जनकपुरमा बस्ने प्रदेशसभा बैठकको खबरदारी गर्दै वीरगञ्जमा मशाल जुलुस

जनकपुरमा बस्ने प्रदेशसभा बैठकको खबरदारी गर्दै वीरगञ्जमा मशाल जुलुस

वीरगन्ज : जनकपुरमा आइतबार बस्न लागेको प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठकविरुद्ध शनिबार साँझ वीरगञ्ञ्जमा मशाल जुलुस प्रदर्शन भएको छ। प्रदेश राजधानीको माग गर्दै वीरगन्जमा डेढ महिनादेखि चलिरहेको आन्दोलन, सरकारले अस्थायी राजधानी जनकपुरलाई तोकेपछि झन चर्कदै गएको छ।

माघ ३ गते सरकारले जनकपुरलाई अस्थायी राजधानी तोकपछि माघ ४ गते बन्द हडताल गरेर आन्दोलन चर्काएको वीरगन्ज राजधानी संघर्ष समितिले शनिबार साँझ मशाल जुलुस गरेको हो।

शनिबार साँझ घण्टाघर चोकबाट निकालिएको मशाल जुलुश माइस्थान, आदर्शनगर, घडीअर्वा हुँदै पुन घण्टाघर चोकमै फर्किएर विरोधसभामा परिणत भएको थियो। संघर्ष समितिले आइतबार वीरगन्जमा बन्द हडतालको आह्वान पनि गरेको छ।

आइतबारको बन्द हडताललाई सफल पार्न र आइतबार नै जनकपुरमा बस्ने प्रदेशसभाको पहिलो बैठक र त्यसमा सहभागी हुने प्रदेश सांसदलाई खबरदारी गर्नकै लागि शनिबार मशाल जुलुस गरेको े संघर्ष समितिका सह संयोजक एंव पूर्वसांसद राजकुमार गुप्ताले जानकारी दिए।

जनकपुरमा शनिबार बसेको संघीय समाजवादी फोरम नेपाल र राजपाका शीर्ष नेतासहितको बैठकमा पर्सा बाराका प्रदेश सांसदले प्रदेश २ को स्थायी राजधानी वीरगन्जलाई बनाउने पक्षमा आवाज उठाएपछि बैठकमै विवाद भएको खबर आफूले पाएको संघर्ष समितिका सदस्य मनोज चौधरीले बताए।

वीरगन्जलाई राजधानी बनाउन नसकिए अहिले जितेका सांसद र विधायक भएकालाई भोलिका दिनमा उनकै सन्ततीले धिक्कार्ने भन्दै राजपाका पूर्वनेता एवम् संघर्ष समितिका प्रवक्ता ओम प्रकाश सर्राफले भने, ‘यो आन्दोलन कुनै दल वा नेताको लागि हुँदै होइन, यो त हाम्रा सन्ततिका लागि हो, आज वीरगन्जलाई राजधानी बनाउन सकिएन भोलि हाम्रै छोरा नातीले हामीलाई धिक्कार्ने छन्।

आइतबारको बन्द हडतालले प्रदेश सांसदलाई राजधानीका लागि दबाब दिन सफल हुने कांग्रेस पर्साका सचिव श्याम पटेलले बताए। पुस २१ गते देखि निरन्तर चलिरहेको रिले अनशनसहितको आन्दोलनका भावी कार्यक्रम तय गर्न आइतबार साँझ संघर्ष समितिको बैठक बस्दै छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.