चुमको सहारा

चुमको सहारा

बाँचुञ्जेल टीकाटिप्पणी, आलोचना खेपिरहेका जो कोही जब संसारबाट बिदा हुन्छन्, अनि तिनको गुनगानको चर्चा सुरु हुन्छ। चुम उपत्यकाका साङ्गे दोर्जे यस मानेमा अपवाद रहे, जसको बाँचुञ्जेल नै प्रशंसा भयो। यथेष्ट मानसम्मान, सत्कार भयो। हालै संसारबाट महायात्रा सुरु गरे, यो बेला झन् प्रशंसा बढ्न थालेको छ।

अग्लो र छरितो कद, आर्यको झैं लामो नाक, फराक निधार, लामालामा सेतै दाह्रीजुँगा, सेतै कपाल र आँखामा पावरवाला चस्मा लगाएका सय वर्ष हाराहारी उमेर पुगेका व्यक्तिको तस्बिरले अहिले चुम्बाहरूको सामाजिक सञ्जाल भरिएको छ। तस्बिरमा नेपाली, अंग्रेजी र कसैले तिब्बती भाषामा श्रद्धाका भाव पोखेका छन्। असल अभिभावक गुमाएको, चुम भ्याली रित्तो महसुस भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।

साङ्गेदोर्जे, जसले सिङ्गो किमोलुङलाई शान्तिको अनुभूति गर्ने स्थल बनाउन अहोरात्र पसिना बगाए। स्याक्या संस्कृतिलाई मलजल गरेर हुर्काए। एउटा अन्धकार चुम उपत्यकामा पहिलो पटक विद्यालय खोलेर शिक्षाको ज्योति बाले। चुमको १३ गाउँ चुमछोचुक्सुमलाई छेकम्पार नामकरण गरे। छेकम र पारो भन्ने दुई गाउँको नाम मिलाएर साङ्गेले छेकम्पार नामांकन गरेको तथ्य कथं चुम्बाले भुलेछन् भने पनि त्यहाँको गणेश हिमालले कहिल्यै भुल्ने छैन।

‘६ वर्ष लामो प्रयास गरेर २०२४ सालमा चुम उपत्यकामा नै पहिलो स्कुल वुद्ध प्रावि स्थापना गर्ने उहाँ नै हो’ चुमकल्याण समितिका अध्यक्ष निमा लामा सम्झन्छन्। भोटेहरू लेखपढ गर्न जान्दैनन्। नेपाली भाषा बोल्न पनि जान्दैनन्। त्यसैले तल्लो भेगकाले हेप्छन् भनेर साङ्गेले सधैं लेखपढ गर्न जागरुक गराउथे।

साङ्गेदोर्जे आफैं अनपढ थिए तर उनको पहुँच राजसभासम्म थियो। २०३३ सालमा उनले तत्कालीन राजा वीरेन्द्रलाई छेकम्पार पुर्‍याए। ‘पुसको १४ गते देशभरि धूमधामले राजाको जन्मोत्सव मनाउने चलन थियो। तर उहाँले राजालाई १३ गते छेकम्पारको राजेन गुम्बामा लिएर जानुभयो,’ निमा उनको अद्भुत कामको तारिफ गर्छन्, ‘राजासँग इलाका हुलाक, स्वास्थ्यचौकी, सीमा प्रहरी कार्यालय, एयरपोर्ट र चार जना चुम्बालाई सिद्धार्थ वनस्थलीमा पढाउन छात्रवृत्ति माग गर्नुभयो। एयरपोर्टबाहेक सबै माग पूरा भयो।’

भोटेहरू लेखपढ गर्न जान्दैनन्। नेपाली भाषा बोल्न पनि जान्दैनन्। त्यसैले तल्लो भेगकाले हेप्छन् भनेर साङ्गे भोटेहरू लेखपढ गर्न सधैं जागरुक गराउँथे।

राजाको हुकुमले छिरिङ फुन्जो, लोप्साङ, पेमा वाङ्दा र फिन्जो लामाले सिद्धार्थ वनस्थलीमा छात्रवृत्ति पाएर पढे। छिरिङफुन्जो स्वास्थ्य सहायक (एचए) भए, लोप्साङ हुलाकका कर्मचारी बने। अरू दुईले आठ कक्षा पढेर छाडे।श्रृंगी हिमाल आसपासको चुम र नुब्री उपत्यकालाई किमोलुङ भनिन्छ। किमोलुङलाई बुद्ध धर्मावलम्बीले शान्तिको सास फेर्ने ठाउँको रूपमा लिन्छन्। यही मर्मलाई सबैमा पुर्‍याई काटमार बन्द गराउन साङ्गे अहोरात्र खटिने गर्थे। बुद्धका पाँचशीलमध्येको महŒवपूर्ण शिल भनेको अहिंसा हो। किमोलुङमा, त्यसमा पनि विशेषगरी चुममा स्याक्या (अहिंसा) को शिल जीवित छ।

‘चुममा स्याक्या परम्परा छ। त्यो भनेको काटमार नहुने (अहिंसा) परम्परा हो,’ स्थानीय आर्किटेक इन्जिनियर सोनाम लामा भन्छन्, ‘यसको उठान त सयौं वर्षअघिदेखि भएको हो तर निरन्तरता दिन सधैं पैरवी गर्ने उहाँ नै हो। त्यसैले त अहिले चुममा नाउर, झारल, घोरल, डाँफे, मुनाल, हिउँचितुवा, रतुवा, मिर्ग, वनकुखुराले शान्तिको सास फेरेका छन्। बिना डर, त्रास बाँचिरहेका छन्।’ चुम उपत्यकालाई अहिंसाको जीवित संग्रहालय बनाइराख्नमा साङ्गेको योगदानका बारेमा सबैले खुलेर बोल्न सक्छन्।

उनी तत्कालीन केरौंजा गाउँ पञ्चायत वडा नं. ९ को २०१८ सालको वडाध्यक्ष हुन्। पछि छेकम्पार गाउँ पञ्चायत भएपछिको अध्यक्ष पनि हुन्। बहुदल आएपछि २०५४ सालमा निमा लामा गाविस अध्यक्ष भए, उनी उपाध्यक्ष भएर पनि काम गरे। ‘उहाँमा सामाजिक भाव कतिसम्म थियो भने राजाले चारजना बच्चा सिद्धार्थ वनस्थलीमा छात्रवृत्ति हुकुम हुँदा उहाँले आफ्नो छोराको नाम सिफारिस गर्न सक्नुहुन्थ्यो, तर आलोचना हुने ठानेर अरूहरूको मात्र नाम सिफारिस गर्नुभयो,’ उनै निमा सम्झन्छन्। साङ्गेका एक छोरा जकार रिम्पोछे अवतारी लामा बनेका छन्।

साङ्गे बालबच्चा पढाउन स्कुल पठाउन भन्दै घरघरै हिँड्थे। सबै गाउँलेहरू याक, चौरी, झोपा चराउन चरन, खर्कहरूमा हिँड्थे। तर उनमा यो भावना जागृत हुनुमा इन्जिनियर सोनाम अहिले अचम्म मान्छन्। ‘एउटा अन्धकार गाउँमा एकजना, जो आफैं अनपढ छ, उ उठेर दिशानिर्देश गर्न सक्ने क्षमता कसरी आयो होला ? दैवी शक्ति भनुँ कि के भनुँ ? ’ सोनाम भन्छन्, ‘हाम्रो गाउँ पुग्न गोरखा सदरमुकामबाट पाँच दिन पैदल हिँड्नुपर्छ। त्यति दुर्गम गाउँमा शिक्षाको क्षेत्रमा स्कुल स्थापना गर्नुभयो। अहिले हरेक चुम्बाहरू जो जहाँ भए पनि सिरानी त्यही बुद्ध प्रावि हो।’

तिब्बती सिमानामा बस्ने साङ्गे हप्ता दिन पैदल हिँडेर जिल्ला, राजधानी धाउँदा कैयौं दोचा, बख्खु खियाए। जिल्लाका सभापतिदेखि नेता, सांसद, प्रमुख प्रशासकसम्म सम्बन्ध बढाए। त्यसकै परिणाम हो, अहिले उनको महागमनमा चुमवासीले टुहुरो महसुस गरेका छन्। ‘चुम सुनसान भएको जस्तो लागेको छ,’ निमा भन्छन्।

एघारौं पुस्ताअघि उनका पुर्खा लमजुङबाट चुम उपत्यका पसेको कथन छ। न्यौपाने थरका उनका पुर्खा शदीयौं लामा समुदायमा बसेर घुलमिल भएपछि लामा नै बन्न पुगेको चर्चा छ। तर पुर्खाको विवरण खुलाउन भने यो पुस्ताले सक्दैनन्।

२०१८ सालदेखि चुम्बाको अविराम सेवा गरेका साङ्गेले यही माघ ७ गते ९४ वर्षको उमेरमा वि श्राम लिए। स्वयम्भूमा लामा परम्पराअनुसार अन्तिम संस्कार गर्दा मुस्ताङ, मनाङ, गोरखा, रसुवादेखिका रिम्पोछे तथा सर्वसाधारण सहभागी भएर गाइरहे : ओम मणिपद्मे हुम्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.