फागुन दोस्रो सातामा नयाँ सरकार : उपप्रधानमन्त्री थापा

फागुन दोस्रो सातामा नयाँ सरकार : उपप्रधानमन्त्री थापा

हेटौंडा : उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले फागुन दोस्रो साताभित्र नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । शनिबार हेटौंडामा अगुवा कार्यकर्तासँगको अन्तरक्रियामा उनले भने, ‘फागुन १०–१२ गतेभित्र नयाँ सरकार बनिसक्छ, हामी सत्ता हस्तान्तरणको लागि आतुर छौं ।’

निर्वाचन लगत्तै सरकार छाड्नुपर्ने भएपनि संवैधानिक जटिलताका कारण नचाहेरै पनि सरकारमा बस्न बाध्य भएको थापाको भनाइ छ । ‘चुनाव हुने बित्तिकै सरकार बन्ने प्रावधान नहुँदा समस्या भएको छ’, उनले भने, ‘यो अप्ठ्यारो बाटोलाई संविधान संसोधनमार्फत सच्याउन जरुरी छ ।’

उपप्रधानमन्त्री थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आउँदा राजनीतिक दलका नेताहरु आफ्नो हैसियत ख्याल नगरी लामबद्ध भएर भेट्नु लज्जाजनक भएको बताए । ‘जन्ती लिएर हिँडेजस्तौ गरी एउटा देशको विदेश मन्त्रीलाई हाम्रा पूर्व, वर्तमान र हुनेवाला प्रधानमन्त्रीदेखि नेताहरु लाइन लागेर भेट्न गए’, उनले भने, ‘नेताहरुको व्यवहार देख्दा लाग्छ, पुर्खाले पनि नव्यहोरेको उपनिवेश हाम्रो देशमा नवउपनिवेशवादको रुपमा भित्रँदैछ ।’

कार्यकर्तालाई उत्साह थप्दै थापाले जनताले बुझेरै राप्रपालाई हराएको तर्क गरे । ‘राप्रपाले चाहेर पनि दुई तिहाइ ल्याउन सक्ने थिएन, दुई तिहाइ नभइ संविधान संशोधन हुँदैन’, उनले थपे, ‘जनताले बुझेरै अब सडकबाटै हिन्दु राष्ट्रको लागि अघ बढ्न हामीलाई म्यान्डेट दिएका हुन् ।’

थापाले ३ नम्बर प्रदेशको राजधानी हेटौंडा कायम गरेर आफूले चुनावको समयमा मकवानपुरका जनतासँग गरेको बाचा पुरा गरेको दाबी गरे । ‘म हेटौंडा राजधानी भएपछि पाइला टेक्दा निकै भावुक भएँ, मैले चुनाव हारेपनि जनतासँग गरेको बाचा पुरा गरेको छु’, उपप्रधानमन्त्री थापाले भने, ‘अझै पनि मकवानपुरको विकासमा लागिरहनेछु ।’ वाम गठबन्धनजस्तो लोकतान्त्रिक गठबन्धन सशक्त बन्न नसकेकाले पनि लोकतान्त्रिक गठबन्धनले हार व्यहोर्नुपरेको उनको भनाइ छ ।

सरकारले प्रस्ताव गरेको सात प्रदेशका राजधानीमध्ये हेटौंडामा मात्रै परिवर्तन भएको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना प्रस्ताव स्वीकार गरेको भन्दै धन्यवाद दिए । साथै उनले सात वटै प्रदेशको अस्थायी राजधानी नै स्थायी रुपमा रहने समेत दाबी गरे । अगुवा कार्यकर्ता भेलामा राप्रपाका सहमहामन्त्री राजाराम बर्तौला, मकवानपुरका कार्यवाहक अध्यक्ष शिवराम थापा लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.