रानीपोखरी पुनर्निर्माण नरोक्नू : सर्वोच्च
काठमाडौं : सर्वोच्च अदालतले रानीपोखरी पुनर्निर्माण नरोक्न आदेश दिएको छ । अधिवक्ता दीपकविक्रम मि श्रले रानीपोखरी र बालगोपालेश्वर मन्दिर निर्माण रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले मौलिकता नबिग्रने गरी पुनर्निर्माणलाई निरन्तरता दिन भनेको हो ।
आदेशको पत्र शुक्रबार प्राप्त भएको जानकारी दिँदै विभागका महानिर्देशक भेषनारायण दाहालले अन्नपूर्णसँग भने, ‘अर्को आदेश नभएसम्म मौलिकता नबिग्रने गरी पुनर्निर्माण जारी राख्न भनिएको छ ।’ मन्त्रिपरिषद्को पुस १३ गते बसेको बैठकले पनि रानीपोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई कायम राख्दै पुरातत्व विभागले स्वीकृत गरेको मापदण्डबमोजिम निर्माण कार्य अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा काठमाडौं महानगरलाई निर्देशन दिएको थियो ।
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर निर्माणको जिम्मा पाएको राम जेभीका श्री कँडेललाई तत्काल कार्य आरम्भ गरी प्रत्येक २० दिनमा कार्यप्रगति विभागमा पेस गर्न निर्देशन दिएको दाहालको भनाइ छ । उनले भने, ‘निर्माण व्यवसायी कँडेललाई तोकिएकै मितिमा ०७५ असार मसान्तभित्र मन्दिर पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी आदेश दिन पनि उपयुक्त देखेकाले सोहीअनुसार निर्णयार्थ पेस गरेको छु ।’ विभागबाट खटिएका परियोजना प्रमुख र इन्जिनियर यथावत् राख्ने र उनीहरूमार्फत निर्माण व्यवसायीबाट हरेक २० दिनमा कार्य प्रगति प्रतिवेदन तयार पार्ने गरी निर्देशन दिएको उनको भनाइ छ । विभागले उक्त प्रतिवेदन सर्वोच्च अदालतको रिट ६ फाँटमा पठाउनेछ ।
काठमाडौं महानगरमार्फत कँडेलले बालगोपालेश्वर पुनर्निर्माण गर्दा कंक्रिट प्रयोग गरेकाले उक्त निर्माण कार्य रोकी विभागले ती पिलर काटी स्वयंले निर्माण कार्य अघि बढाएको थियो । विभागले पुनः उक्त मन्दिरको ड्रइङ, डिजाइन र इस्टिमेट साथै पुरातात्िवक लगत पूरै तयार पारी पुनः बोलपत्र आह्वान गर्दा पुनर्निर्माण व्यवसायी कँडेलले नै पुनर्निर्माणको ठेक्का हात पारेका थिए । कँडेलसँग विभागले माघ ५ गते एक करोड ४० लाख ५८ हजार रुपैयाँमा मन्दिर पुनर्निर्माण गर्ने गरी सम्झौता गरेको हो ।
महानगरपालिकाले पुनर्निर्माण गरिरहेको रानीपोखरीमा आधुनिकता मिसाएर जाने वा परम्परागत शैली नै कायम राख्ने भन्ने प्रमुख र उपप्रमुखबीच विवाद देखिएको थियो । विज्ञहरूले रानीपोखरीको मौलिक स्वरूप र संवेदनशीलतालाई प्रतिकूल प्रभाव पर्ने गरी निर्माण भएका संरचना र कंक्रिट (रिटेनिङ वाल) को संरचना हटाउन र रानीपोखरीको समग्र स्वरूप ग्रन्थकुट (शिखर) शैलीमा बनाउन सुझाव दिएका छन् ।