प्रदेश २ को पहिलो प्रदेशसभा बैठक आइतबार : संसदीय दलकाे नेता छान्न सकस

प्रदेश २ को पहिलो प्रदेशसभा बैठक आइतबार : संसदीय दलकाे नेता छान्न सकस

जनकपुरधाम : प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक आइतबार जनकपुरमा बस्दै छ। पहिलो बैठकको सभामुखको भूमिकामा ज्येष्ठ सदस्य लगनलाल चौधरी हुनेछन्। ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नम्बर १ ‘क’का एमाले विधायक हुन्। बैठकको सुरुमा सभामुखको आसनबाट चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउने छन्।

प्रदेश २ मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका नेता शनिबार साँझ बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले उक्त कार्यसूचि तय गरेको हो। आइतबारको प्रथम बैठकबाट प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गरेपछि प्रदेशसभाको नियमित काम अघि बढाउन सहज हुनेछ।

सर्वदलीय बैठकले फागुन २ गते बस्ने प्रदेशसभाको अर्को बैठकबाट सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो। त्यसैगरी मस्यौदा नियमावली संशोधन माघ २९ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले गर्ने र सोही दिन बस्ने प्रदेशसभाको बैठकले सभामुख तथा उपसभामुखको निर्वाचन प्रक्रियाबारे टुंगो लगाउने निर्णय भएको संघीय संसद सचिवालयका सहसचिव वंशिराज पौडेलले सर्वदलीय बैठकको निर्णयपछि सञ्चारकर्मीलाई जानकारी गराएका हुन्।
प्रथम बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलको तर्फबाट एक÷एक जना सदस्यलाई बोल्न दिनेसमेत कार्यसूचिमा रहेको पौडेलले बताए।

यता, प्रदेशसभा बैठकलाई मध्यनजर गर्दै सभाहल तयारीको काम शनिबार रातभरी गरेर आइतबार बैठक सञ्चालन गर्नेगरी काम भएको छ। प्रथम प्रदेशसभा बैठक हुने स्थल जनकपुरको शैक्षिक तालिम केन्द्रको भवनलाई रंगरोग गरी सभाहललाई व्यवस्थित बनाइएको छ।

सभाहलमा कुर्सी र डेस्क लगाउने, साउन्ड सिस्टमको व्यवस्था, लाइट राख्ने काम अन्तिम चरणमा पुगेको छ। रातभरी काम गरेर सबै व्यवस्थापन मिलाउने तयारी भइरहेको सहरी सडक विकास तथा भवन निर्माण कार्यालयका प्रमुख गंगा यादवले बताए। यता, बैठकमा सादा पोशाकमा २१ जना मर्यादापालक, बम डिस्पोजल टोली र तेस्रो घेरामा सशस्त्र प्रहरी रह्ने जनाइएको छ।

संसदीय दलका नेता छान्न दललाई सकस
प्रदेश नम्बर दुईको संसदीय दलका नेता छनोट गर्न राजनीतिक दलभित्र सकस देखिएको छ। शनिबार जनकपुरमा राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाली कांग्रसको बैठक बसेपनि संसदीय दलको नेता छनोट हुन सकेनन्।

राजपाको केन्द्रीय पदाधिकारीको जनकपुरको सीताशरण होटेलमा बसेको बैठकमा संसदीय दलको नेता चयनको विषयले प्रवेशसमेत पाउन सकेन्। बैठकमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, महेन्द्रनारायण यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झालगायतको सहभागिता रहेको थियो।
प्रदेशसभाको प्रथम बैठक बस्नु अगावै संसदीय दलको नेता चयन गर्ने उद्देश्यले बैठक बसेपनि उक्त विषयमा प्रवेश नै नभएर टुंगिएको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए। बैठकले प्रदेशसभा अन्तर्गत गठन हुन लागेको समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुको नामको मात्र टुंगो लगाउन सकेको हो। संसदीय दलको नेता चयनको विषयमा अर्को बैठकबाट निर्णय हुने एक नेताले बताए।

राजपाको बैठकले प्रदेशसभाको पहिलो बैठकको तयारी स्वरुप हुने सर्वदलीय बैठकमा सुरिता साह, अभिराम शर्मा र परमेश्वर पठाएको हो। त्यसैगरी पैनल अध्यक्षतामा नवल किशोर साहको नाममा सहमती भएको हो। कार्यव्यवस्था परामर्श समितिमा सुरिता साह र मनिष सुमनलाई राखिएको छ भने नियमावली मस्यौदा समितिमा राम नरेश राय, डिम्पल झा र रमेश पटेल रहेका छन्। आइतबार हुने पहिलो प्रदेश सभा बैठकमा राजपाको तर्फबाट जितेन्द्र सोनलले शुभकामना मन्तव्य राख्ने छन्।

नेपाली कांग्रेसले पनि संसदीय दलको नेताको टुंगो लगाउन नसकेको र शनिबारको बैठकले मात्र प्रदेश सभाको प्रथम बैठकको तयारीमा सिमित भएको कांग्रेस धनुषाका सभापति रामसरोज यादवले बताए। कांग्रेसको तर्फबाट कार्यव्यवस्था परामर्श समितिमा रामरोज यादव र शोभा लामाले प्रतिनिधित्व गरेका छन् भने प्रथम बैठकमा स्वागत मन्तव्य रामसरोज यादवले राख्नेछन्। माओवादी केन्द्रले समेत संसदीय दलको नेता छनोट गर्न सकेन।
माओवादी केन्द्रको बैठकबाट कार्यव्यवस्था तथा परामर्श समितिमा रामकुमार यादवले प्रतिनिधित्व गरेका छन् भने प्रथम बैठकमा भरत साहले मन्तव्य राख्नेछन्। एमालेले अहिले कुनै निर्णय नगरेको र भोलि मात्रै जानकारी दिइने प्रदेशसभा सदस्य शत्रुधन महतोले बताए।

यता, संघीय समाजवादी फोरमको पार्टी कार्यालय पिडारी चोकमा संसदीय दलको नेता चयन तथा प्रदेश सभा बैठकको पूर्व तयारीका लागि शनिबार दिउँसोदेखि नै बैठक बसेपनि अबेर साँझसम्म कुनै निर्णय भएको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.