प्रदेशसभा बैठकप्रति उत्सुक

प्रदेशसभा बैठकप्रति उत्सुक

बुटवल : प्रदेश ५ को पहिलो बैठक चिटिक्क सजाइएको संसद् भवनमा आइतबार बस्दै छ। प्रदेश प्रमुख उमाकान्त झाले साता दिनअघि तोकेको समयअनुसार दिउँसो १ बजे बैठक सुरु हुँदै छ। पहिलो बैठकले सभामुख चयनको मितिसहित महत्वपूर्ण निर्णय गर्दै छ। बुटवल खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको सभाहललाई संसद् बैठकका लागि चिटिक्क पारेर सजाइएको छ।

बैठक स्थलको अघिल्लो अग्लो स्थानमा सभामुख टेबल, राष्ट्रिय झन्डा, कार्यव्यवस्थाका कर्मचारी अनि रोष्टम बनाइएको छ। सभामुखको ठीक अघि सांसदका कुर्सी राखिएका छन्। दलगत आधारमा ६ लहर मिलाएर कुर्सी व्यवस्थापन गरिएको छ। बैठक कक्षभित्र अडियो, भिडियो रेकर्ड गर्ने कन्ट्रोल रुम, मर्यादापालक, पत्रकार र आमन्त्रित व्यक्ति बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको छ।

रोस्टमको दायाँतर्फ सभामुखका लागि प्रतीक्षा कक्ष बनाइएको छ। सांसद प्रवेशका लागि एउटा ढोका र पत्रकार तथा आमन्त्रित प्रवेशका लागि अर्को छुट्टै ढोका प्रयोग हुनेछ। बैठक कक्षको भुइँमा नीलो कार्पेट ओछ्याइएको छ। भित्तामा हल्का आकाशे रङ लगाइएको छ। सभामुखको ठीक अगाडि पर्ने गरी दर्शकदीर्घामाथि एउटा र दायाँतर्फ तापक्रमसमेत देखाउने घडी राखिएको छ। संघीय संसद्मा जस्तै सांसद र सभामुखको बीच रोस्टम तल २० जना मर्यादापालक राख्न ठाउँ राखिएको छ। रोस्टममा राखिएको रातो, पहेंलो र हरियो रङका तीन वटा बल्बले समयको जनाउ दिनेछ।

पहिलो बैठक सुरु गर्नुअघि सांसदलाई सूचना घण्टीमार्फत सूचित गरिनेछ। सांसदको प्रवेशपछि प्रतीक्षा कक्षमा बसेका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेल मर्यादापालकको घेरासँगै सभामुखको कुर्सीमा पुग्नेछन्। त्यसपछि प्रदेश ५ को पहिलो बैठक सुरु हुनेछ। बैठकको कार्यसूची शनिबार सार्वजनिक भइसकेको छ। बुटवलमा खटिएका संघीय संसद्का सहसचिव सुरेन्द्र अर्यालका अनुसार बैठक सुरु हुनासाथ सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य पोखरेलले प्रदेश प्रमुख झाले पठाएको पत्र पढेर सुनाउनेछन्। त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने ६ दलका नेताले मन्तव्य दिने कार्यसूची रहेको छ।

संसद्मा एमाले संसदीय दलका नेता शंकर पोखरेल, माओवादी केन्द्रका कुलप्रसाद केसी, संघीय समाजवादीका संसदीय दलका नेता सह श्रराम यादव, राजपाका बिना पन्त र जनमोर्चाका तारा जिसीले १०/१० मिनेट मन्तव्य दिनेछन्। कांग्रेसले मन्तव्य दिने व्यक्ति तोकेको छैन। मन्तव्यपछि पहिलो बैठकले संसद् सञ्चालन कार्यविधि पारित गर्नेछ। कार्यविधिको मस्यौदामा सहमति भइसकेकाले बैठकमा ताली पिट्ने काम मात्रै हुनेछ। पहिलो बैठकले माघ २८ गतेका लागि सभामुख चुन्ने मिति तोक्नेछ। यो कार्यसूचीमा पनि सर्वदलीय बैठकको सहमति भइसकेको छ। सभामुख चयनको मिति तोकिएसँगै लगभग डेढ घण्टामा बैठक सकिनेछ।

बैठकमा सहभागी हुन अधिकांश सांसद शनिबार साँझ बुटवल आइसकेका छन्। छिमेकी जिल्लाका सांसद भने आइतबार मात्रै आउने तयारीमा छन्। बैठकको पूर्वसन्ध्यामा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका सांसदको बैठक बसेको थियो। बैठकले पहिलो संसद्लाई ऐतिहासिक बनाउने सहमति गरेको छ।

बैठकस्थल सुरक्षाका लागि मर्यादापालकसहित करिब १ सय ५० प्रहरी परिचालन हुनेछन्। सशस्त्र प्रहरीले पनि सुरक्षा दिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए। संसद् भवनमा सांसदसहित सञ्चारकर्मी र आमन्त्रितलाई पास हेरेर मात्रै गेट प्रवेशको व्यवस्था मिलाइएको छ।

 चुनिएनन् नेता

पहिलो संसद् बैठक बस्ने दिनसम्म पनि प्रदेश ५ का पाँच दलले संसदीय दलको नेता चुन्न सकेको छैन। एमालेले भन् माघ ७ मै शंकर पोखरेललाई संसदीय दलको नेता चुनिसकेको छ। संघीय समाजवादी फोरमले शनिबार साँझ कपिलवस्तुबाट निर्वाचित सांसद सह श्रराम यादवलाई संसदीय दलको नेता चुनेको छ। उनी सहमतिबाट नेता चुनिएको फोरम रुपन्देही अध्यक्ष महेन्द्र यादवले जानकारी दिए। माओवादी र कांग्रेसले दलको नेता चुन्न ढिलाइ गरेको छ। राजपा र जनमोर्चाका भने एक/एक सांसद मात्रै छन्। कांग्रेसले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै नेता चुन्ने बताएको छ। माओवादी केन्द्रले नेता नचुने पनि कुलप्रसाद केसीलाई दलको नेताको हैसियतमा संसद्मा पठाउने जनाएको छ।


माघभित्रै मुख्यमन्त्री

प्रदेश ५ मा माघभित्रै सरकार बन्ने भएको छ। पहिलो संसद् बैठकलगत्तै मुख्यमन्त्री नियुक्तिका लागि एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख उमाकान्त झालाई पत्र दिने तयारी गरेको छ। ‘आइतबार नभए सोमबारसम्म पत्र दिन्छौैं। माघभित्रै प्रदेशमा मुख्यमन्त्री चयन हुनेछन्’, एमाले सचेतक भूमिश्वर ढकालले भने। प्रदेश ५ मा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्यमन्त्री हुने तय भइसकेको छ।

मुख्यमन्त्री निर्वाचित भएलगत्तै उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सचेतक ढकालले बताए। एमाले र माओवादीबीच मन्त्रालयको संख्या बाँडफाँट भइसकेको छ। आठ मन्त्रालयमध्ये एमालेले ५ र माओवादीले तीन मन्त्री पाउनेछन्। मन्त्री को बन्ने विषय भने अझै निर्णय भइनसकेको ढकालले बताए। संसद्मा सभामुख माओवादीले पाउनेछ भने उपसभामुख एमालेको तर्फबाट महिला हुनेछिन्। माओवादीमा सुदर्शन बलाल र पूर्णबहादुर घर्तीमध्ये एक जना सभामुख हुने बताइएको छ। एमालेको कोटाबाट चयन हुने उपसभामुख जनजातिमध्ये थारू वा मगर जातिबाट हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.