समुद्र तटतिर घुमिहिँड्दा
ब्रेमेन अन्तर्राष्ट्रिय विमानस्थलमा मैले पाइला टेक्दासम्म विश्वास नै गर्न सकेकी थिइनँ, म युरोपमा छु भनेर। मेरो मन चंगा भई अझै पनि भर्खरै आएको जहाजजस्तै बादलमाथि नै उडिरहेको थियो। हामी गुरुहरूसहित १२ जनाको टोली जर्मनी पुगेका थियौं, विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन। बे्रमेनमा हामीलाई लिन जर्मन साथी आइलिन आएकी थिइन्। निकै सरल र सुशील आइलिनले हामीलाई हाम्रो गन्तव्यस्थल विलहेल्म्स्ह्यावनसम्म पुर्याउने जिम्मा पाएकी रहिछन्।
आइलिनले हामीलाई होटेलसम्म पुर्याउँदा रातको १० बजिसकेको थियो। भोक टार्न सबैले होटेलकै छेउको पिज्जेरियामा पिज्जा खायौं। लामो उडानको थकानले सबैजना सुत्न हतारियौं।
विलहेल्म्स्ह्यावन एक सानो नगर भएता पनि साह्रै रमणीय ठाउँ रहेछ। भोलिपल्ट बिहानै हामीलाई ‘सिटी टुर’का लागि एउटा बसमा चढाइयो। जर्मनीको उत्तरपश्चिमी कुनामा रहेको यो समुद्रतटीय नगर हो। यस नगरको उत्तरपट्टि विशाल ‘नर्थ सी’ छ। हाम्रा टुर गाइडले बताएअनुसार यहाँ दुई सय वर्षअघिसम्म पनि मानववस्ती थिएन रे। सन् १८६९ मा प्रसियाका तत्कालीन राजाले बनाएको उक्त नगर प्रसियाको जलसेनाका लागि बन्दरगाह भयो। दोस्रो विश्वयुद्धमा यस नगरका दुई–तिहाइ भवनहरू बमले ध्वस्त भए तर केही पुराना झन्डै एक सय वर्ष पुराना भवनहरू अझै गर्वका साथ ठडिएका छन्। मैले क्यामेरामा दृश्यहरू कैद गरेँ।
बेलुकीपख हामी जर्मन साथीहरूलाई लिएर लेफ्ट–राइट गर्दै नगर चहार्न हिँड्यौं। नगरकै ठूलो सपिङ मल ‘नर्डसी पासाज’ देखियो। हाम्रो होटेलदेखि ‘नर्डसी पासाज’ सम्म हिँड्दा मलाई स्वर्गमा हिँडिरहेको महसुस भयो। आँखा तिर्मिराउने गरी सफा बाटाहरू, व्यवस्थित र मिलेका घरहरू, एकदमै व्यवस्थित यातायातको सुविधा हामीले सोचेभन्दा धेरै परको दृश्य थियो। १५ दिनसम्म मेरा लागि विलहेल्म्स्ह्यावनमा सबैभन्दा आत्मीय ठाउँ सुडस्ट्रान्ड बीच बन्यो।
हामीले न्यानो लुगा एक–एक वटा मात्र बोक्यौं तर जब हामीले जर्मन भूमि टेक्यौं, हामीलाई त गर्मी याममा होइन जाडो याममा जर्मनी आएको जस्तो आभाष भयो। ब्रेमेनभन्दा विलहेल्म्स्ह्यावन अझ जाडो थियो। किनकि त्यो समुद्री तटमा भएकाले चिसो हावा चौबीसै घन्टा चलिरहन्थ्यो। त्यसैले हामीले न्यानो लुगा किन्यौं।
हामी गएको ठाउँ विलहेल्म्स्ह्यावनमा जर्मनहरूभन्दा सिरियाली शरणार्थी बढी भेटिन्थे। एक जना युनिभर्सिटीमा नै पढ्ने सिरियन साथी जर्जले आफ्नो दुःख भरिएको कहानी हामीलाई सुनाएको थियो। सिरियामा गृहयुद्धका कारण बस्न नसकेर ऊ र उसको दिदीको परिवार भागेर हिँडेर नै जर्मनी आइपुगेका रे। जर्जजस्तै अन्य कैयौं शरणार्थीहरू यहाँ बस्दा रहेछन् जसलाई जर्मन सरकारले सहयोग गरिरहेको छ।
हामी बसेको होटेलकी हजुरआमालाई हामी सबैजना ग्य्रानी भनी बोलाउँथ्यौँ। ग्य्रानी होटेल मालिक मार्टिनकी सासूआमा थिइन्। उनले नै दिनदिनै बिहान हामीलाई नास्ता पस्किन्थिन्। उनलाई देख्दा म सधैं मेरी हजुरआमालाई सम्झिन्थेँ। उनी पनि मलाई मेरी हजुरआमाले जस्तै माया गर्थिन्। उनलाई अंग्रेजी बोल्न आउँदैनथियो र हामीलाई जर्मन नआउने। हामी उनीसँग सांकेतिक भाषामा कुरा गथ्र्यौं। के थप्ने, के खाने भन्दै हामीले नास्ता गरुन्जेलमा उनी १० चोटी जति हाम्रो टेबल अगाडि आइपुग्थिन् र सबै कुरा खान, पेट टन्न पार्न आग्रह गर्थिन्। उनले हामीले बिहानको नास्ता खाइसकेपछि पनि झोला ल्याएर ब्रेड, अन्डाहरू प्याक गरिदिन्थिन्।
ग्य्रानीलाई हाम्रोको छालाको रङ एकदमै मन परेको थियो। एकदिन म स्कर्ट लगाएर बाहिर निस्किँदा ग्य्रानी चुरोटको धुवाँ उडाउँदै बाहिर आँगनमा बसिरहेकी थिइन्। मलाई देख्नेबित्तिकै उनी असाध्यै खुसी भएर मलाई अँगालो हाल्न आइपुगिन्। उनी मेरो खुट्टा देखाउँदै ‘ब्राउन स्किन’ भन्दै राम्रो मानिरहेकी थिइन्। मैले यसो सोचेँ, यिनीहरूको यस्तो सेतो छाला हुँदाहुँदै हामी नेपालीको कालो छाला के मन परेको होला ? अनि मैले उनलाई तपाईंको छाला झन् राम्रो सेतो छ भनेँ, तर उनले इसारामा आपूmलाई सेतो छाला मन नपर्ने बताइन्।
जर्मनीका खेत, फाँट, गाउँ र सुन्दर पंखा भएका विन्ड टर्बाइनहरू। रेलबाट बाहिर हेर्दा लाग्थ्यो यो नेपालैजस्तो त छ नि। यहाँ चरिरहेका गाई नेपालकै गाई जस्ता। यहाँका चराचुरुंगी नेपालकै जस्ता।
जर्मनहरूको रहनसहन र खानपान हामीभन्दा निकै भिन्न थियो। हाम्री सास्किया भन्ने साथी र उसको ब्वाईफ्रेन्डसँगै बस्दा रहेछन् लिभ–इनमा। उनीहरूको घर जाँदा बिल्कुल एक विवाहित जोडीको घरमा गएको अनुभूति भयो। भित्तामा दुईजनाका बाल्यकालदेखि लिएर सँगै खिचेका रमाइला तस्बिरहरू टाँगिएका थिए। सास्कियाको ब्वाईफ्रेन्ड जलसेनामा काम गर्ने हुनाले तीन महिनापछि मात्र घर आउने रहेछन् र घरमा उनीमात्र बस्दी रहिछन्। त्यसैकारण एक दिन हामी सबै नेपाली र जर्मन आदानप्रदान विद्यार्थीको टोलीले सास्कियाको घरमा मुभी हेर्र्यौं र रमाइलो गर्र्यौं।
विलहेल्म्स्ह्यावनमा धेरै दिन बिताएपछि हामीलाई विश्वविद्यालयले ब्रेमेन सहर घुमाउन लग्यो। ब्रेमेनको वास्तुकलाले रोमाञ्चित बनायो मलाई। ब्रेमेनको नगर संगीतकारहरूको बारेमा एउटा प्रख्यात दन्त्यकथा छ। जसअनुसार ‘एकादेशमा, चार जनावर थिए– गधा, कुकुर, बिरालो र कुखुरा। गधाले अरू जनावरहरूलाई ब्रेमेन गएर नगर संगीतकार बन्ने यात्रामा आफूलाई साथ दिन मनाउँछ। उनीहरू सबै मान्छन् र बाटोमा जाँदै गर्दा उनीहरूलाई भोक लाग्छ। बाटोमा चोरहरूको घर आउँछ, जहाँ चोरहरू एकैसाथ बसेर खानाको आनन्द लिइरहेका हुन्छन्। ती चार जनावरहरू चोर भगाउनका लागि एक अर्कामाथि चढेर गाउन थाल्छन्। जनावरहरूको आवाज सुनेर चोरहरू डराएर भाग्छन्। यसरी त्यो घर जनावरहरूको स्थायी सम्पत्ति हुन्छ। उनीहरू त्यही भएर कहिल्यै ब्रेमेनसम्म आइपुग्दैनन्, त्यही घरमा बस्न थाल्छन्।’
यो दन्त्यकथा जर्मनीमा अत्यधिक प्रख्यात भएको हुनाले ब्रेमेनको टाउन स्क्वाएर नजिकै १९५१ मा यी चार जनावरहरू एकअर्कामाथि चढेको मूर्ति बनाइएको छ।
ब्रेमेनमा अर्को आकर्षक कुरा भने बहादुर रोल्यान्डको मूर्तिलाई मानिँदो रहेछ। ५.४७ मिटर अग्लो सन् १४०४ मा ठड्याइएको रोल्यान्डको मूर्तिलाई स्वतन्त्रता र स्वावलम्बनको प्रतीक मानिँदो रहेछ। ब्रेमेनमा दुईवटा मुख्य भवनहरू सानका साथ उभिएका थिए। ती थिए– टाउन हल र सेन्ट पिटर क्याथेड्रल। पूर्ण युरोपियन शैलीमा बनेको, विश्व युद्धताका पनि नभत्किएको टाउन हलमात्र यस्तो एउटा भवन हो, जुन अहिले पनि युनेस्को विश्व सम्पदामा पर्छ।
त्यसपछि हामी गयौं बोट्चर सडक, जहाँको प्रवेशद्वार नै स्वर्णिम थियो। पूरै प्रचलित क्याफे र रेस्टुरेन्टले भरिभराउ त्यो सडकको अन्त्यतिर रविन्सन क्रुसोको घर भनी बनाइएको संग्रहालय पनि रहेछ। ‘द एडभेन्चर अफ रविन्सन क्रुसो’ उपन्यासमा रविन्सन भन्ने पात्रले आफ्नो घर ब्रेमेनकै त्यही ठाउँमा बताएका छन्। किताब पढ्नमा रmचि राख्ने मेरो मन संग्रहालयभित्र छिर्न आतुर थियो तर समय थिएन। बाहिरबाट मात्र क्रुसोको घर नियालेर फर्कियौ।
ब्रेमेनमा मलाई अत्यधिक मन परेको ठाउँ भनेको स्नुर डिस्ट्रिक्ट थियो। साह्रै साँघुरा गल्लीहरूबीच मध्यकालीन शैलीका भवनहरू निर्मित थिए। त्यस स्नुर डिस्ट्रिक्टमा मध्ययुगका स–साना काठका घर, पसल, क्याफे र केही बियर बारहरूले जर्मन संस्कृति र परम्परालाई जोगाएर राख्न खोजेको देखिन्थ्यो।
ब्रेमेनको अर्को विशेषता के थियो भने यदि तपाईं पर्यटक गाइडबिना ब्रेमेन सहरको मुख्य भाग घुम्न आउनुभएको छ भने पनि अल्मलिनु पर्दैन। ब्रेमेन सिटी सेन्टर भरी यस प्रकारले सेतो काँटी ठोकिदिएको छ कि त्यहाँ घुम्न आउने जो कोही पनि त्यो काँटी पछ्याएर घुम्यो भने सम्पूर्ण महत्वपूर्ण स्थलहरूको अवलोकन गर्न सक्छ।
जर्मनी बियर र कार उत्पादनका लागि प्रख्यात देश मानिन्छ भनेको त हामीले पहिल्यैदेखि सुनिआएका थियौं तर त्यहाँ पुगेर रमिता हेर्नुमा अर्कै प्रकारको आनन्दको अनुभूति हुन्छ। जर्मनहरू बियरका अत्यधिक सौखिन रहेछन्। बारबाहिर–भित्र सबै ठाउँमा बियर, वाइन र ह्विस्कीको नसामा रमाइरहेका महिला र पुरुषहरूको कमी थिएन ब्रेमेनमा। यस्तै सोचाइमा मग्न हुँदै जर्मनीमा ब्रेमेन आएर पनि बियर नपिई गए त जर्मनी भ्रमण अधुरो नै हुन्छ भन्ठानेर मैले मेरा साथीहरूलाई जाऊँ बियर पिउन भनी आग्रह गरेँ। हामी सबैजना बारभित्र एउटा कुनाको टेबलमा बस्यौं। त्यहाँ मैले ब्रेमेनमा नै उत्पादन भएको प्रसिद्ध बियर ‘बेक्स’ मगाएँ। बियरको चुस्की लिँदै हामी साथीभाइ ब्रेमेनको तारिफ गर्दै भुल्लियौँ। ब्रेमेनमा धेरैजसो मान्छेले बियर खाने रहेछन्। बिहानदेखि आधा रातसम्म बारमा बसी अत्यधिक मानिसले मादक पदार्थ सेवन गर्दा पनि कोही एकजना पनि मातेर झगडा गरेको, दुःख दिएको देखिएन। अहो ! कति सभ्य देश ! कति भलाद्मी जँड्याहाहरू ! यस्तो आचरण नेपाली जँड्याहाहरूले अपनाइदिएदेखि कति राम्रो हुने थियो होला भन्ने सोचमा म डुबेँ।
हामी आएको दुई दिनमा नै आफ्नो घरको दालभातको सम्झना हुन थालिसकेको थियो। धेरै गुलियो केक, कफी, पिज्जा, स्यान्डविच, बर्गर खाँदाखाँदा हामी दिक्क हुन थालिसकेका थियौं। भियतनामी रेस्टुरेन्ट भेटेपछि भने हाम्रो बिहान बेलुकाको खाना नै भात हुन थाल्यो। हामी ब्रेमेनमा हुँदा पनि हाम्रा जर्मन साथीहरूलाई हामीले भारतीय रेस्टुरेन्ट खोजेर हैरान पारेका थियौं। आखिरमा एउटा पञ्जाबी रेस्टुरेन्टमा गएर हामीले थाली सेट खाएरै छाड्यौं। त्यहाँ काम गर्ने सबै मानिस भारतीय नै थिए र टेलिभिजनमा पनि हिन्दी गीत नै घन्किरहेको थियो। हामी हिन्दी गीतको तालमा नाच्यौं पनि, र जर्मनहरूलाई पनि नचायौं।
भ्रमणकै क्रममा जब हामीलाई यादे बेबाट जहाजमा राखी उत्तरी समुद्रको यात्रा गराउन अरू अन्तर्राष्ट्रिय विद्यार्थीसँग लगियो, तब त्यहाँको एउटा दृश्यले दिएको हर्षका कारण मेरा खुट्टा भुइँमा थिएनन्। जहाजको माथितिर सजाउन टाँगेका बत्तीहरूसँगै मेरो रातो र चन्द्रसूर्य अंकित झन्डा सानले फर्फराइरहेको थियो। पराइ मुलुकमा आएर आफ्नो देशको झन्डा देख्न पाउँदा साँच्चिकै गर्व खुसीको क्षण हुँदो रहेछ। त्यसैबखत मैले झट्टै तारानाथ शर्मा र उनको ‘एभन नदीको किनारमा दुई थोपा आँसु’ भन्ने नियात्रा सम्झिएँ। मलाई जर्मनीदेखि चिच्याइचिच्याई तारानाथ शर्मालाई भन्न मन लागेको थियो, ‘हो रहेछ ताना शर्माज्यू, आफ्नो देशको झन्डामा कत्रो खुसी लुकेको हुँदो रहेछ।’ झन्डाकै बारेमा कुरा गर्दै जाँदा थाहा भयो, यस यात्रामा नेपाली विद्यार्थी पनि छन् भन्ने थाहा पाएपछि नेपालको झन्डा विलहेल्म्स्ह्यावन, ब्रेमेन कतै नपाइएर हैम्बर्गबाट मगाएका रहेछन् जहाजका क्याप्टेनले। अहो ! त्यति सुनेपछि त झन् मेरो जर्मनहरूप्रति श्रद्धा अझै पनि बढेर आयो।
म पुस्तकप्रेमी भएकाले जर्मनीमा हुने पुस्तक मेलाको बारेमा जान्न र सकेसम्म जान धेरै इच्छा थियो। हरेक वर्ष फ्रैङ्फर्टमा हुने पुस्तक मेलालाई संसारभरिकै सबैभन्दा ठूलो पुस्तक मेला मानिन्छ। यसका लागि अझै दुई महिना कुर्नुपर्ने थियो। अक्टुबरसम्म पर्खन सक्ने अवस्था थिएन। किनभने हामी त्यहाँ सीमित अवधिका लागि गएका थियौं।
छुट्टिने बेलामा जर्मन साथीहरूले बिदाइ भोज दिएका थिए र होटेल अगाडि धेरैबेर बसेर दुःखका आँसु झार्दै अँगालिएर छुट्टियौं। रेलको झ्यालबाट यसो हेरेँ, जर्मनीका खेत, फाँट, गाउँ र सुन्दर सुन्दर पंखा भएका विन्ड टर्बाइनहरू। रेलबाट बाहिर हेर्दा लाग्थ्यो यो नेपालै जस्तो त छ नि, यहाँ चरिरहेका गाई नेपालकै गाईजस्ता, यहाँका चराचुरुंगी नेपालकै जस्ता तर फेरि रेल अलि पर पुगेपछि पर पर गगनचुम्बी भवनहरू देखिन्थ्यो। धेरै मानिस देखिन्थे र धेरै भएता पनि कहीँ कतै प्रदूषणको निसानसम्म पनि देखिँदैनथ्यो। अनि झसंग भएझैँ हुन्थ्यो, अहो ! यो त हिटलरले शासन गरेको विकसित देश जर्मनी पो हो त ! यस्तै रेलको सुविधा नेपालमा हुने भए कति जनताले सुख पाउँथे होलान्, कति युवाले देशमै रोजगारी पाउँथे होलान् ? यस्तै विकासे सपना देख्दादेख्दै जर्मनीलाई अल बिदा गरी हामी स्वदेश फर्कियौँ।
(लेखक काठमाडौं विश्वविद्यालयमा बीएमएस तेस्रो वर्षमा अध्ययनरत छिन्)