पहिलो बैठक पर्खिंदै वीरगन्ज

पहिलो बैठक पर्खिंदै वीरगन्ज

वीरगन्ज : वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी नबनाइए अलग प्रदेशको मागसहित आन्दोलन गर्ने चेतावनी पर्सा र बाराका प्रदेशसभा सदस्य र नेताहरूले दिएका छन्। घन्टाघर चोकमा शुक्रबार आयोजित विरोधसभामा उनीहरूले वीरगन्जमा राजधानी नतोकिए पर्सा, बारा र रौतहट तीन जिल्ला समेटेर भोजपुरिया प्रदेश बनाउने चेतावनी दिएका हुन्। प्रादेशिक राजधानीका लागि आवश्यक सबै सूचक तथा भौतिक संरचना वीरगन्जमा भए पनि सरकारले अस्थायी मुकाम जनकपुरलाई तोकेर वीरगन्जमाथि कुठराघात गरिसकेको उनीहरूले बताए।

‘अब स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभा सदस्यहरूको हातमा गएको छ’, उनीहरूको एकै भनाइ थियो, ‘तर, पर्सा र बाराबाट निर्वाचित अधिकांश प्रदेशसभा सदस्य मुख्यमन्त्री र मन्त्रीको लोभमा वीरगन्जको पक्षमा मौन छन्।’ उनीहरूले माघ २१ गते बस्ने प्रदेशसभाको पहिलो बैठकले वीरगन्जलाई स्थायी राजधानी बनाउनुपर्ने माग गरेका छन्।

प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले पहिलो बैठकमा वीरगन्जलाई राजधानी बनाउनका लागि पर्सा, बारा र रौतहटबाट निर्वाचित सदस्यले एक स्वरमा आवाज उठाउने प्रतिबद्धता जनाए। ‘प्रदेशसभा बैठकमा वीरगन्जलाई राजधानी बनाउनका लागि तीन जिल्लाका सबै प्रदेशसभा सदस्यले एक स्वरमा आवाज उठाउँछौं’, उनले भने, ‘हाम्रो आवाजको सुनवाइ भएन भने यी तीन जिल्ला समेटेर अलग्गै भोजपुरिया प्रदेश बनाउने माग प्रदेशसभामै उठाउँछौं।’

उनले त्यसका लागि सडक र सदन दुवैबाट आन्दोलन थाल्ने चेतावनी दिए। ‘म दाबीका साथ भन्छु, वीरगन्ज राजधानी भएन भने तीन जिल्लाको भोजपुरिया प्रदेश र वीरगन्ज राधजानी ढिलो–चाँडो बनेरै छाड्छ’, उनले भने।

वीरगन्ज राजधानी संघर्ष समितिका सहसंयोजक एवं एमाले नेता राजकुमार गुप्ताले जनकपुरलाई अस्थायी राजधानी तोकेर वीरगन्जमाथि अन्याय गरेको बताए। डेढ महिनादेखि शान्तिपूर्ण आन्दोलन गरेकै कारण सरकारले आफूहरूको माग नसुनेको उनको गुनासो थियो।

प्रदेशसभा बैठकमा वीरगन्जको पक्षमा बोल्ने प्रदेशसभा सदस्यलाई बल पु¥याउनकै लागि आन्दोलन गरिरहेको उनले सुनाए। ‘वीरगन्जलाई राजधानी बनाइएन भने पर्सा, बारा र रौतहट जिल्लालाई समेटेर छुट्टै भोजपुरिया प्रदेशको माग राखेर आन्दोलन गर्न हामी बाध्य हुनेछौं’, उनले भने, ‘त्यो आन्दोलनको वेग रोक्ने हिम्मत कसैले गर्न पनि सक्दैन।’

संघर्ष समितिका सदस्य ओमप्रकाश सर्राफले शान्तिपूर्ण आन्दोलनलाई कमजोर नआँक्न चेतावनी दिए। ‘हामीले अहिलेसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएका छौं तर सरकार र केही दलहरूले यसलाई हाम्रो कमजोरी ठानिरहेका छन्’, उनले भने, ‘हामी माघ २१ गतेसम्म कुर्दै छौं। यदि प्रदेशसभाको पहिलो बैठकले वीरगन्जको पक्षमा निर्णय गरेन भने हाम्रो धैर्यको बाँध टुट्नेछ। त्यसपछि अलग प्रदेशको मागका साथ हामी सशक्त आन्दोलनमा उत्रिन्छौं।’

एमाले नेता बलिराम साहले यो आन्दोलन वीरगन्जवासीले आफ्नै लागि गरेको उल्लेख गर्दै सरकार समय छँदै सचेत नभए यसको परिणाम भयावह हुन सक्ने चेतावनी दिए।

प्रदेश २ मा पर्ने आठ जिल्लाका सहरमध्ये राजधानीका लागि वीरगन्ज नै सबैभन्दा उपयुक्त रहेको दाबी गर्दै उनले भने, ‘अझै समय छ। सरकारले आँखा खोलोस्, होइन भने राजधानीका लागि अलग प्रदेशको माग राखेर वीरगन्जवासीको आन्दोलनले मुलुकमै आँधी बेहरी ल्याउनेछ।’

नेपाल शिक्षक महासंघका सचिव प्रदीप जयसवालले जनकपुरलाई राजधानी नमान्ने जिकिर गरे। ‘मधेस आन्दोलनका बेला जनमत बटुल्न जानकी मन्दिरको भेटीले मात्र प्रदेश चल्न नसक्ने भन्नेहरू अहिले जनकपुरकै पक्षमा लागेका छन्’, उनले भने, ‘हामी पनि भन्छौं कि जानकी मन्दिरको भेटीले यो प्रदेश चल्न सक्दैन। प्रदेश चलाउन सक्ने हैसियत वीरगन्जसँग मात्रै छ।’

 

वीरगन्जमा शुक्रबार आयोजित विरोधसभा सम्बोधन गर्दै प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.