जीवन बुझाउने पुस्तक

जीवन बुझाउने पुस्तक

लेखक सुवर्ण हुमागाईंले आफ्नो पहिलो पुस्तक ‘जीवन’मार्फत ऊर्जाशक्तिको सैद्धान्तिक र व्यावहारिक पक्षलाई विविध आयामबाट खोतल्ने प्रयास गरेका छन्। जीवनलाई बहुआयामिक ढंगले विवेचना गर्न खोजिएको छ। जीव, वन र जीवनका समग्र पक्षका बारेमा ऊर्जामय हिसाबले उत्खनन गरिएको छ। लेखक जीवमा पनि शक्ति खोज्छन्। वनमा पनि शक्ति देख्छन्।

पुस्तकमा मानव जीवन, पर्यावरण र आत्मिक शान्तिलाई परस्पर ढंगले व्याख्या गर्न खोजिएको छ। त्यस व्याख्यामा तीन पक्षका मिहीन तत्वहरूलाई क्रमबद्धरूपमा केलाइएको छ। जागृत मान्छेले मात्रै वास्तविक प्रेम गर्न सक्छ र, जुन करुणामय प्रेम मात्रै उपल्लो स्तरको हुन्छ। यस स्तरमा पुगेपछि मानव सम्पूर्ण ब्रह्माण्ड र प्रकृतिसँग एकाकार हुन पुग्छ।

लेखक पुस्तकमार्फत मानव जीवनका आत्मिक, दार्शनिक, राजनीतिक, मनोवैज्ञानिक र जैविक आयामहरूलाई पात्र, स्थान र कथानकमार्फत सटिक ढंगले केलाउँछन्। दुनियाँभरका सारा कुरा जाने पनि मान्छेलाई आफ्नो जीवनको बारेमा एकदम कम थाहा छ। मान्छे बाहिरको चन्द्रमा खोज्छ। तर, आफूभित्रको चन्द्रमा अर्थात् आत्मा खोज्दैन। मान्छे वैज्ञानिक बन्छ र अरूका बारेमा खुब मन्थन गर्छ। तर, स्वयंका बारेमा मान्छे आज पर्यन्त बोधहीन नै छ। यस्तो अवस्थामा जीवनको सत्य खोज्ने र जीवनलाई समाधान गर्ने प्रयासलाई धन्यवाद दिनै पर्छ।

शून्य मस्तिष्कका बारेमा एक ठाउँमा पुस्तक बोल्छ : आफूसँग जे–जे सामग्री उपलब्ध छ, त्यसलाई लिएर खुसी भई जीवन बिताएका मानवको मनमस्तिष्क शून्य हुन्छ। जब मानवको मनमस्तिष्क शून्य हुन्छ, तब उसले अन्तरात्मासँग आत्मालाप गर्न थाल्छ। त्यसो त बुद्ध दर्शनको पराकाष्ठा पनि शून्यता नै हो। जरथुस्त्र र नित्से पनि यसै शून्यताको वकालत गर्छन्। शरीरमा छँदै यस शून्यताको बोध गर्नेहरूले मृत्युलाई जितेका पनि हुन्छन्।

दुनियाँभरका सारा कुरा जाने पनि मान्छेलाई आफ्नो जीवनको बारेमा कम थाहा हुन्छ। मान्छे बाहिरको चन्द्रमा खोज्छ। तर, आफूभित्रको चन्द्रमासँग अनविज्ञ हुन्छ।’

आज मानव जुन दुःखको दलदलमा आफूलाई पाइरहेको छ त्यसको प्रमुख कारण करुणाको अभाव हो भन्दै लेखक भन्छन्, ‘देशमा जति धेरै द्वन्द्व हुन्छ, त्यति नै मात्रामा मानिसबाट करुणा हराउँछ।’

यो पुस्तक माओवादी द्वन्द्व र विकृत राजनीतिले ध्वस्त तुल्याएको नेपाली समाजकै ऐना हो जस्तो पनि लाग्छ। लेखक पुस्तकमार्फत प्रकृति, पर्यावरण र मानवको आध्यात्मिक सम्भावनालाई वैज्ञानिक तरिकाले समि श्रण गरेर एउटा प्राचीन प्रज्ञालाई प्रादुर्भाव गर्न चाहन्छन्।

जीवन, जगत् र ब्रह्मको इकोसिस्टमलाई एकसाथ बुझ्न र बुझाउन लेखकले गरेको प्रयास प्रशंसनीय छ। साथै, प्राचीन आध्यात्मिक किमियाहरूलाई अहिलेको संसारको लवजमा ‘कन्टेम्पोरराइज’ गरेर मानव जीवन र समाजका विकराल समस्याहरूको समाधान खोज्ने प्रयास पनि उत्कृष्ट छ।

ठाउँठाउँमा अनावश्यक गन्थन भेटिए पनि तिनले झर्को भने लगाउँदैन। बरु ती गन्थन जीवनको कुनै समस्याको पहिचान र निराकरण गर्नमा नै समय खर्चिने खालका छन्। संवादहरूमा कताकता लेखक हाबी भएजस्तो लागे पनि विषयवस्तु र कथानकको मागअनुसार ती क्षम्य नै छन्। तथापि, संवादहरू अझै चुस्त हुन सक्थे। पाण्डुलिपि सम्पादन र शुद्धाशुद्धिको समस्या देख्दा अलिक हतारमा छापिएको हो कि जस्तो लाग्छ। समग्रमा पुस्तकले आशा जगाएको छ। दर्शनशास्त्रका विद्यार्थी, जीवन खोज्ने साधकका लागि समेत पुस्तक उपयोगी छ।

पुस्तक : जीवन

विधा : आख्यान

लेखक : सुवर्ण हुमागाईँ

प्रकाशक : फ्रान्सिस्को भेरेला इन्स्टिच्युट, बानेश्वर, काठमाडौं

पृष्ठ : २१६

मूल्य : रु. २९९


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.