होङ्दे : आइस क्लाइम्बिङको नयाँ गन्तव्य
अन्नपूर्ण हिमशृंखला हुँदै बगेका १५ भन्दा बढी झरनाहरूमा आइस क्लाइम्बिङ गर्दाको मज्जा व्याख्या गरेर सकिन्न। मंसिरको अन्तिमदेखि फागुनको सुरुवातसम्म यी झरना जमेर आइस बन्छ र प्रशस्त मात्रामा क्लाइम्बिङ अवसर मिल्छ।
स्वदेशी या विदेशी आरोहीहरू हिमाल जानुअघि पूर्वतयारी गर्न र आइस क्लाइम्बिङको आधारभूत, एड्भान्स तालिम गर्न मनाङको ‘होङ्दे’ अन्यन्तै उपयुक्त गन्तव्य हो। काठमाडौंदेखि एक दिनको गाडी यात्रामा पुगिने ‘होङ्दे’ आइस नदेख्नेलाई क्लाइम्बिङ गर्न सस्तो, प्रभावकारी र उपयुक्त गन्तव्य भएको राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक विनायक जय मल्ल बताउँछन्।
मल्ललगायत राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक नरबहादुर आस्थानी, अनुप गुरुङ र अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक प्रेमबहादुर गुरुङको चार वर्षको अथक प्रयासपछि ‘होङ्दे’ क्षेत्रमा आइस क्लाइम्बिङको नयाँ गन्तव्य बनेको हो।
मनाङको ‘होङ्दे’ ३२०० मिटर उचाइमा पर्छ। काठमाडौंदेखि सबैभन्दा नजिक पुगेर आइस क्लाइम्बिङ गर्न सकिने ठाउँ हो होङ्दे। यहाँ अन्नपूर्ण २ र ३ हिमालबाट बगेर आएका झरना जम्ने गर्छ। क्लाइम्बिङका लागि तीनदेखि पाँच तहको स्तर भएकाले आधारभूत क्लाइम्बरका लागि कठिन भए पनि व्यावसायिक क्लाइम्बरका लागि अति प्रभावकारी हुन्छ।
बेसिक र एडभान्स पर्वतारोहण तालिमदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक बन्नसमेत आइस क्लाइम्बिङ अनिवार्य छ। भौगोलिक रूपमा कठिन हुने भएकाले नेपालमा आइस क्लाइम्बिङ गर्न विदेशी पर्यटकहरू बढी रुचाउने गरेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा बताउँछन्।
एडभेन्चर खेलको सूचीमा रहेको आइस क्लाइम्बिङप्रति पछिल्लो समय नेपालीहरूको समेत आकर्षण बढ्दै गएको छ। होङ्दे क्षेत्रको तापक्रम न्यूनतम माइनस २० देखि ५ डिग्री सेल्सियससम्म हुने गर्छ। काठमाडौं बेसीसहर हुँदै हुम्देसम्म एक दिनको गाडी यात्रामा पुगिन्छ। मानवबस्ती नै भएकाले रेस्क्यु, आवास र खानका लागि आइस क्लाइम्बिङ उपयुक्त भएको माया लज होङ्देका प्रमुख कमल गुरुङ बताउँछन्।
आइस क्लाइम्बिङका लागि हिउँ बन्चरो, क्रम्पन, डोरी, जुत्ता र हेल्मेटजस्ता सामान चाहिन्छ। आइस क्लाइम्बिङ लिड, मल्टिपिच, मिक्स गरी तीन प्रकारले गरिन्छ। हाल सोलुखुम्बुको कोङ्दे, दोलखाको गौरीशंकर क्षेत्रलगायतमा आइस क्लाइम्बिङ गरिँदै आएको छ। पर्वतारोहण क्षेत्रमा काम गर्नेका लागि आइस क्लाइम्बिङ महत्वपूर्ण र अनिवार्य पक्ष हो।
फोटोहरू : विनायक जय मल्ल र अनुप गुरुङ