ज्येष्ठ सदस्यको संसद्‍ यात्रा

ज्येष्ठ सदस्यको संसद्‍ यात्रा

बुटवल : ८० वर्ष उमेर पार र संसद् भवनको यात्रा एकै दिन। रुपन्देहीका बलदेव शर्मा पोखरेलका लागि यो क्षण संयोग मात्रै होइन, राजनीतिक जीवनमा ऐतिहासिक पनि सफलता हो। जसले माघ २० गते ८० वर्ष उमेर पार गर्दैछन् भने २१ गते प्रदेश ५ को पहिलो संसद् बैठकको अध्यक्षता पनि गर्नेछन्। ०११ सालदेखि कांग्रेस राजनीतिमा होमिएका शर्मा समानुपातिक सूचीबाट प्रदेशसभा संसद् चुनिएका हुन्। उनी प्रदेश ५ को मात्रै होइन प्रदेशसभाका ५ सय ५० जनामध्येकै ज्येष्ठ सदस्य हुन्।

यस्तो अवसर र संयोगको कल्पना शर्माले सायदै गरेका थिए। जीवनको उत्तराद्र्धमा उनलाई यो ऐतिहासिक अवसर जुर्‍यो। बिपीको चेला बनेर ०१४ सालमै विद्यार्थी राजनीतिमा होमिएका शर्माले पार्टीमा त्यस्तो कुनै उचाइको पद पाएनन् तापनि निरन्तर क्रियाशील रहे। प्युठानमा ०९४ सालमा जन्मिएका शर्मा नागरिकताको उमेरमा भने ८९ वर्षीया हुन्। ‘उत्तरमध्यमा परीक्षा दिने बेला उमेर ०९५ साल लेखियो, नागरिकतामा पनि त्यही भयो’, उनले मुस्काउँदै भने, ‘भोलि (शनिबार) रातिदेखि ८१ वर्षमा लाग्छु।’

आफूले केही पाउन राजनीति नगरेको शर्माको भनाइ छ। ‘क्याम्पस पढ्दा दुई जना कम्युनिस्ट साथी थिए। उनीहरूको व्यवहारकै कारण म कांग्रेसतिर धकेलिएँ’, उनले भने। सादा जीवन, इमानदार छविले ढाकिएका शर्मालाई विश्वास लाग्छ, काम गरेपछि फल अवश्य मिल्छ। प्रदेशसभा संसद् बन्छु भन्ने संकेत उनले चुनावअघि नै पाइसकेका थिए। ‘भैरहवामा भएको कार्यक्रममा बालकृष्ण खाँणजीले पुरुषबाट कोही प्रदेश सांसदमा छानिए बलदेव दाई नै हो भनेर घोषणा गर्नुभएको थियो’, उनले सम्झे।

कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा खेमामा थिए। ०२१ सालमा रुपन्देहीको टिकुलीगढ झरेका उनीसहितका सात जनाले कांग्रेस पार्टीको पहिलो संगठन बनाएका थिए। संस्थापक सचिव रहेका उनी ०३८ सालसम्म सोही जिम्मेवारीमा रहेर काम गरे। पार्टीको जुनसुकै तहमा बसेर पनि काम गर्न सकिन्छ भन्ने उनलाई विश्वास छ। पछि वडा सभापतिमा रहेर काम गर्न पनि पछि परेनन्। राजनीतिक उत्तारचढाव र जेलयात्राका अनुभव समेत उनीसँग छ। ०१७ सालमा उनी तीन वर्ष नेपालगन्ज जेल बसेका थिए।

‘पशुपतिनाथले नेपालमा एउटा राजनेता जन्माउने कृपा गरुन्’

०१५ सालको निर्वाचनमा गुल्मी र प्युठानको चुनाव परिचालन कमिटीमा खटिएका थिए उनी। जतिबेला गुल्मी अर्घाखाँची र रोल्पा प्युठान विभाजित भएको थिएन। पार्टीको काममा निरन्तर खटिरहेकै कारण उनी पार्टी केन्द्रको केन्द्रीय सल्लाहकार सदस्यसम्म भए। जिल्लाको उपसभापति हुने चरणमै थिए, पार्टी एकीकरण भयो, उनी वडा तहमा खुम्चिए।

माघ २१ गते हुने संसद् बैठकको तयारीमा जुटेका उनलाई अबको पाँच वर्षभित्र धेरै काम गर्न सकिन्छ भन्ने विश्वास छ। ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रजस्ता नाम मात्रै फेरेर हुँदैन’, उनी थप्छन्, ‘राष्ट्र, राष्ट्रियताका विषयमा सचेत हुनुपर्छ। देशलाई आत्मनिर्भर बनाउनुपर्छ।’ नेपालमा पर्यटन, कृषि, उद्योगको विकास अपरिहार्य रहेको उनको भनाइ छ। ‘अझै ५÷७ वर्ष मज्जाले काम गर्न सक्छु’, उनी निर्धक्क भन्छन्।

राजनीतिक दल नसुध्रिएकै कारण देशपछि परेको उनको जिकिर छ। कुनै पनि दलले इमानदारी देखाउन नसकेको उनको ठम्याइ छ। देशमा राजनेता कोही भएनन्, यही कुराले उनलाई पिरोलिरहन्छ। ‘न कांग्रेस, न अरू पार्टी नेता खोइ ? ’, उनको प्रश्न छ, ‘सधै आफ्नो स्वार्थमा हिँडेर देश कहिले बन्छ ? ’ अहिले झन् अपराधी भनेर तोकिएका, भ्रष्टाचारमा मुछिएकालाई पार्टी र संसद्मा भित्र्याउन थालेको उनको आरोप छ। ‘यस्तो गतिले कसरी देश सुध्रिन्छ’, उनको प्रश्न छ।

माघ ७ मा शपथ खाएपछि उनी सभामुखको भूमिकामा छन्। सरकारी गाडीमा हिँड्छन्। सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन्। यी सबै उनको जीवनका नौला अनुभव हुन्। तर, उनी नित्य छाड्दैनन्। ‘बिहानै उठ्छु, गाई दुहुन्छु, गोठल्याई गरेर बाहिर निस्किन्छु’, उनले भने। सभामुख भूमिकामा रहेका उनी अहिले पनि गाई गोठ धाउन छाडेका छैनन्। दुई वटा गाई छन्। बिहानको काम उनी आफैं उम्काउँछन्। ‘यही नित्यकर्मले त निरोगी भएर बाँचेको छु’, उनले तन्दुरुस्तीको रहस्य खुलाए। बुढ्यौलीमा संसद् बनेका उनमा एउटै चिन्ता छ, राष्ट्र र राष्ट्रियताको। उनी पशुपति नाथलाई पुकार्दै भन्छन्, ‘हाम्रा देशका नेतालाई राष्ट्रप्रति काम गर्न पशुपतिनाथले प्रेरित गरुन्।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.