फायर एन्ड फ्युरी : ट्रम्पको नाङ्गो तस्बिर

फायर एन्ड फ्युरी : ट्रम्पको नाङ्गो तस्बिर

डोनाल्ड ट्रम्पले आफ्नै कहानी बोकेको पुस्तक ‘फायर एन्ड फ्युरीः इनसाइड द ट्रम्प ह्वाइट हाउस’ को आधिकारितामाथि प्रश्न गर्दै ६ जनवरीमा ट्विट गरे– ‘माइकल उल्फ एउटा यस्तो खराब पात्र हो जसले पुस्तक बेच्नकै लागि मेरा बारेमा जथाभावी लेख्यो। यो पुस्तक अविश्वसनीय र दिक्दारीपूर्ण छ।’ स्टिभ वेननको सहायता लिएर आफ्ना बारेमा जथाभावी लेखेको भन्दै ट्रम्पले उल्फको कटाक्ष गरेका थिए।

माइकल उल्फ एक अमेरिकी पत्रकार, स्तम्भकार, लेखक, निबन्धकार हुन्। यूएसए टुडे र द हलिउड रिपोर्टर (टीएचआर)मा विभिन्न विषयमाथि कलम चलाउने गर्छन् उनी। ‘नेसनल म्याग्जिन अवार्ड’ दुई पटक हात पार्नुका साथै ‘मिरर अवार्ड’ पनि जितिसकेका छन्। सातवटा पुस्तकका लेखकले केही समयअघि चर्चित र विवादास्पद पुस्तक ‘फायर एन्ड फ्युरीः इन्साइड द ट्रम्प ह्वाइट हाउस’ प्रकाशित गरे। सन् २००८ मा उनै उल्फले मिडिया मालिक रूपर्ट मर्डकको जीवनी ‘द म्यान हु वन्स द न्युज’ बजारमा ल्याएका थिए।

पुस्तकमा राष्ट्रपति ट्रम्पका बारेमा सुनेका र अनुसन्धानका क्रममा भेटेका तथ्यलाई एकत्रित गरेका छन्, उल्फले। ट्रम्पको नजिक रहेका मान्छेहरूबाट सूचना संकलन गरिएको छ। स्टिभ बेनन, रोगर एलिज, रूपर्ट मुर्डक, केलेनी कनवे, साम नमवर्ग यस्तै केही ट्रम्पका नजिक मानिएका मान्छे हुन् जसले फायर एन्ड फ्युरीलाई पूर्णता दिन मद्दत पु¥याएका छन्। पुस्तकका हरेक हरफमा ट्रम्पको सग्लो व्यक्तित्व खुल्दै जान्छ। जसै उनको तस्बिर बन्दै जान्छ, उनको बहुलठ्ठीपन पनि अघिल्तिर देखिन थाल्छ। जनवरी ४ का दिन पुस्तकमाथि ह्वाइट हाउसले वक्तव्य निकाल्यो– ‘ट्रासी टेवलोइड फिक्सन’। अर्थात्, एक रद्दी टेब्लोइड उपन्यास।

उपन्यास पढेकै झझल्को दिने शैलीमा उल्फले ट्रम्पको ह्वाइटहाउस कहानीलाई उतारेका छन्। कतै ट्रम्पको व्यक्तिगत जिन्दगीलाई छोएर र कतै सार्वजनिक चासोको विषयमा उनको व्यवहार/बुझाइलाई लिएर व्यंग्य गरिएको छ। उल्फका अनुसार जेम्स होबनले आर्किटेक्ट गरेको चारतले ह्वाइटहाउस भवन ट्रम्पजस्तो धनाढ्य व्यापारीका लागि उपयुक्त थिएन।

८ नोभम्बर २०१६ का दिन ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपतिका रूपमा चुनिए। यसले उनका साथीहरूलाई मात्र हैन ट्रम्प आफैंलाई पनि अचम्ममा पारिदियो। उल्फ भन्छन्, ‘राष्ट्रपति भएपछि उनले मन्त्र जसरी ‘मैले जितेँ, म विजेता हुँ, म हरुवा हैन’ जप्दै हिँडेका थिए।’ यो जित उनकै लागि आश्चर्यजनक किन भयो भने उनी जित्छु भनेर चुनावमा उठेकै थिएनन्। आफूले हार्ने कुरामा उनी लगभग ढुक्कजस्तै थिए। ‘राजनीतिमा कसैले हार्नै पर्छ। तर, हरेक राजनीतिज्ञले मैले जित्छु नै भन्ने सोचेको हुन्छ,’ उल्फ भन्छन्, ‘यदि तपाईंमा जित्छु भन्ने आत्मविश्वास छैन भने तपाईंले सम्भवतः हार्नुहुन्छ। तर, ट्रम्पमा यो नियम लागू भएन।’ कुनै व्यवस्थित ‘क्याम्पियन’ नभएको र ट्रम्प आफैं पनि क्याम्पियनबाट दिक्क भइसकेकाले राष्ट्रपतिमा उनको पराजय लगभग पक्काजस्तै देखेका थिए ट्रम्पका साथीहरूले। तर, परिणाम विपरीत आइदियो। चुनावी दिन नजिकिँदै गर्दा बेननले बारम्बार ट्रम्प राष्ट्रपति नबन्ने बताइरहेका थिए (पृष्ठ. १९)।

चुनाव आउनुअघि नै ट्रम्पलाई लागेको रहेछ– यो मैले देखेको सपनाभन्दा ठूलो छ।

चुनाव जित्छु भन्ने ट्रम्पलाई लागेकै थिएन। केटाकेटी खेलमा चुनावी प्रतिस्पर्धामा होमिएका ट्रम्प अन्ततः अमेरिकाको राष्ट्रपति बने। उल्फको भाषामा भन्दा उनी ख्यालख्यालमै राष्ट्रपति बने। रातदिन क्याम्पियनमा हिँड्नु परेको सम्झिँदै एकदिन ट्रम्पले आफ्नो क्याम्पियन मेनेजर कोरी लाबोन्डोस्कीलाई भनेकै थिए, ‘वस्र्ट’। जित्छु भन्ने आत्मविश्वास नभएका ट्रम्प बाहिर भने यही कुरा भन्दैनथे। सायद ‘नभन्नु’ जरुरी पनि होला।

चुनावी क्याम्पियनमा लागेकै दिनदेखि उनी एक्लिन थालिसकेका थिए। जिन्दगीमा ट्रम्पले केही साथीलाई निकै नजिकबाट लिएका थिए। सबै क्षेत्रका दुई/चार जना साथीहरू उनीसँग खुबै मिल्थे। साथीहरू बीच घनिष्ट सम्बन्ध पनि थियो। जब १६ जुन २०१५ बाट उनले आफ्नो राष्ट्रपति अभियान (प्रेसिडेन्सियल क्याम्पियन) सुरु गरे तब उनको व्यक्तित्व सूचक ओरालो लाग्न थाल्यो। उनी झस्याङ भए, राजनीतिमा त मेरा साथी नै रहेनछन्। उल्फ भन्छन्, ‘रुडी गुलियानी र मिस क्रिस्टीजस्ता ट्रम्पका नजिकका भनिएका साथीहरू पनि उनीसँग अनौठो व्यवहार देखाएर पर–पर हुन थाले (पृष्ठ, २१)।’

ह्वाइटहाउस भित्र होस् या बाहिर आलोचनाको घेराबन्दीमै छन् ट्रम्प। त्यसैले उनी डराउँछन् आफ्नै नजिकका मान्छेसँग। ह्वाइटहाउस छिरेको पहिलो दिन उनले कर्मचारीहरूलाई आदेश दिए– मैले प्रयोग गर्ने ‘टुथब्रस’ नछुनू।

राष्ट्रपति बन्न त्यत्तिकै गाह्रो, राष्ट्रपति बनेपछि झनै गाह्रो। सायद, ट्रम्पले यो वास्तविकतालाई बारम्बार अनुभव गरे। ह्वाइटहाउस प्रवेश गरेदेखि ट्रम्पको तनाव सुरु भयो। मिडियाले बारम्बार गरिरहेको आलोचना त छँदैछ। साथीहरूले पनि उनलाई खेदो खनिरहेकै थिए। एउटा यस्तै भोगाइ हो, चिफ अफ स्टाफको लफडा। यो पद कसलाई दिने भनेर ट्रम्पलाई कम हैरानी भएन। न्युजर्सीका गभर्नर क्रिस क्रिस्टिदेखि आफ्नै ज्वाईं कुस्नरसम्मको लफडामा परे उनी। यही पदका लागि बेनन र रिचार्ड लेफ्रेकको नाम पनि नजोडिएको होइन। तर, सबैतिरबाट विरोध हुन्थ्यो। ट्रम्पअगाडि उभिएको एउटा पहाड हो, चिफ अफ स्टाफको लफडा। ह्वाइटहाउस भित्र ट्रम्पले चढ्नु परेका पहाडहरू धेरै छन्, चढ्न बाँकी अझै धेरै होलान्। ट्रम्पले व्यहोर्नुपरेका यस्ता झन्झटको फेहरिस्त नै तयार पारिदिएका छन् उल्फले। राष्ट्रपति भइसकेपछि कुन पद कसलाई र किन दिने भन्ने ट्रम्पसँग ज्ञान नभएको तर्क गर्छन् उनी। ट्रम्पको अव्यावहारिकता देखेर उल्फ भन्छन्, ‘ट्रम्प राजनीतिज्ञ हुँदै होइनन् जसले आफ्नो सहयोगी र विपक्षी चिनोस्। उसले आफ्नो गुट र अर्काको गुट बुझ्दैन। ऊ, व्यापारी मात्र हो।’

ट्रम्पमा एउटा राजनीतिज्ञमा हुनुपर्ने गुण नै नभएको तर्क गर्छन्, बेनन।

ट्रम्पका भित्री सत्य बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन्, स्टिभ बेनन। ट्रम्प राष्ट्रपतिमा नियुक्त भएपछि ह्वाइट हाउसका ‘चिफ स्ट्राटेजिस्ट’ बनेका यिनै बेनन अन्ततः ट्रम्पका लागि दुर्भाग्य बनेर सतहमा उत्रिए। बेननको परिचय विभिन्न ठाउँमा खोज्न सकिन्छ, मिडिया मालिक, राजनीतिज्ञ, बेङ्कर आदि–आदि। ट्रम्पको बानी/व्यहोरादेखि ह्वाइटहाउसको कन्तबिजोक देखाउन बेननले निकै समय खर्च गरेका छन्। बनेनलाई उद्धृत गर्दै उल्फले पुस्तकमा भनेका छन्, ‘ट्रम्प एकदमै चाप्लुसी छन्। तपाईंसँग राम्रो सम्बन्ध छ भने तपाईंलाई फकाउन उनी सिपालु छन्। यदि तपाईंसँग राम्रो सम्बन्ध छैन भने उनले तपाईंको बारेमा जेसुकै पनि भनिदिन सक्छन्। अर्थात्, तपाईंको नूर गिराउने गरी सार्वजनिक ठाउँमा बोलिदिन्छन्।’ उनी त ट्रम्पलाई मेसिनसँग तुलना गर्न पनि पछि पर्दैनन्, व्यंग्य गर्छन्, ‘उनी मेसिन हुन्, स्विच अन गर्नुस् तपाईंको प्रशंसामात्र गर्छ, अफ गर्नुस्, गालीमात्र गर्छ।’

पुस्तकमा ट्रम्पलाई आलोचना गर्न कसैको नाम बारम्बार आउँछ भने त्यो नाम बेनन नै हो। ट्रम्प रिसाहा छन्, यो त उनका भाषणहरूबाटै पनि थाहा लाग्छ। तर, यही कुरा आश्चर्यचाहिँ कतिबेला लाग्छ भने जब ट्रम्पकै नजिक मानिएको पात्रले यो वास्तविकता सुनाउँछ। बेनन भन्छन्, ‘ट्रम्पलाई राष्ट्रपतिको रूपमा मीठो बोल्नुपर्छ, अरूको मन जित्नुपर्छ भन्ने लाग्दैन। बस्, उनी नसोची बोलिदिन्छन्।’ यसको अर्थ उनी रिसाहा छन् जस्तो पटक्कै लाग्दैन बेननलाई। भन्छन्, ‘उनी मायालु छन्, ‘फन्नी’ छन्, तपाईंले केही गरौं भन्नुभयो भने उनी तम्सिहाल्छन्। तर, के गर्न लाग्दैछौं भन्नेतिर उनलाई चासो हुँदैन।’ यही वाक्यले प्रष्ट पारिदिन्छ ट्रम्प कति ‘हाउडे’ छन् भनेर। लगानी गर्न त तम्सिन्छन् तर के गर्ने भनेर उनी आफैंलाई थाहा हुँदैन। ट्रम्पको यो ‘हचुवापना’लाई उनकै व्यक्तित्व खुइँल्याउन दह्रो अस्त्रको रूपमा लिइएको छ।

ट्रम्प आशावादी छन्, एउटै काममा लामो समयसम्म खट्न सक्छन् भनेर पुस्तकमै भनिएको छ। पुस्तकभर ट्रम्पको प्रशंसा सायद यहीँमात्र हुन्छ, उनी एउटै काममा लामो समयसम्म लागिरहन सक्छन्। यो ट्रम्पको जिम्मेवारीपना हो कि ‘पागलपन’, उल्फ स्पष्ट छैनन्।

पुस्तकमा ट्रम्पमाथि व्यंग्य र आक्रोशको वर्षा पनि यतिधेरै छ कि कहिलेकाहीँ त पाठक आफैंलाई पनि यी लहडी राष्ट्रपतिप्रति दया जाग्छ। व्यापारिक दिमाग लिएर सत्ताको कारोबार चलाउन आइपुगेका यी राष्ट्रपतिको पारा देखेर कहिलेकाहीँ आक्रोश पनि जाग्छ। गत जनवरी २६ मा विश्व आर्थिक मञ्चमा ‘अमेरिका पहिलो’ भन्ने नीति लिएर बोलेका यी राष्ट्रपतिले अमेरिकालाई व्यापारमा पहिलो नै बनाउने छन् कि झमेलामा फसेर कगांलीको बाटोतिर लैजान्छन् त्यो हेर्न बाँकी नै छ। सत्य चाहिँ के हो भने, ‘फायर एन्ड फ्युरी’ पढेर ट्रम्पको यस्ता भाषण सुन्ने हो भने जो कोहीले व्यंग्यको शैलीमा खित्का छाड्न सक्ने सम्भावना हुन्छ।

रोगर एलिज कुरौटे शैलीमा पुस्तकमा बेलाबेला झुल्किने अर्का मिडिया मालिक हुन्। एलिज उनै व्यक्ति जो कुनैबेला ‘फक्स न्युज’सँग आबद्ध थिए, पछि यौन दुव्र्यवहारको आरोपमा निकालिएका थिए। एलिज ट्रम्पका धेरै कुरा मन पराउँछन्। उनको व्यापारी दिमागदेखि ‘गसिप’सम्म। कुनैकुनै बेला ट्रम्पमाथि बेनेको त्यही गसिपलाई प्रयोग गरेर एलिजले उनलाई हास्यको पात्र बनाइदिन्छन्। एलिज ढुक्क छन्, ‘ट्रम्पसँग कुनै राजनीतिक आस्था र ज्ञान छैन।’

ट्रम्पका साथीहरू ट्रम्पलाई फिटिक्कै मन नपराउने। एउटा उदाहरण लिउँ, पेपलका फाउन्डर र फेसबुकका बोर्ड मेम्बर पिटर थियल डोनाल्ड ट्रम्पका पक्षधर थिए। सम्भवतः सिलिकन भ्यालीबाट ट्रम्पका पक्षमा खरो रूपमा लविङ गर्ने विलिनियर पात्र उनी नै होलान्। उनलाई ट्रम्पले भन्ने गर्थ, ‘तपाईं र म जीवनभरको साथी बन्न सक्छौं। तपाई महान् हुनुहुन्छ। तपाईं र म मिलेर ठुलठूला काम गर्नुपर्छ। तपाईंको दिमागमा केही योजना आयो भने मिलेर गरौं।’ ट्रम्प र पिटरको सम्बन्ध देखेर अरू साथी पिटरलाई भन्ने गर्थे, ‘त्यसको कुरा नपत्याउनुस्। चाप्लुसी छ त्यो।’ ट्रम्पको चाप्लुसीपनलाई ब्रान्डकै रूपमा स्थापित गरिदिएका छन् उल्फले।

यसबाट बुझ्न सकिन्छ, ट्रम्पको व्यवस्थापकीय पाटो एकदमै कमजोर छ। उनी कस्ता मान्छेलाई व्यवस्थापनमा राख्ने भन्ने जान्दैनन्। उनी इतिहासका बारेमा जानकार छैनन् र आफ्नै भूमिकाको बारेमै कन्फ्युज देखाउने प्रयास गरेका छन् उल्फले।

पुस्तकमा उल्फले ट्रम्पको दिमागी हालतबारे प्रश्न उठाएका छन्। कारण (कज) र परिणाम (इफेक्ट)को सम्बन्धलाई छुट्याउन नसक्ने आरोप लगाइएको छ। ट्रम्पमाथि लगाइएको यही आरोप नै पुस्तकको सबैभन्दा महŒवपूर्ण, चाखलाग्दो र विवादास्पद विषय पनि हो। यो आरोपपछि आफ्नै दिमाग परीक्षण गराउन उनी डाक्टरसम्म पुगे। सायद, अमेरिकाको इतिहासमा ट्रम्प नै पहिलो राष्ट्रपति होलान् जो आफ्नै दिमागको सन्तुलनमाथि शंका गरेर डाक्टर गुहार्छन्। १७ जनवरी २०१८ का दिन ह्वाइट हाउसका डाक्टर रोनी ज्याक्सनले ट्रम्पको दिमागको जाँच गरेका थिए। जाँचका क्रममा कुनै पनि मानसिक समस्या नदेखिएको ज्याक्सनले बताएका थिए।

उल्फ पुस्तक सुरुतिरै भन्छन्, ‘ट्रम्पले नजिकै ठानेका केही मित्रहरूको आँखाबाट ह्वाइटहाउसमा उनले बिताइरहेको जिन्दगीलाई नियाल्न खोजेको छु।’ सम्भवतः उल्फ आफ्नो मिसनमा सफलै भए होलान्। नहुँदा हुन् त, यति धेरै तथ्य बाहिर आउने नै थिएन। पुस्तक लेख्दै गर्दा लगभग दुई सय जनासँग अन्तर्वार्ता गरेको उनले बताएका छन्। र, सूचना लिनका लागि एउटै मान्छेलाई पनि पटकपटक भेट्नु परेको बाध्यता सुनाएका छन्। आफूसम्म आएका कतिपय सूचना बाझिएको स्विकार्छन् उल्फ तर के–के सूचना बाझिएका हुन् भनेर चाहिँ विषय (पुस्तक) मा उल्लेख गर्दैनन्। पुस्तक पढ्दै गर्दा कहिलेकाहीँ स्रोतहरू आधिकारिक हुन् कि होइनन् कि भनेर पनि प्रश्न गर्न मन लाग्छ।

उल्फले ट्रम्पका पाँच वटा पक्षलाई निकै ख्याल गरेका छन्। पहिलो, चुनाव आउनुअघि चुनावमा आफ्नै उपस्थितिबारे ट्रम्पको धारणा। दोस्रो, राजनीतिमा आएपछि मिडियामा ट्रम्पको उपस्थिति। तेस्रो, ट्रम्पको व्यावहारिक ‘पागलपन’। चौथो, ह्वाइटहाउसमा उनको गतिविधि। र, पाँचौं अमेरिकाका धनाढ्यहरूसँग फेरिएको उनको सम्बन्ध। यी पाँच पक्षलाई ख्याल गर्दा ट्रम्प केन्द्रमा छन्। र, उनका वरिपरिका उपग्रहहरूले निरन्तर ग्रह (ट्रम्प)लाई नियालिरहेका हुन्छन्। पुस्तकमा उठाइएका हरेक विषय ट्रम्पको धज्जी उडाउनलाई ल्याइएजस्तो लाग्छ। उनले बच्चा शैलीमा ह्वाइहाउस चलाएको आरोप लगाइन्छ।

ट्रम्पको रुससँगको सम्बन्धदेखि महिलासँग हिमचिमसम्मलाई लिएर बारम्बार आलोचना गरिन्छ। प्रायः विलिनियरहरू ट्रम्पसँग सन्तुष्ट छैनन्। रूपर्ट मर्डक त ट्रम्पका बारेमा कहिल्यै सकारात्मक नै नभएको बताउँछन्, उल्फ। ह्वाइटहाउसभित्र होस् या बाहिर आलोचनाको घेराबन्दीमै रुमल्लिएका छन् ट्रम्प। त्यसैले उनी डराउँछन् आफ्नै नजिकका मान्छेसँग। ह्वाइटहाउस छिरेको पहिलो दिन उनले कर्मचारीहरूलाई आदेश दिए– मैले प्रयोग गर्ने ‘टुथब्रस’ नछुनू।

अन्तिममा, उल्फलाई नै केही प्रश्न गर्न मन लाग्छ। उल्फले उल्लेख गरेझैं के साँच्चै ट्रम्पलाई जित्ने विश्वास थिएन ? पुस्तक पढ्दै जाँदा यो प्रश्न उब्जिन्छ। र, प्रश्न गर्न मन लाग्छ, ‘यदि त्यो आत्मविश्वास थिएन भने अन्तिम दिनसम्म पनि उनी किन अभियानमा खटेका थिए? ’ उल्फले ल्याएका सूचनाहरू ट्रम्पका विरोधीहरूबाट मात्र संकलन गरिएकाले पनि पाठकहरूमा यस्तो सोचाइ आउन सक्छ।

र, एउटा अर्को पनि एउटा प्रश्न। ट्रम्पको बारेमा थाहा पाउन उनको विरोधीहरूबाट मात्र सूचना लिनु कति जायज हो?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.