टक्क रोकियो भविष्य यात्रा
काठमाडौं : मनु ब्राजाकीको एउटा असरदार कथा छ, ‘अन्नपूर्णाको भोज’ । त्यस कथामा किशोर नेपाल, विमल निभा, ज्ञानुवाकर पौडेल, सन्तोष भट्टराईहरू सँगै भोज खाइरहेका छन् । भोजमा प्रजातन्त्र, माक्र्सवाद, युरो कम्युनिजम, नयाँ जनवादजस्ता ठूला विषयमा व्याख्या चल्छ । तर किशोर, विमल, ज्ञानुवाकरहरूलाई माछाको झोल खुवाउने अन्नपूर्णाचाहिँ भोकै छे । अन्नपूर्णा जुठा भाँडामध्ये पिर्कामा बसेर रिकापीबाट एक मुठी फुको चिउरा निबुवाको पुरानो अचारसँग बुक्याउँछे । ऊ मुखको स्वाद फेर्न माछा पकाएको कराहीको बिटमा जमेको फिँज चाट्छे । अन्त्यमा कथाकारको प्रश्न छ, ‘के स्वास्नीहरूको मत सुरक्षित छ ? ’
भर्खर जारी भएको नेपालको संविधानमा अन्नपूर्णाहरूको मत कति सुरक्षित भयो, त्यसको राम्ररी भेउ नपाउँदै ती मास्टर पिस आख्यानकार, क्वालिटी गजल लेख्ने मनु ब्राजाकीको कलम शुक्रबार बिहानदेखि रोकिएको छ । ७५ वर्षको उमेरमा उनले संसार त्यागे । मस्तिष्काघातका कारण केही समयदेखि उपचाररत ब्राजाकीको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।
ब्राजाकीका कथाका पात्र किशोर नेपाललाई अहिले पाइन्ट र कमिज लगाएको, झोला बोकेको मनु ब्राजाकीको सम्झना आइरहेको छ । भन्छन्, ‘मनु मेरो नजिक आएर मलाई सोधिरहेको छ- किशोर तँ के गर्दै छस् ? ’
ब्रान्डेड कथाकारको कथामा पात्र बनेको सन्दर्भलाई किशोर सम्झन्छन्, ‘मनुले भनेको थियो, ‘म कथामा तेरोबारे पनि लेख्छु ।’
किशोर भन्छन्, ‘मनु इन्टेलिजेन्ट कथाकार हुन् । सादत हसन मन्टोका कथाबाट उनी प्रभावित थिए । पीडा र वेदनालाई लेख्ने उनको आफ्नै कथा–शैली थियो । कथाको संरचनामा अराजकता पनि मिसिएको थियो । म पत्रिकाको सम्पादक भएको बेला आउँथ्यो, पैसा दिन्थेँ । ऊ मलाई भेट्न आइरहेको हुन्थ्यो ।’
दुईपटक ब्रेन स्ट्रोक हुँदा पनि उनको कलम रोकिएको थिएन । काठमाडौं सैंबुस्थित निवासमा छोरीसँगै बसेर उनी निरन्तर साहित्य साधनामा थिए । ‘तिम्री स्वास्नी र म’, ‘मार्यो च्याङ्बा मार्यो असिनामा पार्यो’, ‘अन्नपूर्णाको भोज’, ‘पारदर्शी मान्छे’लगायत कथा लेखेर आधुनिक नेपाली कथामा व्यंग्य र मनोविज्ञानको बेग्लै धरहरा खडा गरेका थिए ब्राजाकीले ।
उनका ‘अवमूल्यन’ (२०३८), ‘आकाशको फल’ (२०५२), ‘तिम्री स्वास्नी र म’ (२०४६), भविष्ययात्रा (२०५२), ‘पारदर्शी मान्छे’ (२०६०), ‘मनु ब्राजाकीका कथाहरू’ (२०७०), ‘अन्नपूर्णाको भोज’, (२०७०) कथासंग्रह प्रकाशित छन् । कथासंग्रह ‘तिम्री स्वास्नी र म’ले ०४६ को साझा पुरस्कार प्राप्त गरेको थियो । ‘काँडाका फूलहरू’ र ‘गजलगंगा’ गजलकृति लेखेका उनलाई नेपाली गजलको पुनरुत्थानमा विशेष सम्झना गरिन्छ ।
राष्ट्रकवि माधव घिमिरेको विचारमा ब्राजाकी नेपाली गजलका सबैभन्दा माथिल्ला हस्ती हुन् । घिमिरे भन्छन्, ‘मनु कथामा ठूला शिल्पी हुँदै हुन् । गजलमा अरू स्वघोषित एक नम्बरभन्दा मनु ब्राजाकी एक नम्बर हुन् ।’ युवा अवस्थामा ब्राजाकी क्रान्ति गर्न चाहन्थे । क्रान्ति गर्ने सपना लिएर उनी र जगदीश घिमिरेले केही योजना बनाएका थिए । तर, उनीहरूको योजना त्यत्तिकै खेर गयो ।
आख्यानकार खगेन्द्र संग्रौला सम्झन्छन्, ‘ब्राजाकी जब तन्नेरी थिए, उनी नौलो जनवादी थिए । जगदीश घिमिरे र उनले संयुक्त रूपमा नौलो जनवादी क्रान्ति गर्ने कार्यक्रम बनाएका थिए । हतियार उठाएर राज्य कब्जा गर्न चाहन्थे । यो रुमानी भावना धेरै समय टिकेन।’
संग्रौलाको विचारमा ब्राजाकीको समाजशास्त्रीय दृष्टिकोण अत्यन्त तीक्ष्ण थियो । भन्छन्, ‘शोधविधिमा पनि निपुण थिए । सौन्दर्यचेत अत्यन्त प्रखर थियो । नेपाली कथा विधामा उनले विशिष्ट प्रयोग गरे र विशिष्ट कथाको रचना गरे । नेपाली समकालीन कथाकारमध्ये उनी मानक कथाकार हुन् ।’
जगदीश घिमिरे र मनु दौंतरी थिए । जगदीशसँगको अन्तिम भेटबारे मनुले भनेका थिए, ‘उसलाई उपन्यास लेख्न प्रेरित गर्ने मान्छे मै हुँ । उसको ‘साबिती’ उपन्यास लेख्न रातभरि सल्लाह गरेको झलझली सम्झन्छु । त्यत्तिको उपन्यास अहिलेसम्म नेपाली साहित्यमा लेखिएको छैन । त्यो उपन्यास बुझ्ने, बुझाउने र विश्लेषण गर्ने द्रष्टा पनि मैले देखिनँ । जगदीशको ‘सकस’चाहिँ राम्रो उपन्यास होइन । ‘सकस’ मलाई मन नपरेको उपन्यास हो । ‘सकस’बारे उसले ‘लेख्देऊ’ भन्दा मनोशारीरिक अवस्था बुझेर जीवनको अन्तिम अवस्थामा किन घोचपेच गरौं भनेर मुलायम शब्दमा इशारा गरेर लेखेँ । ऊसँग मेरो अन्तिम भेट पनि त्यही भयो ।’
मनुलाई उपन्यास लेख्न जगदीश भनिरहन्थे । तर, मनुको स्वभावै त्यस्तो । मनु भन्थे, ‘व्यावहारिक कारणले नलेखेको हुँ । ११ वर्षदेखि नै भ्रमणशील भएको र स्थिर स्वभाव नभएकाले म विवाह गरेर गुवाहाटी गएँ, तीन महिनापछि घर आउँदा पत्नीले प्रश्न गरिन्, ‘मसित किन बिहे गर्या त ? ’ स्थिर भएर कतै लामो अवधि बस्नुपर्छ उपन्यास लेख्न, त्यसैले मैले सकिनँ । मलाई त्यसको मोह पनि भएन ।’
कथाबारे मनुको बुझाइ यहाँ सम्झनु सान्दर्भिक हुन्छ । उनी भन्थे, ‘उत्तरआधुनिकतावाद र दक्षिण आधुनिकतावाद आज पनि भन्छन्, उबेला पनि भन्थे । राम्रो कथा सदैव राम्रै हुन्छ नत्र वाहियात हुन्छ, त्यो न उत्तर न दक्षिण हुन्छ ।’
दुई वर्षअघि यो पंक्तिकार उनले लेखेको कथा लिन उनैको घर सैंबु पुग्यो । एक दिन अघिमात्रै लेखिसिध्याएको कथाको एउटा अनुच्छेद पढिसकेपछि ब्राजाकीले मसिनु स्वरमा भनेका थिए, ‘हिजोआज मेरो लेखन-फ्याक्ट्री बन्द थियो, तपाईंले नयाँ कथालाई कर नगर्नुभएको भए यो पनि लेख्दिनथेँ । हात राम्ररी चलेको भए कथा लामो बनाउँथेँ, छोटो भएको छ । अब यतिले काम चलाउनुस् ।’
कथाको सुरुआती वाक्य थियो, ‘म्याक्सिकन्नी धर्मपत्नी बिहान घरबाट निस्केर प्रतिदिन तीनवटा सुुहागदिन मनाएर साँझ ११:३० बजे सासू क्यानी शामासित बाझ्न र लोग्ने रोबोट शामासित सुत्न आइपुग्छे ।’ कथाको शीर्षक थियो, ‘माथि परम्पराले ढपक्क, तल आधुनिकताले ह्वांग !’ यो कथा अन्नपूर्ण पोस्ट् ‘फुर्सद’को दुई वर्ष अघिको अंकमा प्रकाशित भएको थियो ।
संयोग के भने, उनको अन्तिम रचना पनि अन्नपूर्ण पोस्ट्मै एक महिनाअघि छापिएको थियो । शीर्षक थियो, ‘अमेरिकातिर बरालिँदा।’
कालो, दुब्लो, अग्लो, नाकको मुनि कुनै घाउले टाटो बनाएको ब्राजाकीको व्यक्तित्वले खासमा कुनै प्रभाव पार्दैनथ्यो । ‘स्ट्रोक’ले उनलाई असामान्य रूपले गलाएको थियो ।
‘तिम्री स्वास्नी र म’का यी लेखक ब्राजाकीलाई जिन्दगीमा दुईपटक ‘स्ट्रोक’
(मस्तिष्काघात) भएको थियो । ६० सालमा स्ट्रोक भएपछि उनले कथा लेख्न सकेनन् । त्यसपछि ब्राजाकीको जीवनबाट तीन प्यारा कुरा छुटे— रक्सी, चुरोट र कथा । अमेरिका पुगेर हाई ब्लड प्रेसरको औषधि सेवनपछि फेरि ‘स्ट्रोक’ भयो । ‘मस्तिष्कको जुन भागमा रगत पुग्दैन, त्यसमा प्यारालाइसिस हुँदो रहेछ । अमेरिकामै एक महिना रियाज सेन्टरमा पनि बसेँ’, भन्दै थिए, ‘अमेरिका फर्केपछि डाक्टरले पुनः जाँच गर्छु भन्या छ । स्मृति राम्रो भए मात्र लेख्न सकिन्छ । विचारले तर्कवितर्क घटबढ गर्न सकिन्छ । मेरो मानसिक स्थिति सामान्य हुँदै गयो भने लेख्छु । स्मृतिमा सुधार भए म लेख्न सक्थेँ भन्ने छ । मानसिक समस्या भएयता पनि चारपाँचवटा ससाना कथा लेखिसकेँ ।’
उनी कथा, प्लट र पात्रहरू रक्सी अड्डाहरूमा फेला पार्थे ।
मद्यपान र लेखन दुवैमा उस्तै प्रख्यात छवि बनाएका लेखक ब्राजाकी (चेतमानसिंह भण्डारी)ले अन्नपूर्णसँगको अन्तर्वार्तामा भनेका थिए, ‘जीवनमा खुब रक्सी खाएँ तर कहिल्यै नोकरी गरिनँ । खेत, जमिन प्रशस्त भएको मैले खेती पनि गरिनँ । र, आखिर रक्स्याहा कथाकार भएँ । मैले रक्सी खान पोखरा हुँदी सिकेको हुँ । त्यहाँ स्कुल पढ्दा म तान्त्रिकलाई भेट्न जान्थँे । तिनले देवीको प्रसाद भनेर रक्सी दिन्थे । म तन्त्रमन्त्र सिक्न खोज्थेँ, उनीचाहिँ मलाई रक्सी खुवाएर हटाउन खोज्थे । भारतीय ती नामी तान्त्रिक बाबा त्यहाँ बस्ने थकालीहरूका गुरु थिए । मेरो एसएलसीको समय थियो । ती तान्त्रिक ‘यस्तो किताब पढ्नेले कसरी तन्त्र सिक्छस् ? ’ भन्थे । उनले दिएको रक्सी पिएपछि म हनुमानझैं उडेर घर पुग्थेँ । खाँदाखाँदै बानी लाग्यो । पछि त लेख्दा रक्सीले ‘माइन्ड कन्सन्ट्रेट’ गराउँदो रहेछ भन्ने महसुस भयो । रक्सी खाएरै कथा लेखे पनि म पात्रहरूको वार्ता छर्लंग भएर लेख्थेँ । कथा पूरा गर्न दुईतीन दिन लगातार रक्सी खाने गर्थें । फेरि १०÷१५ दिन खान्नथेँ । पहिले त लेखरचना पत्रिकामा बुझायो, त्यसबाट आउने पारि श्रमिकले रक्सी खायो । यस्तो थियो काइदा । रक्सीको एडिक्ट नै थिएँ । कथा लेख्न पनि रक्सी खान्थेँ ।’
अमेरिका पुगेपछि उनले रक्सी छुटाउने औषधि सेवन गरे । उनले रक्सी छोडेको आधा दशक भएको थियो । उनले भनेका थिए, ‘आत्मबल भएपछि छोड्न सकिँदो रहेछ । चुरोट पनि त्यस्तै । चुरोट नखाई लेख्न नसक्ने थिएँ । लेख्दा चुरोट निभ्नै हुँदैनथ्यो । डाक्टरले चुरोट नछोडे मुटुको रोग जाती हुन्न भनेपछि छोडेँ । म केटाकेटी हुँदा हजुरबुवाको हुक्का भरिदिनुपर्ने । दुईचार वर्षदेखि गरेको काम भएकाले गर्दागर्दै सिकेँ । छोड्नुअघि त दिनमै २०÷३० खिल्लीसम्म खान्थेँ ।’
विप्लव प्रतीकको मस्तिष्कमा मनु ब्राजाकी ‘सज्जन मान्छे’को रूपमा सुरक्षित छन् । विप्लव भन्छन्, ‘उनी निकै ठूला आख्यानकार हुन् । नेपाली गजलमा अभिरुचि जागोस् भनेर उनले गजल लेखेर जुन योगदान गरे, त्यो पनि निकै सम्माननीय छ ।’
ब्राजाकी नेपाली कथाका एउटा टावरिङ पर्सन बनिसकेका छन् । कथा लेखनमा मनुझैं बन्नु धेरै नयाँ कथाकारको सपना हो । नेपाली कथा-साहित्यमा उनको प्रभाव-प्रेरणा उस्तै छ । मनुलाई किन सम्झनुपर्छ ?
लेखक नारायण ढकाल ब्राजाकीलाई नेपालको असाधारण आख्यानकार मान्छन् । कथालाई अनावश्यक गनगन, चुट्किलाबाट बाहिर निकाल्न ब्राजाकीले गरेको काम सधैं नेपाली साहित्यमा सम्झिइने ढकाल बताउँछन् ।
ढकाल भन्छन्, ‘नयाँ ढंगको मौलिक र माथिल्लो व्यंग्यचेत उनमा पाइन्छ । उनको जीवनलाई हेर्ने गहिराइ पनि माथिल्लो स्तरको छ । कथालाई चुट्किलाबाट माथि उठाएर गम्भीर, दार्शनिक र वैचारिक उचाइमा पुर्याउने कथाकार हुन् उनी । नेपाली कथालाई अनुवाद गर्यौं भने उनका कथा विश्वमा गर्वसाथ पठाउन सक्छौं । उनको अराजकताको यात्री म पनि हुँ । पढ्ने र बुझ्ने क्षमता अद्भुत हो ।’
जीवन र कलालाई हेर्ने समझदारी पनि मनुसँग माथिल्लो दर्जाको भएको ढकाल बताउँछन् । नारायणको स्वीकारोक्ति छ, ‘म आफूलाई पनि मनु ब्राजाकीभन्दा कमजोर आख्यानकार मान्छु ।’ ढकाललाई ब्राजाकीको सधैं सम्झनामा आउने कथा हो— रूपरेखामा छापिएको ‘अशुद्ध भाषामा पढिएको व्याकरण ।’
आख्यानकार कुमार नगरकोटी ब्राजकियन स्टाइलका फ्यान हुन् । नगरकोटी भन्छन्, ‘ब्राजाकी मलाई मन पर्ने कथाकार हुन् । कथा साहित्यमा उनले ठूलो गुण लगाएका छन् ।’ नगरकोटी उनलाई सोसल रियालिज्ममा पनि एक्पेरिमेन्ट गर्ने प्रयोगधर्मी कथाकारका रूपमा सम्झन्छन् । ‘कुनै पनि कथामा मनु-स्टाइल देखिन्छ । कथाकारमा हुनुपर्ने ब्रोडनेस र गहनता उनमा देखिन्छ । चरित्र चित्रणमा प्रगाढ किसिमको नयाँपन आउँछ । अरू समकालीन लेखकभन्दा छुट्टै ब्राजाकीपना देखिन्छ । नयाँ जेनेरेसनलाई सम्बोधन गर्ने खुबी पनि उनमा देखिन्छ’, नगरकोटी भन्छन् ।
युवा आख्यानकार युग पाठकको विचारमा ‘ब्राजाकी नेपाली साहित्यमा आधुनिक कथा लेख्ने लेखक हुन् ।’
बुक हिल पब्लिकेसन ब्राजाकीको चर्चित कथासंग्रह ‘तिम्री स्वास्नी र म’ रिप्रिन्टको अनुमति लिएर अन्तिम चरणमा काम गरिरहेको थियो । पब्लिकेसनका भूपेन्द्र खड्का भन्छन्, ‘उहाँ नयाँ कलेवरको किताब हेर्न खोज्दै हुनुहुन्थ्यो । ले-आउट त देखाएको पनि थिएँ । उहाँको निधन नेपाली साहित्यको अपूरणीय क्षति हो ।’
मनुले तराईको कथालाई मेन स्ट्रिममा लेखे । उनी तराई (महोत्तरी) बस्थे । जनकपुर जान ६ कोस टाढा हुने भए पनि पत्रपत्रिकामा रचना पठाउनकै लागि पुग्नुपथ्र्यो । मिडियाको सञ्जाल अहिलेजस्तो थिएन । केन्द्र (राजधानी)सम्म पुग्यो भने छापियो, नत्र छापिएन । त्यस बेलाका ‘रूपरेखा’ र ‘रचना’मा उनका कथा छापिन्थे । उनको लेख्ने स्टाइल नै फरक थियो । र, उनको पहिलो कथा जनकपुरमै छापियो । जिल्ला पञ्चायतको ‘अञ्चल सन्देश’ पत्रिकामा ‘भर्याङ’ नामको त्यो कथा २०१९ सालमा छापिएको थियो । उनले त्यसलाई पहिलो कथासंग्रहमा राख्न खोजेको तर नपाएको गुनासो पोखेका थिए । भन्थे, ‘कथामा मैले आफूलाई जति कलात्मक ढंगले व्यक्त गर्न सक्छु, त्यति अरू विधाका माध्यमबाट गर्न सक्दिनँ ।’
उनका कथामा ‘यौन’को चित्रण प्रवृत्ति ‘प्रकृतवादी’ छ । आजका पाठकले त ‘यौन विषयक’ साहित्य सिरानीमुनि लुकाएर पढ्ने अवस्थामा तीन दशकअघि उनले कथामा यौन लेखे । यौनको विषयमा लेख्दा उनले कहिल्यै आक्षेप बेहोर्नु परेन । यौनलाई जीवनको एउटा मुख्य अंग मानेर मनोरञ्जनात्मक रूपले होइन कि जीवनकै पाटोका रूपमा ग्रहण गरेर लेख्दा समस्या नभएको उनको बुझाइ थियो । ‘कथालाई मनोरञ्जनात्मक रूप दिन यौनलाई प्रयुक्त गरियो भने त्यो गम्भीर साहित्य मानिँदैन । युवा पुस्ताका नाम चलेका लेखकहरूले यौनलाई भरमार लेखे भन्ने सुन्ने गरेको छु । जसरी योनीसूचिता महत्वपूर्ण होइन, जीवनमा त्यसैगरी लिंग पनि पूजनीय होइन । यी दुवैको महत्व सामाजिक औचित्यमा निर्भर हुन्छ’, उनले भनेका थिए ।
उनी ‘विचारहीन साहित्य’ र ‘विवेकहीन राजनीति’ दुवै त्याज्य हुन् भन्थे । त्यसैले उनी आफ्ना कथालाई प्लटभन्दा विचारले मण्डित गर्थे । भन्थे, ‘विचारले मण्डित गर्नु भनेकै कथानक हो, सिर्जनात्मक स्वरूप हो र अंग्रेजीमा भन्दा प्लट पनि हो ।’
‘अहिलेका गजल कस्ता लाग्छन् ? ’ भन्ने प्रश्नमा मनुको उत्तर थियो, ‘अहिले इन्टरनेटमा देखिने गजल ९९.९ प्रतिशत वाहियात छन् । ती गजल होइनन्, केवल रहर हुन् । त्यस्तैको घुइँचोमा गजलकार हराएका छन् । एक न एक दिन गजलको सही स्वरूप देखा पर्छ, राम्रा गजलकार पनि भीडमा हराएका छन् ।’
पाँच दशकभन्दा माथिको लेखन यात्राबाट मनु ब्राजाकीले सधैंका लागि वि श्राम लिएका छन् । उनलाई एउटा गुनासो छँदै थियो । त्यो के भने, नेपाल प्रज्ञाप्रतिष्ठानले उनको एउटा पाण्डुलिपि १६ वर्षसम्म राख्यो । धेरैपटक ताकेता गरेपछि प्रतिष्ठानबाट जवाफ आयो, ‘तपाईंको पाण्डुलिपि त हराएछ ।’ त्यो कथा किताबको नाम थियो, ‘आमालाई बेच्नु हुँदैन लाटा ।’
याे पनि पढ्नुहाेस्
मनु ब्राजाकीको प्रकाशित अन्तिम लेख 'अमेरिकातिर बरालिँदा'