माथिल्लो डोल्पामा सञ्चार विच्छेद
डोल्पा : माथिल्लो डोल्पाका तीन गाउँपालिकामा सञ्चार विच्छेद भएको छन । नेपाल टेलिकमद्वारा सञ्चालीत भि–स्याट फोन बाहेक अन्य कुनै पनि फोन सेवाले काम नगरेकाले मााथिल्लो डोल्पाका तीन गाउँपालिका सञ्चार बिहिन भएका हुन् ।
भौगोलिक रुपमा ठुलो क्षेत्रफल रहेको माथिल्लो डोल्पामा सञ्चार सेवा नहुँदा जनताले सहजै सुचना आदान प्रदान गर्न पाएका छैनन् । तीन गाउँपालिकामा जम्मा १० वटा भि–स्याट फोन सञ्चालनमा रहेको दुरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ ।
सञ्चार सेवाले दैनिक फड्को मारिरहँदा माथिल्लो डोल्पाका जनताले भने सञ्चार सेवाको अनुभव पनि गर्न पाएका छैनन् । अहिले भि–स्याट फोन बाहेक अन्य कुनै पनि सञ्चार सेवा नरहेको छार्का ताङसोङ गाउपालिकाकी छिरीङ्गपाल्मु लामाले बताइन् ।
माथिल्लो डोल्पाको डोल्पो बुद्धगाउँपालिकामा स्थानीयको सक्रियता र सहयोगमा मोबाइल टावरका सामानहरु पुगेको भएपनि हिमपात र चिसोका कारण सञ्चालनमा ल्याउन नसकिएको नेपाल टेलिकम केन्द्रीय कार्यालय काठमाण्डौं आयोजना शाखाका सिनियर इन्जिनियर शिव पोख्रेलले बताए । उनका अनुसार माथिल्लो डोल्पामा मात्रै सात ठाउँमा मोबाइल टावरको सर्वे पुरा भइ सकेको छ । भौगोलिक विकटताका कारण डोल्पामा अन्य जिल्लाको तुलनामा नमस्ते मोबाइल टावर बिस्तार गर्न नसकेको सिनियर इन्जिनियर पोख्रेलले स्वीकारे ।
माथिल्लो डोल्पामा सञ्चार सेवा नभए पछि जनताहरु छुट्टै संसारका मान्छे भएको अनुभव बताउँछन् । नेपाल टेलीकमले डोल्पा जिल्लाका आठ स्थानीय तहमा दर्जन बढी नमस्ते मोवाइल टावरको सर्वे गरेको छ भने आधा दर्जन बराबर बिटिएस सञ्चालनमा त्याएको छ ।