राज्याभिषेकको सकस
राजा वीरन्द्रको राज्याभिषेक नेपालको इतिहासमै सम्पन्न भएको कुनै पनि राजा महाराजाको अन्तिम राज्याभिषेक थियो। वि.सं. २०३१ साल फागुन १२ गते भएको उक्त राज्याभिषेक तत्कालीन नेपालको लागि त एउटा ठूलै उत्सव नै थियो भन्दा फरक नहोला। तर त्यही राज्याभिषेक महाउत्सवले नयाँसडक छेवैमा घर बनाउँदै गरेका एकजना स्थानीयवासीको निँद भने हराम गरिदिएको थियो। राजाको राज्याभिषेकका कारण राति निद्रै नपर्ने गरी तनावमा पर्नुभएका ती सोझा मनुवा थिए स्थानीय निवासी हरिप्रसाद मानन्धर। मेरा काका।
घटना सानै थियो। पीपलबोटको सामुन्ने रहेको आफ्नो पुख्र्यौली जग्गामा उहाँ घर बनाउँदै हुनुहुन्थ्यो। पुसको जाडो याम। काम गर्ने ज्यामीको अभाव थियो। त्यसमाथि बजारमा सिमेन्टको हाहाकार। तीन तल्ला घर बनाउने उहाँको विचार। एक तल्ला नपुग्दै उहाँमाथि राज्याभिषेकको मार बज्रियो।
एकदिन दिउँसो घर बनाइरहेकै ठाउँमा उहाँ निरीक्षण गर्दै हुनुहुन्थ्यो। दुई तीन जना प्रहरी आएर डकर्मीलाई सोधे, ‘ओए, यो घर कसको हो हँ ? ’
काका अगाडि नै हुनुहुन्थ्यो। ‘मेरो हो हजुर’ उहाँले जवाफ दिनुभयो।
‘ल तुरुन्तै जनसेवा (प्रहरी कार्यालय) जानुपर्यो। तपाईंलाई बोलाएको छ।’ प्रहरीले भने।
काकाको तालु ठण्डा भयो। ‘किन हजुर ? ’ यति सोध्ने साहस चाहिँ उहाँले निकाल्नुभयो।
‘खोइ थाहा छैन। आदेश छ।’ पञ्चायतको समय। यति भने पछि पुग्यो।
काका उनीहरूको पछि लाग्दै जनसेवा पुग्नुभयो। चौकी पुग्नेबित्तिकै प्रहरी इन्चार्जले आदेश दिए, ‘ल यसलाई अञ्चलाधीश कार्यालय लिएर जाऊ।’
काकाको तालुको ठण्डा पूरा जिउभरि फैलियो। यो हुँदैछ के उहाँले बुझ्नै पनि सकिरहनुभएको थिएन। रानीपोखरी छेवैमा रहेको अञ्चलाधीश कार्यालय लगियो। राजाको राज्याभिषेक कार्यक्रमको सम्पूर्ण तयारी त्यहींबाट भइरहेको रहेछ। उहाँलाई देख्नेबित्तिकै एउटा हाकिमले झम्टिहाले, ‘के गर्या यो ? राज्याभिषेकको टाइममा घर बनाउने ?’
काका ट्वाँ पर्नुभयो। राजाको राज्याभिषेकसँग आफ्नो घरको कनेक्सन कहाँनेर छ उहाँले ठम्याउन सक्नुभएन। ‘के भयो हजुर ? ’ उहाँले यत्ति मात्रै बोल्न सक्नुभयो।
राज्याभिषेक टाउकैमा आइसक्यो। अन्तमा एउटा उपाय निकालियो। घरको छतमा अर्को तल्ला थप्न ठड्याइसकेको डन्डी सबै नदेखिने गरी बंग्याउने।
हाकिमको दोस्रो झम्टाइ आयो, ‘अझ के भयो रे ! राजाको राज्याभिषेक हुँदैछ, तिमी चाहिँ यसरी घर बनाउँदै गर्दा नगरको शोभा कहाँ जान्छ ? ल यो घर चाँडो सक्याएर पूरा रंगरोगनसमेत गर्नुपर्यो।’
बजारमा सिमेन्ट किन्न पाइरहेको छैन, त्यसै पनि टेन्सन। यता फेरि थपियो अर्को टेन्सन। उहाँले नबोले पनि मुखबाट च्वाट्टै आइहाल्यो, ‘खोइ हजुर बजारमा सिमेन्ट किन्न पाइरहेको छैन, कसरी सकाउनु चाँडै ? ’
‘सिमेन्ट छैन रे ? कति बोरा चाहिन्छ सिमेन्ट ? ’ हाकिम गर्जियो।
‘५० बोरा जति जति चाहिन्छ होला हजुर।’ काकाले अन्दाज लगाउनुभयो।
‘ल, यो कुपन लिएर जाऊ। नेसनल ट्रेडिङबाट ५० बोरा सिमेन्ट किनेर लानू।’ हालै खारेज भएको नेसनल ट्रेडिङ लिमिटेड त्यतिबेला यस्तै बाहिरबाट सामान आयात गरेर बेच्ने सरकारी कम्पनी थियो।
हाँ ? काका चकित पर्नुभयो। यो त नसोचेको घटना पो हुन गयो। बजारमा पाँच बोरा सिमेन्ट पाउन पनि गाह्रो भइरहेको बेला ५० बोराको कुपन हात पर्दैछ।
लुगलुग काम्दै अञ्चलाधीश छिर्नुभएका काका ठिमठिम पर्दै निस्किनुभयो। त्यतिबेला नेपालमा भर्खरभर्खर सिमेन्ट उत्पादन सुरु हुँदै थियो। तै पनि बजारमा एसीसी नामको भारतीय सिमेन्टकै बोलाबाला थियो। सायद बोराको २२ रुपैयाँ मूल्य थियो।
सिमेन्ट प्राप्त भयो। तर घर बन्न भने सकिएन। काका पुनः पक्राउ पर्नुभयो। अञ्चलाधीशका हाकिमले कड्किँदै सोधे, ‘घर के भयो ? ’
काकाले भन्नुभयो, ‘सिमेन्टै पुगेन हजुर।’
‘ल लिएर जाऊ अर्को ५० बोरा। तर घर चाहिँ टाइम मै सकाउनु है।’ हाकिम साबले फेरि उद्धार गरिदियो। अञ्चलाधीशले दिएको कुपनबाट काकाले अर्को ५० बोरा सिमेन्ट ल्याउनुभयो। भन्न त अलि बढी भने पनि हुने रहेछ। तर आफूसँग किन्नलाई पैसा पनि हुनुपर्यो नि। ५० बोरामै चित्त बुझाउनुपर्ने भयो।
५० बोरा सिमेन्ट पाएपछि काम त बन्यो तर घर भने अझै बनेन। सिमेन्टबाट बनाउनुपर्ने घर पुनः सिमेन्टले नै रोकिदियो। अब भएन आपत् ? चिन्ता लाग्नु स्वाभाविकै भयो। तर उहाँको घर नबनेर उहाँ आफैंलाई जति चिन्ता लागेको हो त्योभन्दा सयौं गुणा बढी चिन्ता उता अञ्चाधीशलाई लागेको रहेछ। काकालाई तेस्रो पटक अञ्चलाधीश कार्यालय बोलाइयो। यतिबेला भने हाकिम साबको मुड पहिलो जस्तो सहयोगी थिएन। उनीहरूले काकाको अप्ठ्यारो होइन नियतमाथि नै शंका गर्न थाले। कतै यो मान्छे राज्याभिषेक कार्यक्रम नै बिथोल्न त खोज्दै छैन ? अञ्चलाधीश कार्यालयको एउटा सूचनाको भरमा नयाँ सडकका सारा घरधनीहरूले आआफ्नो घर रंगरोगन गरेर चिटिक्क पारिसके। यो मान्छे भने अहिलेसम्म सिमेन्ट छैन भन्दै घरको कंगाल ह्वांग पारेर देखाइहेको छ। के हो यसको नियत ? उहाँको घर फेरि कस्तो ठाउँमा रहेछ त भन्दा जुद्धशमशेरको सालिक भएर टुँडिखेलतिर आउँदा भूगोलपार्कबाट छ्यांगै अगाडि देखिने। राजाले देख्यो भने त आपतै पनि पर्न सक्छ।
‘अब चाहिँ के भयो ? ’ हाकिमले यसरी सोधे मानौं उनी हाकिम होइन यमदूत हुन्।
काकाले बल गरेर भन्नुभयो, ‘सिमेन्ट नै.....’
‘फेरि सिमेन्टकै कुरा ? बदमास रहेछ यो त। सिमेन्ट छैन भन्दै दुई चोटी कुपन लगिसक्यो। तै पनि घर सकाएको होइन। राजाको राज्याभिषेक बिगारेर तमाशा हेर्न लाग्या रहेछ यसले। ल, यल्लाई कागज गरेर पठाइ दे।’
आदेश भुँइमा खस्न पाएको छैन कागज तयार भयो। अबको १४ दिनभित्र घर निर्माण सम्पन्न गरेर झ्याल ढोकासमेत राखी रंगरोगनको कार्यसमेत गरिसक्ने। नभए कानुनबमोजिम कारबाही चलाउने।
साथै ५० बोरा सिमेन्टको एउटा अर्को कुपन पनि। स्थिति अनौठो बन्दै थियो। घर काकाको, तर बनाउन हतार अरूलाई।
ठ्याक्कै चौधौं दिन अञ्चलाधीशको हाकिम आफैं घर बनाइरहेको ठाउँमा आइपुगे। प्रहरीको एउटा टोली पनि लिएर। तर संयोग कस्तो पर्यो भने हाकिम त्यहाँ आइपुग्नु र ज्यामीहरू माथि गएर ढलानको फर्मा निकाल्नु एउटै समय परेछ। काम भइरहेको देखेर हाकिम दंग परे। तथापि फर्मा त निकालियो तर घर भने ह्वांगै रहेछ।
‘झ्याल ढोका खै त ? ’ हाकिमले सोधे।
‘झ्याल ढोका त अब यही निकालिएको फर्माको काठबाट बनाउने हो हजुर। यसलाई आजै सिकर्मीकहाँ पठाएर बनाउन लगाउँछु।’ काकाले आफ्नो बाध्यता सुनाउनुभयो।
हाकिमलाई चित्त बुझेको त थिएन। तर नबुझेर के गर्नु। राज्याभिषेक टाउकैमा आइसक्यो। अन्तमा एउटा उपाय निकालियो। घरको छतमा अर्को तल्ला थप्न ठड्याइसकेको डन्डी सबै नदेखिने गरी बंग्याउने। घरको सबै तल्ला रातो कपडाले छोपेर ह्वांग खाली परेको कंकाल छेक्ने। रातारात घरलाई त्यसरी नै सिंगार्ने काम गरियो। फागुन १२ गते त्यही बाटोबाट राजाको सवारी चलाई शुभराज्याभिषेक सम्पन्न भयो।
त्यसपछि अञ्चलाधीशका कुनै पनि हाकिमले काकाको घरलाई फर्केर पनि हेर्न आएनन्।