सन्दीप लामिछानेसँग सम्वाद : 'सपना देख्न छोड्नु हुन्न'
गत आइतबार नेपाली क्रिकेटका केही ‘क्रेजी’ समर्थक टेलिभिजन सेटअघि झुम्मिएका थिए। केही कुराको प्रतीक्षामा व्यग्र थिए। केही समर्थकको आँखा अनलाइनमै टाँस्सिइरहेको थियो। त्यस दिन इन्डियन प्रिमियर लिग (आईपीएल)को अन्तिम दिनको अक्सन हुँदै थियो र नेपाली युवा स्पिन ‘सेन्सेसन’ सन्दीप लामिछानेको पालो पनि त्यही दिन थियो।
आईपीएल विश्वकै सर्वाधिक महँगो मात्रै होइन, सबैभन्दा रोमाञ्चक लिग क्रिकेट पनि हो, जसमा खेल्न विश्वका धुरन्धर क्रिकेटरहरू मरिहत्ते गर्छन्। त्यसैले अक्सन (बोलकबोल) लिस्टमा नाम समेटिएकै दिनबाट समर्थकहरू प्रत्यक्ष रूपमा सन्दीपको अक्सन हेर्न टेलिभिजन सेटअघि व्यग्र थिए। सन्दीपलाई दिल्ली डियरडेभिल्सले आधार मूल्य २० लाख भारु (३२ लाख नेपाली रुपैयाँ)मा खरिद गर्यो। अस्ट्रेलियन पूर्वकप्तान रिकी पोन्टिङको प्रशिक्षणमा रहेको दिल्लीले सन्दीपलाई अनुबन्ध गर्यो। त्यो समाचार सायद ती क्रेजी समर्थकका लागि ठूलो खुसी दिने गरी आएको थियो। नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्काको चितवन क्रिकेट एकेडेमीबाट नेपाली क्रिकेटमा उदाएका सन्दीप झन्डै तीन वर्षको छोटो अवधिमा यू–१९, सिनियर राष्ट्रिय टोली र केही विदेशी लिग हुँदै आईपीएलसम्म पुगेका छन्।
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले सीधै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएका सन्दीपको सफलता र उपलब्धि कुनै आख्यानको कहानीभन्दा फरक छैन। सन् २०१६ मा हङकङमा भएको टीट्वेन्टी ब्लिज प्रतियोगिता खेल्ने क्रममा भेट भएपछि अस्ट्रेलियन अर्का पूर्वकप्तान माइकल क्लार्कका प्यारो खेलाडी बनेका सन्दीपको यो सफलतामा सम्पूर्ण देशले खुसी मनाइरहेको छ। उनको आईपीएल अनुबन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि विभिन्न देशका नाम चलेका क्रिकेटरले समेत बधाई दिएका छन्। आईपीएल अनुबन्धका बारेमा सन्दीप आफैंचाहिँ के भन्छन् ?
सिनियर नेपाली राष्ट्रिय टोलीसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीका लागि हाल दुबईमा रहेका सन्दीपसँग भाइबरमार्फत गरिएको वार्ता :
आईपीएल अक्सन लिस्टमा आफ्नो नाम देख्दा कस्तो महसुस भएको थियो ?
अक्सन लिस्टमा मेरो नाम देख्दा म एकदमै खुसी भएको थिएँ। प्रयास भइरहेको भए पनि अक्सन लिस्टमा नाम पर्ने नपर्नेमा शंका थियो।
दिल्ली डियरडेभिल्सले तपाईंलाई अनुबन्ध गरेको खबर कसरी थाहा पाउनुभयो ?
त्यस बेला हामी दुबई पुगिसकेका थियौं। मेरो अक्सन हुने दिन म दुबईस्थित आईसीसी एकेडेमीको ओभल वान मैदानमा अभ्यास गरिरहेको थिएँ। टेलिभिजनमा अक्सनको प्रत्यक्ष प्रसारण भइरहेको थियो। यद्यपि मैले हेर्न पाइरहेको थिइनँ। अनलाइन बस्न पनि पाएको थिइनँ। पछि हाम्रो टोलीका टेक्निकल एनालिस्ट रमण शिवाकोटीले दिल्ली डियरडेभिल्सले अक्सनमा मलाई किनेको सूचना पाउनुभएछ। त्यो खबर पहिलोपटक उहाँबाटै सुनेँ।
अनुबन्धको खबर सुन्दा पहिलोपटक कस्तो अनुभूति भएको थियो ?
निकै खुसी लागेको थियो। वास्तवमा त्यो खुसी म तपाईंसँग शब्दमा व्यक्त गर्नै सक्दिनँ।
सिनियर खेलाडीको प्रतिक्रिया कस्तो थियो ?
हामी सबै अभ्यासमै थियौं। रमण दाइले दिल्ली डियरडेभिल्सले मलाई अनुबन्ध गरेको खबर सुनाएपछि सबै खेलाडी मतर्फ आए। सबैले भनेको सम्झन्छु, ‘यो ठूलो सफलता हो।’ सबैको बधाईले मलाई अझै जिम्मेवारी थपिएको महसुस भएको छ।
एकैपटक धेरैको नजरमा पर्नुभयो। देश–विदेशकै शीर्षस्थ व्यक्ति (प्रधानमन्त्रीदेखि शीर्ष नेताहरू र विदेशी खेलाडी)ले पनि बधाई दिए। मस्तिष्कमा के खेलिरहेको छ ?
यो वास्तवमै मेरा लागि निक्कै विशेष कुरा थियो। यो मेरो जीवनकै साँच्चिकै विशेष घटना हो।
यति महत्वपूर्ण खुसी घरमा कसरी सेयर गर्नुभयो ?
घरमा सबैलाई थाहा भइहाल्यो। म अक्सन लिस्टमा परेकै दिनदेखि उहाँहरू पनि अक्सन हुने दिनको प्रतीक्षामा हुनुहुन्थ्यो। उहाँहरूको खुसीको कुनै सीमा छैन।
अबको योजना के छ ?
योजना बनाइसकेको छैन। सक्दो राम्रो गर्ने प्रयास गर्दै जाने हो। देशको गौरव बढाउने काम गर्नेछु। आत्मविश्वास बढेको छ। नेपाली क्रिकेट समर्थकलाई खुसी बनाउने काम गर्नेछु।
दिल्ली डियरडेभिल्सबाट प्लेइङ ११ मा पर्ने अवसर कत्तिको देख्नुहुन्छ ?
व्यापक मेहनत गर्नुपर्छ। सकारात्मक हुनुपर्छ। कुनै पनि कुरा असम्भव छैन।
अबको चुनौती के देख्नुभएको छ ?
चुनौती केही देखेको छैन। मेहनत गर्नु छ। हामीसँग पनि क्षमता छ, क्षमताअनुसारको प्रदर्शन गर्ने प्रयास गर्नुपर्छ।
तपाईंले कुनै अन्तर्वार्तामा आफ्नो सपनाबारे भन्नुभएको छ— बिग बास लिग खेल्ने। आईपीएल अनुबन्धपछि पनि त्यो सपना ज्यूँदै छ ?
छ। बिग बास लिगको सपना अझै छ।
अहिलेसम्मको आफ्नो क्रिकेट यात्रालाई कसरी हेर्नुहुन्छ ?
खुसी छु। अहिलेसम्म अवसर पाइरहेको छु। पाएको अवसरलाई राम्रो सदुपयोग गरेँजस्तो पनि लाग्छ। विभिन्न क्षेत्र र व्यक्तिबाट साथ र सहयोग पनि पाइरहेकै छु। नेपाली समर्थकको पनि साथ छ। खुसी छु।
क्रिकेटमा जीवन खोजिरहेका नेपाली युवालाई के भन्न चाहनुहुन्छ ?
मैले त्यस्तो केही भन्नुपर्छ जस्तो लाग्दैन। नेपालमा धेरै सक्षम र क्षमतावान् क्रिकेटर छन्। उनीहरूलाई के गर्नुपर्छ भन्ने कुराको राम्रो जानकारी छ। मेहनत गर्न छोड्नु हुन्न। सपना देख्न छोड्नु हुन्न। सफलता सम्भव छ।