प्रदेशसभा बैठककाे कार्यसूची तयार

प्रदेशसभा बैठककाे कार्यसूची तयार

विराटनगर : प्रदेश १ को पहिलो प्रदेशसभा अधिवेशन सञ्चालनका लागि बनाइएको अन्तरिम कार्यविधि अधिवेशनबाटै पारित गर्न दलहरू सहमत भएका छन्। विराटनगरमा शनिबार बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूची तयार गर्दै कार्यविधिमा सहमति जुटाएको हो। पहिलो अधिवेशन माघ २२ गते सोमबार १ बजे बस्दै छ।

बैठकले प्रदेश प्रमुखबाट प्राप्त पढेर सुनाउने, सभामुखको सहयोगका लागि विभिन्न दलबाट पाँचसदस्यीय अध्यक्षमण्डल गठन गर्ने, अधिवेशनमा शुभकामना मन्तव्य राख्ने दलका प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ। ‘सभामुखलाई सहयोग गर्न पाँचसदस्यीय अध्यक्षमण्डल गठन भएको छ’, संघीय संसद् सचिवालयका उपसचिव सर्वजित राईले भने, ‘जसमा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेशसभा सदस्य हुनुहुन्छ।’

अधिवेशनमा एक जना स्वतन्त्र सांसदसहित सात जनाले शुभकामना मन्तव्य दिनेछन्। एमालेका भीम आचार्य, कांग्रेसका केदार कार्की, माओवादीका इन्द्रबहादुर आङ्बो, संघीय फोरमका जयराम यादव, स्वतन्त्र नारायणबहादुर मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फे र राप्रपाकी इन्दिरा राईले शुभकामना मन्तव्य राख्ने तय भएको हो। उनीहरूले पाँच÷पाँच मिनेट मन्तव्य राख्नेछन्।

मर्यादापालकको पोसाकका विषयमा पनि समझदारी भएको छ। उनीहरूले सेतो दौरासुरुवाल, कालो कोट र कालो टोपी लगाउनुपर्ने भएको छ। हलमा १२ देखि १५ जना ड्रेसकोड भएका मर्यादापालक खटिनेछन्। भाषाका विषयमा बैठकले केही निर्णय गरेन। उपसचिव राईका अनुसार सरकार गठन नभएको सन्दर्भमा प्रतिनिधित्व गर्ने ठूला दलका सांसदलाई दाहिनेबाट बसाइनेछ। त्यसपछि साना दलका सांसद बस्नेछन्। प्रदेश १ मा ९३ सांसद छन्।

कुर्सी मिलाई हल सजाइयो

प्रदेश १ को पहिलो प्रदेशसभा अधिवेशन हुने जिसस भवनमा अवस्थित सभाहलमा शनिबार कुर्सी मिलाएर राखिएको छ। हरियो रङका कुर्सीमा सेतो कभर लगाइएको छ। आकर्षक रूपमा तयार गरिएको हललाई रङरोगन गरी चिटिक्क बनाइएको छ। पंखा, एसी र साउन्ड सिस्टम जडान गरिएको छ। सुरक्षालगायत सबै प्रबन्ध मिलाउने काम पूरा भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए। ‘संसद् सचिवालय सिंहदरबारका सचिवज्यू पनि आइसक्नुभएको छ’, उनले भने, ‘प्राविधिक तयारीसमेत लगभग पूरा भएको छ।’ उनका अनुसार पहिलो अधिवेशनको लाइभ भिडियो सर्वसाधारणले हेर्न पाऊन् भनेर जिसस भवनबाहिर टीभी जडान गर्ने तयारी छ।

माघ २९ मा सभामुख

सर्वदलीय बैठकले प्रदेश १ को सभामुख र उपसभामुख छान्न मितिसमेत तय गरेको छ। माघ २९ गते दिउँसो १ बजे सभामुख चयन गर्न चुनाव हुनेछ। यसैगरी फागुन ३ गते उपसभामुखको चुनाव हुने भएको छ। संघीय संसद् सचिवालयका उपसचिव सर्वजित राईका अनुसार दुवै पदमा एक दिनअगावै मनोनयन दर्ता हुनेछ। ‘निर्वाचनको सम्पूर्ण प्रक्रियाका विषयमा सचिवालयले कार्यतालिका सार्वजनिक गर्नेछ’, उपसचिव राईले भने।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.