का र मायालगायत उत्तर अमेरिकाभरि फिँजिएका रेडइन्डियन अरूका थुप्रा ससाना कविला राज्यहरू (झन्डै सयभन्दा बढी)ले पनि स्पेनी र त्यसपछि यहाँ आउने ब्रिटिस, फ्रेन्च, पुर्चुगिजजस्ता अन्य युरोपेली आक्रमणकारी विजेताहरूद्वारा पराजित भएर बस्नु पर्‍यो।

यसप्रकार उत्तर अमेरिकामा ब्रिटिस, फ्रेन्च र स्पेनीहरूको उपनिवेश सामन्तवादी राज्य व्यवस्थाअन्तर्गत स्थापित भयो। पछि यिनै उपनिवेशहरूमा गृहयुद्ध मच्चियो जुन अन्ततोगत्वा स्वतन्त्रता संग्राममा परिणत भयो र ब्रिटिस, फ्रेन्च र स्पेनीहरूको युरोपेली सामन्तवादी राज्यव्यवस्था अन्त्य भएर क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिको जस्ता लोकतान्त्रिक देशहरूको उदय भयो। यसो हुनुको प्रमुख कारण के थियो भने युरोपभरिका देशबाट आएका, अफ्रिकी महादेशबाट दासका रूपमा ल्याइएका र स्थानीय रेडइन्डियनका समूहहरू युरोपको कुनै एउटा देशको सामन्तवादी शासनअन्तर्गत एउटै धर्म, संस्कृति र सामाजिक व्यवस्थाभित्र अटाउनु, बस्न बाध्य बनाउनु सम्भव थिएन। यसको विकल्प एउटै थियो— लोकतन्त्र ! यसै लोकतान्त्रिक राजनीतिक र सामाजिक व्यवस्थाअन्तर्गत सबै जाति, धर्म, संस्कृतिहरू अटाउन र फस्टाउन पाउँथे। यसो हुनु ब्रिटेनको सामन्तवादी संस्कार बोकेको उपनिवेशवादी राज्य व्यवस्थाअन्तर्गत सम्भव छँदै थिएन।

अतः युरोपका विभिन्न देशबाट आएका, अफ्रिकबाट दास बनाएर ल्याइएका र यहीँका पूर्ववासी, सयभन्दा बढी कविलामा विभक्त, रेड इन्डियनहरू तथा सानो संख्यामा कामको खोजीमा आएका अथवा ल्याइएका एसियालीहरूको यस्तो अगणित विविधतालाई एकतामा परिणत गराउनसक्ने एकमेव राज्य व्यवस्था एकमेव समाजव्यवस्था र एकमेव जीवनशैली प्रदान गर्नसक्ने दर्शन र संरचना भनेको लोकतन्त्र नै थियो। यसै अमेरिकी गणराज्यहरूमा फस्टाएको लोकतन्त्रले अफ्रिकाबाट दासका रूपमा ल्याइएका काला वर्णकाहरूलाई, मुक्ति प्रदान गरेर समान नागरिक अधिकारसमेत दियो, रैथाने रेड इन्डियनहरूलाई संरक्षित क्षेत्रसहित समस्त नगारिक अधिकार पनि दियो, यीबाहेक संसारभरिबाट आएका विविध जाति प्रजातिले समेत आआफ्नो धर्म/संस्कृतिको संरक्षणका साथै समान नागरिक हक/अधिकार पनि पाए, पाउँदैछन् र पाउँदै रहनेछन्। यी सबै थरीका प्राप्तिहरू लोकतान्त्रिक राज्य व्यवस्थाअन्तर्गत विधिको शासनद्वारा नै सम्भव हुन सक्यो।

हुन त विश्वभरिका अगणित जाति/प्रजातिहरूले बोकेर आएका नानाप्रकारका धर्म, संस्कृतिलाई यहाँ कल्चरल मोजाइक भनेर अमेरिकी समाजवेत्ता र राजनीतिज्ञहरूले गर्व गर्छन् तर यसका नकारात्मक पक्ष र प्रभावहरू यथेष्ट छन्, जसबारे पछि चर्चा गरौंला।

यसप्रकार अमेरिका आएर, अमेरिकी छिमेकीहरूमध्ये बसेर, अमेरिकाको स्वतन्त्रता (छाडा) दिवस होइन बरु आत्मनिर्भरता दिवसजस्तो गौरवशाली पर्वमा सामेल हुनु सौभाग्य प्राप्त भयो।

तर, म अमेरिका कसरी आइपुगेँ ?

वाल्ट ह्विटम्यानको अमेरिकामा, जसलाई उनले एक सय वर्षभन्दा पनि अगाडि नै भनेका थिए, ‘अमेरिका इज मेल्टिङ पट। संसारभरिबाट आएका विभिन्न प्रकारका मानिस भन्ने यो मेल्टिङ पटमा आएर घुलमिल भएर, एकाकार भएर, हुन पुगे अमेरिकन र ठाउँ भयो विश्वकै सबैभन्दा शक्तिशाली र समृद्धिशाली देश।

यस्तो पग्लिएर घुलमिल हुने भाँडोमा म कसरी आइपुगेँ, यसरी पग्लिएर घुलमिल हुन एउटा व्यक्तिमा निकै मनोशारीरिक क्षमता चाहिन्छ। के त्यस्तो क्षमता ममा छ ?

उसै पनि म घुमन्ते स्वभावको मान्छे हुँ। यो घुमन्ते स्वभावले नै सबैसित सद्भाव राख्न सिकाएको छ तर एकै ठाउँमा घुलमिल भएर बस्न जानेको छैन।

आगे भविष्य छ। म भविष्यवक्ता फटाहा होइन।

ब्राजाकीको अन्नपूर्ण पोस्ट् दैनिकको शनिबारीय विशेष ‘फुर्सद’मा २०७४ पुस १५ गते प्रकाशित लेख । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.