भेटघाट सकेर फर्किइन स्वराज

भेटघाट सकेर फर्किइन स्वराज

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर दुईदिने नेपाल भ्रमणमा आएकी विदेशमन्त्री सुष्मा स्वराज राजनीतिक भेटघाट सकेर शुक्रबार अपराह्न स्वदेश फर्केकी छन् ।

काठमाडौं बसाइका क्रममा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, भावी प्रधानमन्त्रीका रूपमा हेरिएका एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्षमण्डलका नेता, संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग अलग-अलग भेटवार्ता गरिन् ।

भेटघाटमा स्वराजले नेपालको शान्ति, स्थायित्व र विकासको पक्षमा भारत सधैं रहेको धारणा राखेको खुले पनि नेताहरूसँगका वार्ताका भित्री पाटाहरू गर्भमै छन् । भ्रमणको पहिलो दिन स्वराजले एमाले अध्यक्ष ओलीसँग एक्लै तथा एमाले नेताहरूसँग रात्रिभोजसहितको भेट गरेकी थिइन् । बिहीबार साँझ नै उनले राजपाका नेतासँग भेटिन् ।

प्रधानमन्त्री देउवाले विदेशमन्त्री स्वराजको सम्मानमा बालुवाटारमा शुक्रबार दिवाभोज दिए । सुरुमा स्वराजले बालुवाटारमा केही मन्त्रीसहित परराष्ट्रका अधिकारीसँग औपचारिक भेट गरेकी थिइन् । स्वराजसँगको औपचारिक कुराकानीमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उद्योगमन्त्री सुनीलबहादुर थापा, अर्थराज्यमन्त्री उदयशमशेर राणासहित केही परराष्ट्रका अधिकारी संलग्न थिए । बालुवाटार लन्च मिटिङमा सहभागी उद्योगमन्त्री थापाले स्वराजले प्रधानमन्त्रीलाई तीनै तहको निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद दिएकी थिइन्।

स्वराजले निर्वाचन परिणाममा भइरहेको ढिलाइ एवं नयाँ सरकार गठनबारे समेत प्रधानमन्त्रीसँग जिज्ञासा राखेकी थिइन् । प्रत्युत्तरमा प्रधानमन्त्रीले संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभा चुनाव सम्पन्न भएपछि मात्रै प्रतिनिधिसभाले पूर्णता पाउने र त्यसपछि नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ हुने अवगत गराएका थिए ।

देउवाको दिवाभोजमा स्वराजसँग कांग्रेसका शीर्ष नेताको सामूहिक भेट भएको हो । भेटमा कांग्रेस नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, नारायण खड्का, डा. प्रकाशशरण महत, विनोद चौधरीलगायत सहभागी थिए । अर्थराज्यमन्त्री राणाका अनुसार भेटमा कांग्रेस र भारतको सम्बन्धबारे चर्चा भएको थियो । लन्च संवादमा स्वराजले कांग्रेससँग बीपी कोइरालाकै पालादेखि सुमधुर सम्बन्ध रहेको र त्यो आगामी दिनमा थप बलियो बनाउँदै लैजाने पक्षमा भारत रहेको बताएकी थिइन् ।

‘शान्ति, स्थायित्व र विकासको पक्षमा भारत’

माओवादी अध्यक्ष दाहालसँगको भेटमा स्वराजले वाम गठबन्धनले निर्वाचनमा पाएको जनमतप्रति खुसी बाँड्न नेपाल आएको बताउँदै भनेकी थिइन्, ‘भारत नेपालको शान्ति, स्थायित्व र विकासका पक्षमा छ ।’ भारत दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ र सुमधुर बनाउनुपर्ने पक्षमा रहेको धारणा व्यक्त गरेकी थिइन् ।

स्वराजले भावी सरकार गठनलगायत विषयमा जिज्ञासा राख्दै नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गरेर अघि बढ्ने भारतीय चाहना रहेको स्पष्ट पारेकी थिइन् । शुक्रबार बिहान ५० मिनेट भएको एक्लाएक्लै वार्तामा निर्वाचन परिणामपछिको अवस्था र सरकार गठनबारे स्वराजले जिज्ञासा राखेको दाहालले बताए । ‘चुनावपछिको परिस्थिति र नयाँ सरकार गठनका विषयमा उहाँले जिज्ञासा राख्नुभयो । मैले ती विषयमा भइरहेका कुरा स्पष्ट गरें’, दाहालले भने, ‘छिमेकीसँग सम्बन्ध सुमधुर बनाउँदै नेपालको स्थायित्व र विकासको पक्षमा भारत रहेको मैले पाएँ ।’

वाम गठबन्धनप्रति भारतको सद्भाव निरन्तरता रहने दाहालले बताए । केही महत्वपूर्ण कुरा भयो कि भन्ने जिज्ञासामा दाहालले भने, ‘अहिले त्यस्तो कुनै महत्वपूर्ण विषयमा कुरा हुने समय होइन ।’

‘फोरम-राजपा एकीकरण गर्दा राम्रो’

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार बिहान स्वराजसँग भेट गरे । निर्वाचनमा फोरम र राजपाले पाएको सफलताका लागि बधाई दिँदै स्वराजले दुई पार्टी एक हुँदा राम्रो हुने सुझाव दिएकी थिइन् । उनले राजपासँग एकता गरी मधेसको एउटै पार्टी बनाउन यादवलाई सुझाव दिएको स्रोतले बताएको छ ।

स्वराजसँगको भेटका सम्बन्धमा जिज्ञासा राख्दा फोरम अध्यक्ष यादवले शिष्टाचार भेट भन्दै विवरण खुलाउन चाहेनन् । ‘सामान्य छलफल भएको हो’, उनले भने । यादवसँग स्वराजले संविधान संशोधन, प्रदेश २ को सरकार र त्यहाँको विकास निर्माणजस्ता विषयमा जिज्ञासा राखेकी थिइन् ।

राष्ट्रपतिसँग पनि शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग स्वराजले शुक्रबार बिहान शिष्टाचार भेट गरेकी छन् । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए ।

स्वराज बाणी

- नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य

- बीपी कोइरालाकै पालादेखि कांग्रेससँग सुमधुर सम्बन्ध

- जनताबीचको सम्बन्ध प्रगाढ र सुमधुर

- वाम गठबन्धनले पाएको जनमतमा खुसी

- मधेसका दुई पार्टी एक हुँदा राम्रो

- प्रदेश २ को विकासमा निरन्तर सहयोग


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.