प्रतीक्षा, पोयट्री एन्ड प्रेमिल च्याप्‍टर्स

प्रतीक्षा, पोयट्री एन्ड प्रेमिल च्याप्‍टर्स

सरस्वती प्रतीक्षालाई कताकता ‘सुम्निमा’को अनुहारसँग आफ्नै अनुहार मिलेजस्तो लाग्छ। बीपीको ‘सुम्निमा’ उनलाई प्रिय लाग्छ। उनले सबैभन्दा बढी दोहोर्‍याएर पढेको किताबमध्ये ‘सुम्निमा’ एक हो। उनको बुझाइ छ, ‘उपन्यासमा सुम्निमाको नांगोपनाको लाक्षणिक अर्थ छ। सुम्निमा आदर्शका सबै बोक्राहरू उतारेर बाँच्न मन पराउने पात्र हो।’

धेरै मान्छे जिन्दगीको परिभाषा दिन जान्दछन्। तर, जिन्दगी जिउन जान्दैनन्। ‘सुम्निमा’ जिन्दगीको परिभाषा दिन जान्दिनँ, तर जिन्दगी पूरापूर बाँच्न चाहिँ जान्दछे।

सुम्निमाजस्तै जिन्दगी बाँच्दाबाँच्दै जीवनको अनौठो बिन्दुमा आइपुगेकी छिन्– सरस्वती प्रतीक्षा। यस्तो बिन्दु, जुन अक्करे भीर चढेर आइपुगेको देउरालीजस्तो, बर्खायामको नारायणी पौडेपछि आइपुगेको किनारजस्तो अथवा भोकै–प्यासै मरुभूमि हिँडेपछि आइपुगेको ओएसिसजस्तो छ। निधारको पसिना पुछेर लामो खुइय फाल्छिन्। यसो पछाडि हेर्छिन्, आफू हिँडेको बाटो। र, बडो प्रेमले सुम्सुम्याउँछिन् यो लामो यात्राको उपलब्धि– नथिया।

अब अगाडिको यात्रा उनको होइन। उनका पाइलाका डोबहरूको हो। अबको प्रतीक्षा उपलब्धिको होइन। उपलब्धि प्राप्तिपछिका प्रतिक्रियाहरूको हो। सगरमाथा चढेपछि के तेन्जिङलाई पनि यस्तै भएको थियो ?

जिन्दगीको यो देउरालीमा आइपुग्न उनले लामो रेस दौडेकी छिन्। साहित्य बजारले छिट्टै चिन्नेछ, उनी लामो रेसमा दौडिरहेकी छिन्। यो दौड सुरु हुन्छ, पोखराको एउटा मध्यमवर्गीय परिवारबाट।

०००

मध्यमवर्गीय परिवारमा जेठी छोरीको रूपमा जन्मिएकी थिइन् सरस्वती। पोखरा उतिबेला सहर बन्ने चरणमा थियो। न गाउँ, न सहर बनिसकेको पोखरामा हुर्किइन् उनी। बा–आमाको लाडप्यारमा हुर्केकी होइनन्। आमासँग एक प्रकारको दूरी रह्यो सधैं। किन रह्यो ? उनी आफैंलाई थाहा छैन।

कुराकानीको क्रममा उनी आमालाई निकै सम्झिरहेकी थिइन्। सुनाइन् आमासँग जोडिएका यादहरू। सानैदेखि झोकी स्वभावकी थिइन्। कति झोकी भने, एकपटक आमाले कुरुसले बुनेको जामा बनाइदिन्छु भनिन्। उनलाई जामा लगाउन एकदम रहर थियो। तर, पछि आमाले आफ्नो कुरा आफैं भुलिन्। पछि उनले जतिपटक सम्झाउँदा पनि बनाइदिइनन्। त्यही झोकमा उनले दराजबाट आमाको सबैभन्दा राम्रो साडी निकालेर कैंचीले काटिन् र जामाको आकार दिएर सियो–धागोले सिलाइन्। आमाले बेस्कन गाली गरिन्। आमाको गाली पाएको झोकमा १३ रुपैयाँ बोकेर घर छोडी हिँडिदिइन्। जम्मा ११ वर्षकी थिइन् सरस्वती त्यतिबेला। ‘झोकीचाहिँ म बच्चैबाट बढी नै हुँ,’ भन्छिन्।

आमाले सरस्वतीलाई २० वर्षकै हुँदा जन्माएकी। आमा र उनीबीच झगडा भइरहन्थ्यो। सरस्वती बढी नै किचकिचे। लटरपटर गरेर काम गरेको कत्ति मन नपर्ने। ११–१२ वर्षको उमेरबाटै आमाले धोइदिएको लुगा भएन भनेर आफैंले दोहोर्‍याएर धुनुपर्ने स्वभावकी। आमासँग झगडा त कति, कति !

बाबा पनि उनलाई संसारको सबैभन्दा डरलाग्दो मान्छे लाग्थ्यो। जहिल्यै गाली गर्ने र देख्नासाथ झम्टिहाल्ने स्वभाव थियो बाबाको। त्यत्तिकैमा उनले लेखक सरुभक्तलाई पिता मानिन्। तर, आफ्नो जन्मघर छोडेर सरुभक्तको घरमा बसेकी भने होइनन्। उनी बा, आमाकी एक्ली छोरी, दुईजना भाइहरूकी एक्ली दिदी थिइन्। यस अर्थमा उनको परिवारले आफ्नो छोरी अरूलाई दिने भन्ने कुरै हुन्थेन। भएछ के भने एसएलसी दिएपछि उनी कविताको डायरी बोकेर सरुभक्तलाई भेट्न गइन्। पहिलो भेटमै सरुभक्तले भने, ‘तिमीलाई भेट्दा मलाई मेरी नजन्मेकी छोरी जन्मेर आएजस्तो अनुभूति भयो। म तिमीलाई मेरी छोरी बनाउँछु है !’ र, दुवै परिवारको सहमतिमा उनी सरुभक्तको छोरी भइन्।

०००

सरस्वती सानैमा यौनहिंसाको सिकार भएकी थिइन्। यो सम्झनाले जहिल्यै नमीठो अनुभूति दिन्छ। सात/आठ वर्षकी थिइन्। बाबाको सानो उद्योग थियो। त्यहाँ काम गर्ने पाँच/सात जना कामदार थिए। तिनै कामदारमध्ये एउटाले एकान्तमा कहिले चकलेट दिँदै, कहिले पाउरोटी वा केक दिँदै फकाइफकाइ हुँदो/नहुँदो हर्कत देखाउँथ्यो। त्यतिबेला उनी बुझ्ने भइसकेकी थिइनन्। तर पनि त्यस्तो हर्कत उनलाई नमीठो चाहिँ लाग्थ्यो। अहिले सम्झँदा उनलाई लाग्छ, ‘म त्यतिबेला यौनहिंसाको सिकार भएकी रहेछु।’ अझैसम्म पनि बाल्यकालको त्यो डरलाग्दो अनुभूतिले उनलाई झस्काइरहन्छ।

यहाँ रुख कविहरू पनि छन्। झार कविहरू पनि छन्। लहरा कविहरू पनि छन्। सबैभन्दा खतरनाक कुरा चाहिँ यहाँ वनमारा कविहरू पनि छन्।

सायद त्यही स्मृतिदंशले पोलिरहेको हुनुपर्छ र सरस्वती ‘नथिया’ लेख्ने मुडमा पुगिन्। एउटा यस्तो समुदायको कथा जो इतिहासदेखि नै यौनहिंसाको सिकार बनेको छ। बन्न बाध्य भएको छ।

०००

सरस्वती लेखनमा नआएकी भए, सायद राजनीतिमा जमिरहेकी हुन्थिन्। २०५५/५६ सालतिर उनी विद्यार्थी राजनीतिमा थिइन्। अनेरास्ववियुको जिल्ला कमिटी सदस्य तथा भानुभक्त क्याम्पसको स्ववियुमा निर्वाचित भएकी थिइन्। अनेरास्ववियुको अधिवेशनमा प्रतिनिधिको रूपमा पहिलोपटक उनी काठमाडौं आइपुगेकी थिइन्। मान्छे–मान्छे, भीड–भाड, सबै दौडिरहेजस्ता लाग्ने सहरको पहिलो इम्प्रेसन उनको मस्तिष्कमा अझै ताजा छ। उनलाई सहर निकै गतिवान् रैछ भन्ने लाग्यो। गति मन पराउने मान्छेलाई काठमाडौं सहर राम्रो लागेथ्यो। जन्म दिने बाबा पनि चाहनुहुन्थ्यो– छोरीले कम्युनिस्ट राजनीति गरोस् र ठूलै नेता बनोस्। एमए सकेपछि बाबा सरुभक्तको पवित्र इच्छा थियो– छोरीले कुनै कलेजमा पढाओस्। दुवै बाबाहरूको इच्छाको बाटो नहिँडेर उनी आफ्नै इच्छाको बाटो हिँडिन्।

०००

आफैंले खनेको बाटो सुगम थिएन। यसै पनि जिन्दगीको बाटो सुगम कहाँ हुन्छ र ! सरस्वती हिँडेको बाटोमा लेखन र संघर्ष त थियो नै। सँगसँगै थिए प्रेमका अनेक गाथा पनि। उनको प्रेम–पाटो नखोले यो स्टोरी रसिलो बन्दैन।

उनले पहिलो प्रेम १४ वर्षसम्म गरिन् निरन्तर। पहिले ‘वान साइडेड’। पछि ‘टु साइडेड।’ दुवै टुट्यो। अहिले सम्झँदा उनलाई लाग्छ– टुट्न जरुरी थियो सायद। भन्छिन्, ‘प्रेम नटुटेको भए डिभाइन प्रेम कस्तो हुन्छ ? मलाई कहिल्यै थाहै नहुने रहेछ।’

अरूहरूको थाहा भएन, उनको निम्ति प्रेम र प्रेमी पूजा गरिन लायक कुरा हुन्। भन्छिन्, ‘प्रेम भनेको प्रेमीमा आफूलाई पूर्णतः समाहित गर्नु हो। सानोतिनो समर्पणले कोही कसैमा समाहित हुनै सक्दैन।’

उनलाई लाग्छ– जीवनमा विवाह गर्नैपर्छ भन्ने पनि छैन र गर्नै हुँदैन भन्ने पनि छैन। व्यक्तिको चाहना र रुचिले यसको महŒव निर्धारण गर्छ। लेखकलाई विवाहले बाँध्छ कि बाँध्दैन भन्ने कुरा वैवाहिक साथीको स्वभावले तय गर्ने हो। उनको सवालमा विवाहले उनको जिन्दगीको मालिक अरूलाई स्थापित गर्न खोजेपछि उनी त्यसबाट मुक्त भएर बसिन्। ‘मेरो जिन्दगीको मालिक मबाहेक अरु कोही हुनै सक्दैन’ भन्ने लागेपछि उनले डिभोर्स गरिन्।

विवाह आफ्नै इच्छामा भएको हो, तर मागी विवाह। आफूलाई प्रेम गर्ने मान्छेलाई कुनै दिन प्रेम गर्न सकिन्छ सोचेर विवाह गरिन्, बा–आमाको अनुमतिमा। विवाहपछि लोग्नेको रूपमा उनी ‘प्रेमी’ चाहन्थिन्। सरस्वतीको विचारमा, ‘विवाहको दिनबाटै उहाँ लोग्ने मात्र बन्नुभयो। कहिल्यै प्रेमी बन्ने प्रयास गर्नुभएन।’ फाटो सायद यहीँबाट सुरु भयो। एकअर्कालाई लिएर उनीहरूका अपेक्षा मेल खाएनन्। र, उनले विवाहबाट मुक्त भएर बस्न चाहिन्।

लड्न, लडेर उठ्न र सिक्नका लागि ठक्करहरू जरुरी हुन्छन्। ‘विवाहले त्यही एउटा सिकाइको काम गर्‍यो’, उनी भन्छिन्, ‘चेतनाको स्तर बढ्दै जाँदा त्यसले आफ्से आफ स्वतन्त्रताको माग गर्दो रहेछ। पढेलेखेका महिलाको सम्बन्धविच्छेद ज्यादा हुनुको पछाडि पनि यही कारण छ।’

०००

२६ वर्षको उमेरमा सरस्वती आमा बनिन्। पुरुष लेखकहरू बेलाबेला भनिरहेका हुन्छन्, ‘लेख्दा मलाई प्रसव पीडा भयो।’ कहिल्यै भोग्न अवसर नपाउने प्रसव–पीडाको अनुभूति ‘पुरुष’हरू कसरी गर्न सक्छन् कुन्नि ! उनलाई लेखनलाई प्रसवको पीडासँग तुलना गर्ने पुरुष–गफले हाँसो लाग्छ। ‘आफूले कहिल्यै अनुभूत नै नगरेको कुरा कसरी यस्तो हुन्छ भनेर व्याख्या गर्न सक्नु र खै ? महिला लेखकको सन्दर्भमा भने यो लागू हुन सक्छ,’ उनी आमा–अनुभूति सुनाउँछिन्, ‘आमा हुनु संसारकै सर्व श्रेष्ठ अनुभूतिमध्येको एक हो। पेटमा बच्चा छँदा यस्तो लाग्छ, एउटा शरीरभित्र दुइटा जीवन छ। पेटको बच्चा चल्मलाउँदा यस्तो लाग्छ, आफूले फेरिरहेको श्वास आफ्नो लागि मात्र होइन, आफूभित्रको जीवनको लागि पनि हो। आफ्नो खुसी जब नवजात बच्चाको ओठबाट उदाउँछ, त्यो खुसी शब्दमा व्यक्त गर्न सकिने खुसी हुँदै हुँदैन।’

उनी हुर्केको थकाली परिवारमा पहिलोपटक रजस्वला हुँदा बार्ने वा लुक्ने भन्ने चलन हुँदैन। उनी १२ वर्षको उमेरमै रजस्वला भइन्। अलिकति लाज र अलिकति संकोचको कारण आफू रजस्वला भएको कुरा उनले आमालाई सुनाइनन्। एकैचोटि १४ वर्षको भएपछि मात्र आमाले थाहा पाइन्, त्यो पनि कताबाट झुक्किएर उनको जामामा लागेको रगतको दाग देखेर। रजस्वलामाथि उनको एक लाइने विश्लेषण छ, ‘जसरी रातो गुलाफको आफ्नै खालको सौन्दर्य हुन्छ, त्यसरी नै रजस्वला हुँदाको रातो रगतको पनि आफ्नै खालको सौन्दर्य हुन्छ।’ उनको विचारमा, रजस्वला हुँदै गर्दा एउटी केटीमान्छे एकसाथ खुसी र दुःखी दुवै भइरहेकी हुन्छे। खुसी यस अर्थमा कि रजस्वलाको रगतको प्रत्येक बुँदसँगै आफू नारी हुनुको गर्व त्यसमा मिसिएको हुन्छ। दुःखी यस अर्थमा कि हार्मोनल चेन्जको कारण दिक्क लाग्ने, झर्किन मन लाग्ने, रिस उठ्ने यस्तै के–के पनि भइरहेको हुन्छ।

पेटमा बच्चा छँदा यस्तो लाग्छ– एउटा शरीरभित्र दुइटा जीवन छ। पेटको बच्चा चल्मलाउँदा यस्तो लाग्छ– आफूले फेरिरहेको श्वास आफ्नो लागि मात्र होइन, आफूभित्रको जीवनको लागि पनि हो। आफ्नो खुसी जब नवजात बच्चाको ओठबाट उदाउँछ, त्यो खुसी शब्दमा व्यक्त गर्न सकिने खुसी हुँदै हुँदैन।

अहिले पनि रजस्वला हुनुलाई पाप वा अपवित्रताको रूपमा हेरिने नेपाली समाज ज्युँदै छ। उनी भन्छिन्, ‘रजस्वला हुनु पाप हुन्थ्यो भने त्यही रजस्वलाको बाटो हुँदै जन्मने हर मान्छे जन्मँदै पापको भागीदार हुन्थ्यो।’

लेखिकाको आँखाबाट हेर्दा उनी आफ्नो छोरालाई उनैले लेखेको कुनै सुन्दर कविता वा आख्यान सोच्छिन्। एउटा जिउँदोजाग्दो कविता। एउटा जिउँदोजाग्दो आख्यान।

एकसाथ आमा र लेखिकाको जीवन बाँच्नु कति कठिन हुन्छ ? उनले अनुभव गरेकी छिन्। बच्चालाई दिनुपर्ने समय पनि किताबलाई दिँदैछु भन्ने भाव धेरैपटक आएको थियो, ‘नथिया’ लेख्दै गर्दा। उपन्यास लेखनमा कन्ट्न्यिुटी–ब्रेक गर्न नमिल्ने हुनाले छोराका कतिपय माग पन्छाएर ऊमाथि अन्याय गरेको फिलिङ्स पनि एकसाथ छँदैछ। भन्छिन्, ‘एकसाथ आमा र लेखिका हुँदा बाध्यतावशः कहिलेकाहीँ अलिकति निर्मम हुनैपर्ने रहेछ। भएँ म पनि।’

०००

११ वर्षकै उमेरदेखि हो, उनले कविता लेख्न थालेको। संरक्षण कविता आन्दोलनमा सक्रिय भइन्। गाउँगाउँमा पुगेर कविता लेख्ने र गाउँलेलाई सुनाउने यो गाउँमुखी आन्दोलनको आफ्नै प्रकारको औचित्य थियो। यो एक क्रियात्मक आन्दोलन पनि हो। उनलाई लाग्छ, भुइँमान्छेका कविता भुइँमान्छेसँगै बसेर लेख्ने र भुइँमान्छेहरूलाई नै सुनाउने यो एक पैताला आन्दोलन पनि हो। ‘उमेर र ऊर्जाको कारणले पनि आन्दोलनका संयोजक सरुभक्तकै काँध र पैतालाले अब यो आन्दोलनको भार थाम्न सक्दैन’, उनी भन्छिन्।

जसरी एउटा जंगलको सौन्दर्य भन्नु ठूला/अग्ला रुखहरूसँगै कहीँ कतै स–साना बुट्यान, झाडीहरू हुन्छन्, उसैगरी समकालीन कविताको जंगलमा सबै प्रजातिका कवि छन् र आ–आफ्ना खालका कविता लेखिरहेका छन्। सरस्वती भन्छिन्, ‘यहाँ रुख कविहरू पनि छन्। झार कविहरू पनि छन्। लहरा कविहरू पनि छन्। सबैभन्दा खतरनाक कुरा चाहिँ यहाँ वनमारा कविहरू पनि छन्।’

लेखेर लेखक हुनेभन्दा पनि लेखक हुनलाई लेख्नेहरूको एक प्रकारको बिगबिगी छ भन्ने उनलाई लागेको छ। कतिपय लेखकले मेहनत नै नगरिकन किताब निकाल्न हतार गरेको देख्दा उनी दिक्क मान्छिन्।

कविताबारे सामान्य टिप्पणी उठाए पनि ढुंगा हानिएको गोलोका अरिगांलझैं बिच्किन्छन्, कविहरू। ‘बागी सारंगी’ कवितासंग्रहकी कवि सरस्वतीको टिप्पणी छ, ‘कविहरूले के बुझ्नुपर्छ भने शब्दहरू थुपार्दैमा त्यो कविता हुँदैन। भाव चाहिँ थुपार्ने हो, कला र विचार थुपार्ने हो, त्यो पनि मात्रा मिलाएर। कलाको नाममा अनुहारमा अनुहारभन्दा बढी मेकअप र विचारको नाममा आफ्नो टाउकोको साइजभन्दा ठूला अरूका उप–टाउकोहरू बोकेर हिँड्नु कविहरूको स्वास्थ्यको लागि हानिकारक कुरा हुन्।’

भन्छिन्, ‘लेखन र आफू बाँचिरहेको जीवनबीच धेरै अन्तर हुनाले नै अहिलेको समयमा राम्रो साहित्य जन्मन सकिरहेको छैन। आडम्बर र ढोंग बाँच्नेले आडम्बरबाहेक अरु केही लेख्नै सक्दैन। आत्मविश्वासपूर्वक लेख्न पनि आत्मविश्वासपूर्वक बाँच्न जरुरी छ।’

सामाजिक सञ्जालमा हल्ला चल्यो, सरस्वती प्रतीक्षा ‘सिर्जनशील अराजकता’को चौथो सदस्य बनिन्। पहिचानको आन्दोलनमा पो लागिन् ! आफ्नो लेखन ‘सिर्जनशील अराजकता’को नजिक–नजिक रहे पनि आन्दोलनकै सदस्य भने नभइसकेको बताउँछिन्। बरु उनी आफूलाई ‘एक वामपन्थी लेखक हुँ’ भन्छिन्।

‘जबसम्म वामपन्थी लेखक हो वा होइन भन्ने कुरा पार्टीको सदस्यता लिएको छ, छैन भन्ने कुराले तय गर्छ, तबसम्म वामपन्थी लेखन आफ्नै रागले चाउरिएको मरिचजस्तै हुन्छ। समाज रूपान्तरणका ठूलाठूला कुरा गर्ने, तर, एउटा दलितले छुँदा सुनपानीले चोख्याउने प्रगतिवादीहरू रहेसम्म प्रगतिवादी साहित्य ढोंगबाट मुक्त हुनै सक्दैन।’ पहिचान आन्दोलनमाथि उनको बुझाइ यस्तो छ, ‘पहिचानको कुरा गर्दा कसैले देश विखण्डित हुन्छ भन्छ भने बुझ्नुपर्छ, उसमा मानसिक अपांगता छ।’

कविहरूलाई समाजले आरोप लाउँदै आइरहेको छ, ‘कविहरू अव्यावहारिक हुन्छन्।’ पोखरामा भएको लिटरेचर फेस्टिभलमा उदय प्रकाशले भनेका थिए, ‘कविहरू एकदमै दुःखी प्राणी हुन्। नभएका दुःखहरूसमेत कोट्याइकोट्याइ दुखेर बाँच्न मन पराउँछन्।’ सरस्वतीलाई उदयप्रकाशको यो टिप्पणी केही हदसम्म सत्य लाग्छ। जिन्दगीमा थ्रिल गराउने कुराको जरुरी भइरहन्छ कविलाई। अन्य केही कुरा भएनन् भने आफ्नै दुःख कोट्याएरै भए पनि थ्रिल भइरहनुपर्छ भन्छिन् उनी। ‘संवेदनशीलताको गाढापनसँग रमाउने बानी लागेका कारण पनि सानोतिनो संवेदनाको डोजले पुग्दै पुग्दैन कविहरूलाई। यस अर्थमा केही हदसम्म कविहरू अव्यावहारिक नै हुन्छन्।’ उनी पनि उस्तै मुडी छिन्, उस्तै तरंगित भइरहन मन पराउने स्वभावकी। भन्छिन्, ‘यस अर्थमा अलिअलि अव्यावहारिक त म पनि छु क्यार !’

०००

संवादका क्रममा म उनलाई धेरैको ‘ड्रिम गर्ल’ भनिदिन्छु। उनी चाहिँ आफूलाई ‘ड्रिम वुमन’ भन्न रुचाउँछिन्। ‘अझै पनि मन पराउँछु, प्रेम गर्छु भन्नेहरू धेरै भेटिन्छन्। सबैलाई तटस्थ भावले धन्यवाद भन्छु र आफ्नै लयमा बगिदिन्छु चुपचाप,’ उनी भन्छिन्। सोच्छिन्, सौन्दर्य मानसिक तथा शारीरिक दुवै प्रकारको हुन्छ। र, आफूलाई यी दुवै अर्थमा फिट राख्न सकभर प्रयास गर्छिन्। नियमित योगा र ध्यान गर्छिन्। खानपानमा पनि सकेसम्म सजगता अपनाउँछिन्। लङ स्कर्ट, लङ गाउन र साडी उनलाई मनपर्ने ड्रेस हुन्। सोसियल ड्रिंकर हुन् उनी। जमघट वा पार्टीहरूमा पिउँछिन्। रेड वाइन उनको रोजाइमा पर्छ। एकदमै गीत सुन्छिन्। पुराना हिन्दी तथा नेपाली गीत मन पर्छन्। उनको बानी कस्तो भने, एउटा गीत मन परेपछि वाक्क नहुने बेलासम्म सयौंपटक सुनिरहने। एकताका ‘सुन रे सियाराम’ निकै सुनिन्। आजकल कविता सेठका गीतहरू सुन्छिन्। फुर्सदमा आफैंसँग संवाद गर्छिन्।

रिसाउन खप्पिस छिन्। ठूलाठूला कुराहरूले भन्दा स–साना कुरामा रिसाइरहेकी हुन्छिन्। आफ्नो आग्रहको फ्रेमभन्दा अलि नमिल्दो केही हुनासाथ रिसाइहाल्ने। समाजको मनोविज्ञानसँग बढी रिस उठ्छ। अझै पनि स्वास्नीमान्छेलाई मान्छेको दर्जा दिन कन्जुस्याइँ गर्ने समाज देखेर रिस उठ्छ। ‘पाइला–पाइलामा समाजले निगरानी राख्छ। प्रेम होस् वा विवाहको नाममा देवी बनाएर घरको चार दिवारभित्र पुजेर राख्छु भन्ने पुरुष मनोविज्ञान अझै पनि हावी छ,’ उनी भन्छिन्।

जीवनमाथि उनको बुझाइ छ, ‘जीवन आफूले आफैंलाई कुँदेर मूर्ति बनाउने एउटा कठिन र रोमाञ्चक यात्रा रहेछ। आफूसँग कला छ भने यो सुन्दर बन्छ, छैन भने कुरूप।’ नेपाली महिलाको आँखाबाट संसार चिहाउँदा संसार एक अदालतजस्तो लाग्छ उनलाई। भन्छिन्, ‘तपाईंसँग केही भर्भराउँदा रहर र सपना छन् भने त यो अदालतले झनै कस्छ तपार्इंलाई र स्पष्टीकरण माग्छ। घरभित्र स्पष्टीकरण। घरबाट निस्कनासाथ छिमेकमा स्पष्टीकरण। छिमेकको सीमा काट्यो, बस्ती वा गाउँमा स्पष्टीकरण। अलिकति चर्चित हुनुहुन्छ भने देशले माग्छ स्पष्टीकरण। एउटी स्वास्नीमान्छेका लागि यहाँ पाइलैपिच्छे अदालत छन् र पाइलैपिच्छे स्पष्टीकरण दिनुपर्ने हाम्रा बाध्यताहरू।’

०००

प्रश्न उठ्न सक्छ, कवितामै जमिरहेकी सरस्वतीलाई उपन्यास किन लेख्नुपर्‍यो ! त्यो पनि मध्यपश्चिमको वादी समुदायमा आधारित। हो, नथिया मध्यपश्चिममा रहेको त्यो समुदायको कथा हो जहाँ छोरी भएर जन्मिनु नै देहव्यापारमा संलग्न हुन बाध्य हुनु हो। एउटा यस्तो घृणित संस्कार जसलाई वर्षौं समाजले, राज्यले कायम राखिराख्यो।

२०६४ भदौ ५ गते वादी महिलाहरू ब्रा र पेटिकोटमा सिंहदरबारअघि देखिए। ती महिलाले अर्धनग्न भएर निकालेको जुलुस र आक्रोशको समाचार देखेपछि उनले तत्काल निर्णय गरेकी थिइन्, ‘कुनै दिन आख्यान लेखेँ भने वादी महिलाकै कथामाथि हुनेछ।’

निर्णय पाँच वर्षसम्म छातीभित्रै जमेर बस्यो। त्यसबीचमा उनको छोरा जन्मियो। छोरा लगभग चार वर्ष पुगेपछि २०६९ फागुन २२ गते रुक्स्याक बोकेर उनी वादीको कथा बुझ्न वादी बस्तीतिर हिँडिन्। दाङको घोराही, बाँकेको नेपालगन्ज, दाङकै तुल्सीपुर, बर्दियाको राजापुर, कैलालीको सत्तीमा उनले उपन्यासको कन्टेन्ट भेटिन्।

‘नथिया’ लेखनमा उनले नदी बगाइको सूत्र प्रयोग गरेकी छिन्। ‘पोयटिक रियालिज्म’लाई आख्यानमा बुनेकी छिन्। भन्छिन्, ‘मेरो उपन्यासको कथा ९५ प्रतिशत सत्य घटनामा आधारित कथा हो।’

उनले सुनेका, भेटेका वादी महिलामध्येको सबैभन्दा चाखलाग्दो, डरलाग्दो र रोमाञ्चक कथा नै उपन्यासको मुख्य–प्लट बन्यो।

०००

जीवनमा आफूले खास केही गुमाएको छैन भन्छिन्। अस्तित्व हो सबैभन्दा ठूलो कुरा। आफ्नो अस्तित्व गुमाएकी छैनन्। पहिचान गुमाएकी छैनन्। ‘म जुन क्षेत्रमा छु, त्यो क्षेत्रमा हिँडिरहनका लागि चाहिने आफ्नो सामल र ऊर्जा गुमाएकी छैन। बस् यति भए अरू के चाहियो !’

उनका लागि स्मृति भनेका पुँजीजस्तै हुन्। भन्छिन्, ‘स्मृतिहरू आफ्नो खातामा डिपोजिट मनीजस्तै हुन्। जहिले मन लाग्यो, निकाल्यो। चलायो। कहिलेकाहीँ वर्तमान उराठ लाग्यो भने स्मृतिको पानाबाट बाहिर निकाल्यो र यसैमा रमायो।’

अब विवाहलाई लिएर उनीसँग कुनै मोह बाँकी छैनन्। त्यसैले फेरि विवाहको सम्भावना छँदै छैन रे। यो लामो जीवन बाँच्न प्रेम नै काफी छ, उनका लागि। पाउनैपर्छ भन्ने सर्तभन्दा धेरै माथि उठेको प्रेम, निःसर्त प्रेम। उनी त्यस्तै खालको प्रेममा छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.