नो मनी, नो हनी
मैले त्यो गल्ली पार गरेपछि सोचेँ, यतातिर नआएर उतातिर गएको भए कता पुग्थेँ होला ? बाटोहरू धेरै हुन्छन्। एउटा बाटो हिँडिसकेपछि अर्को बाटो छुट्छ। छुटेको बाटो कता पुग्थ्यो होला ? मनमा कहिलेकाहीँ युटोपिया बुन्न खोज्छु।
हेनेस्सी रोडको पल्लो गल्लीमा उसलाई पहिलोपल्ट भेटेको हुँ। आइतबारको रात लोकहार्ट रोडमा नीलो, रातो, गुलाबी, हरियो, पहेँलो नियोन लाइटहरू सडकको भुइँभरि घोप्टिएका थिए। मान्छेहरू रङ टेक्दै हिँडिरहेझैं लाग्थे। लाइभ ब्यान्डले बजाएको लाइभ कन्सर्टको आवाज घरिघरि बाहिर उछिट्टिएर आइपुग्थ्यो। चुम्बन गर्दै बटारिँदै हिँडिरहेका युवकयुवतीको भीडलाई नियाल्दै शिरीषको रूख छेउ उभिएर रमिता हेर्दै थिएँ म। यो लोकेसनमा पुगेपछि म एकैचोटि पारिजात र इन्द्रबहादुर राईलाई सम्झिन पुग्छु।
अलि पर क्लब हाउसको ढोकाबाट उनले बोलाइन्। म गएँ। युवतीका चम्किला अनुहारहरूले पर्दाभित्रबाट चियाइरहेका थिए।
‘कति लिन्छौ ? ’ मैले सोधेँ। यो गल्लीमा आउने हरेक पुरुषले सोध्ने पहिलो प्रश्न नै यही हो।
‘हजार’, उनले मेरो हात समात्दै भनिन्।
‘नाम ? ’
‘फ्लोरा।’
मैले उसको अनुहारमा हेरेँ। अनुहारको एक पत्र खोतलेँ। फ्लोरा फूलजस्ती थिइनन्। नयाँ ब्लेडजस्तो नजर उसका, ‘क्लियोपेट्रा’को झल्को आउँथ्यो मनमा।
उनले मेरो हात झट्कार्दै भनिन्, ‘हनी, अनुहारमा के छ ? जे छ यहाँ छ।’ उनले छाती थिल्थिल् हल्लाएर देखाइन्। प्रचलित पुरुष सौन्दर्यशास्त्रमा ती गोलो र मिलेका थिए। महादेव नै मोहित भएर वीर्य स्खलन गर्ने मोहिनीको रूप थियो उनको। मोहिनीसित यौनसम्पर्क गर्न महादेव हात धोएर लागेका थिए उहिले। अन्ततः हार खाएर मोहिनीको रूप लिएका विष्णु प्रकट भएका थिए। तथापि मोहिनीको रूप लिन विष्णुलाई अनुनयविनय गरेका थिए महादेवले। फ्लोरालाई हेर्दा मोहिनीको रूप पनि सम्झिन पुगेँ। मतलब मिथकहरू जागेर आउने बाहिरी रूप उनको।
विश्वास थियो, कथा अनुहारमा हुन्छ। आँखामा हुन्छ। कस्मेटिकले छोपेको अनुहारमा कथा देखिनँ। सोचेँ कोठामा लगेर पखाल्न लगाउँछु कस्मेटिक्सको बाक्लो लेपन। सग्लो अनुहारमा नै मान्छे सुन्दर हुन्छ, मलाई यस्तै लाग्छ।
उनलाई पछ्याउँदै म लजको पच्चीसौं तला पुगेँ। कोठामा पुगेर उनी एकपल्ट दाहिने खुट्टा दोबारेर देब्रे खुट्टाले फन्न घुमिन्। मलाई चुम्बन गरिन्, सानो हेन्डब्याग ऐनाको अगाडि काठको होचो दराजमा फ्याँकिन् र ओछ्यानमा पल्टेर पैसा निकाल्ने इशारा गरिन्। मलाई फिलिमको कुनै दृश्यमा छिरेझैं अनुभूति भयो। शरम पनि लागेझैं भयो।
‘नुहाऊ पहिले’, मैले भनेँ।
‘नो मनी, नो हनी, पैसा देऊ पहिले’, उनले भनिन्।
‘मसित पैसा छैन’, मैले भनेँ।
उनले सानो झोला ऐनाको अगाडिबाट तानिन् र ढोकातिर बढ्न लागिन्। ‘धोकेबाज ! मेरो समय खेर गयो।’ घृणामा डुबाइएको तीर उसका आँखाबाट छुटिरहेका थिए।
मैले उसलाई रोक्दै भनेँ, ‘हेर, मसँग क्यास छैन। अहिले काम तमाम गरेर सँगै एटीएम मेसिनमा जाम्ला र झिकेर दिम्ला, विश्वास गर।’
उसको हाँसोले भनिरहेको थियो, ‘म वस्तु होइन, मान्छे हो। म बिक्रीमा छैन।’ मलाई लाग्यो, उसलाई पनि प्रेम गर्ने अधिकार छ।
उनले मेरो अनुहार हेरिन्। केही सेकेन्ड सोचिन् र फर्किंदै भनिन्, ‘दुई सय डलर एक्स्ट्रा लाग्छ।’
उनले मलाई तानेर बाथरुममा लगिन्। दुवैजनाले मनतातो पानीले जीउ पखाल्यौं। उनले आफ्नो योनी र मेरो लिंग स्याम्पोले धोइन्। उनले योनीको रौं खौरिएकी थिइन् र दाहिनेतिर रातो गुलाफको ट्याटु खोपेकी थिइन्।
‘त्यहाँ ट्याटु खोप्दा दुखेन ? ’ मैले सोधेँ।
‘दुख्यो’, उनले भनिन्।
‘अनि किन खोपेको त ? ’ मैले सोधेँ।
‘मलाई मेरो पहिलो बोइफ्रेन्डले धोका दियो। त्यो पीडा भुल्न मेरो एकजना साथीले ट्याटु खोप्ने जुक्ति दिएकी थिइन्’, उनले ट्याटुको लघुकथा सुनाइन्।
टावलले उनले आफ्नो शरीर र मेरो शरीर पुछिन्। हामी आरामले ओछ्यानमा पल्टियौं।
मैले सोधेँ, ‘तिमीले किन अनुहार नपखालेकी ? ’
‘मसँग फेरि मेकअप गर्ने समय छैन र पैसा पनि। के तिमीलाई थाहा छ, मेकअप गर्न कति पैसा लाग्छ ? के तिमी मात्रै हो र मैले सुत्नुपर्ने ? ल अब छिटो गर। समय खेर फाल्ने समय छैन मसँग।’ यति भन्दै फ्लोरा हतार गर्न थालिन्।
मैले भनेँ, ‘मलाई कथा चाहिएको छ। त्यसैले म तिमीकहाँ आएको हुँ।’ उनले भनिन्, ‘म कथा सुनाउन तिमीसँग आएको होइन। मलाई पैसा चाहिएको छ। त्यसैले म तिमीसँग आएकी हुँ।’
‘म तिमीलाई एक्स्ट्रा पैसा दिन्छु नि।’
उनले आफ्नो हात मबाट हटाउँदै भनिन्, ‘तिमीजस्तो भावुक मान्छे कति आउँछन् मसँग सुत्न। सबैलाई कथा सुनाउँदै हिँडेँ भने मेरो बोसले मलाई भोलि नै थाइल्यान्ड धपाउँछ।’
‘किन ? ’ सोधेँ मैले।
‘म ६ महिनाको भिसामा आएकी हुँ। ६ महिना काम गरेर थाइल्यान्ड फर्किने। छिटो गर, नत्र म हिँडेँ।’
०००
अर्को दिन फेरि म फ्लोरालाई खोज्दै क्लब हाउस पुगेँ। ऐनाको ब्याकड्रप भएको त्यहाँ एउटा स्टेज थियो, जहाँ चारपाँचजना अर्धनग्न युवतीहरू स्टिलको पोल समातेर लहराइरहेका थिए। फ्लोरा पनि स्टेजमै थिइन्।
मेरो सेवामा उपस्थित अधबैंसे महिलालाई भनेँ, ‘म ऊ त्यो ठूलो आँखा भएकी युवतीसित बस्न चाहन्छु।’ फ्लोरा मेरो छेउमा आएर बसिन्। मैले बियर पिएँ, उनले वाइन। हामी फेरि लजको कोठामा आयौं।
उनले भनिन्, ‘मलाई यस्तो काम मन पर्दैन।’
‘मलाई पनि मन पर्दैन’, मैले भनेँ।
‘अनि किन आएको त ? ’ उनले सोधिन्।
‘म महान् लेखक बन्न चाहन्छु। कथा खोज्न आएको’, मैले भनेँ।
‘यहाँ कथा भेट्दैनौं। यो बजारमा सबै झुटा हुन्छन्। कथा चाहियो भने कसैसँग प्रेम गर।’
‘तिमी र म प्रेम गरौं न’, मैले प्रस्ताव राखेँ।
‘तिमीजस्तो सोझो मान्छे जीवनमा पहिलोपटक भेट्दैछु। कस्सम !’ फ्लोरा खित्खिताएर हाँसिन्। उसको हाँसोमा एउटा निश्चलता थियो, अभिनय थिएन। उसको हाँसोले भनिरहेको थियो, ‘म वस्तु होइन, मान्छे हो। म बिक्रीमा छैन।’ मलाई लाग्यो, उसलाई पनि प्रेम गर्ने अधिकार छ।
मैले भनेँ, ‘साँचो कुरा हो, तिमी र म प्रेम गरौं।’
‘तिमीलाई महँगो पर्छ। हरेक रात मलाई हजार डलर तिर्न सक्छौ ? अनि के तिमी सिंगल हौ ? ’ उनले सोधिन्।
‘हनी ! म सिंगल हो नि’, मैले भनेँ।
‘म त सिंगल होइन। मेरो हब्बी छन् बैंककमा। छोरी छिन् पाँच वर्षकी। ६ महिना कमाएको पैसाले म सलुन खोल्नेछु बैंककमा र यस्तो काम फेरि गर्दिनँ।’
‘कति वर्ष पुग्यौ ? ’
‘बाइस पुगेँ।’
‘अनि कति चाँडै बिहे गरेकी त ? ’
‘पहिलो बोइफ्रेन्डलाई देखाउन बिहे गरेँ। मैले बिहे गरेपछि त्यसले आत्महत्या ग¥यो। उसलाई अर्को केटीले धोका दिएछ। त्यसपछि मसँग फर्केर आउन खोज्दै थियो। मेरो मन फर्केन। मैले बिहे गरेँ। उसले अठार तला माथिबाट हामफाल्यो।’
‘तिम्रो श्रीमान्ले तिमीलाई किन यस्तो काम गर्न पठाएको ? ’
‘मेरो श्रीमान्लाई थाहा छैन। क्लबमा वेट्रेसको काम गर्न भनेर भिसा लिएको हो। मलाई पनि यहीँ आएपछि मात्रै थाहा भयो। फर्कन चाहेँ तर पैसा थिएन।’
‘कति महिना भो ? ’
‘तीन महिना।’
त्यो दिनदेखि म लोकहार्ट रोड जान छोडेँ। कथाको खोज टुंगियो। दुई हप्तापछि मोबाइलमा मेसेज आयो, ‘स्विटहार्ट मिसिङ यु। आऊ न, मलाई भेट्न।’ मैले जवाफ लेखिनँ। सोचेँ, यौन बजारको म ग्राहक होइन।
हिजोआज त्यो बाटो भएर आउँदाजाँदा रातो गुलाफको ट्याटुलाई बसभित्रबाट हेरिपठाउँछु। त्यो क्लब हाउस त्यहीँ छ। फ्लोरा यही गल्लीमा छ कि बैंककमा सलुन खोलेर बसेकी छन् ? यो प्रश्नको उत्तर खोज्न निस्कूँझैं लाग्छ। तर फेरि त्यो बाटो हिँड्ने मन छैन। महान् लेखक हुने रहर मरिसक्यो।
जब ‘नो मनी नो हनी’को नारा बोकेर रातभरि जुलुसमा हिँड्छ यो सहर, तब म सम्झिने गर्छु, ओसामा बिन लादेनले अमेरिकालाई लेखेको पत्र, ‘तिमी यस्तो राष्ट्र हौ, जसले महिलालाई उपभोग्य वस्तु बनाएर शोषण गर्छौ। तिमीले यौनका सबै प्रकारलाई प्रत्यक्ष अप्रत्यक्ष व्यापारका रूपमा प्रयोग गर्छौ। विश्वमा एड्स फैलाउने तिमी हौ, तिमी।’