प्रदेश ६ प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा

प्रदेश ६ प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा

सुर्खेत : प्रदेशसभाको पहिलो बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ। आज बस्ने बस्ने प्रदेश ६ को प्रदेशसभा पहिलो बैठकका लागि सबै तयारी पूरा भएको हो। प्रदेशसभा सचिवालयले रातारात भौतिक तथा प्राविधिक व्यवस्थापनको काम सम्पन्न गरेको हो।

प्रदेशसभा पहिलो बैठक आइतबार दिउँसो १ बजे बोलाइएको छ। संसद् सचिवालयका कर्मचारीहरू समयमा नआउँदा व्यवस्थापनको काम ढिला मात्र सुरु भएको थियो। तर, बैठक बस्ने दिन नजिकिँदै गर्दा सुरु भएको व्यवस्थापनको काम हतारहतार सम्पन्न गरिएको हो। बैठक स्थलमा रङरोगन, सजावट, सिँगारपटार, फर्निचर व्यवस्थापन र सभामुख बस्ने रोस्टम निर्माणको काम सकिएको छ। यस्तै अन्य प्राविधिक व्यवस्थापनको काम पनि शनिबार अबेर मात्र सकिएको हो।

पहिलो बैठकमा छलफल हुने विषयहरू पनि टुंगो लगाइएको छ। प्रदेशसभा सचिवालयका अनुसार पहिलो बैठकका लागि तीन वटा विषयको कार्यसूची बनाइएको छ। आज बस्ने प्रदेशसभा पहिलो बैठकले सभामुख चयनका लागि मिति तय गर्नेछ। सचिवालयले सभामुख चयनका लागि माघ २९ गतेको मिति प्रस्ताव गरेको हो। यस्तै बैठक सञ्चालनका लागि आवश्यक कार्यविधिबारे पनि पहिलो बैठकमा छलफल हुने सचिवालयले जानकारी दिएको छ। प्रदेश संसद्को पहिलो बैठकमा चार जना सदस्यहरूले मात्र बोल्ने सर्वदलीय सहमति भएको र सोहीअनुसार सूची तयार पारिएको हो।

पहिलो बैठकमा सहभागी हुन प्रदेशसभाका सबै सदस्य वीरेन्द्रनगर आइपुगेका छन्। संघीयता कार्यान्वयनको महत्वपूर्ण अवसर आएको भन्दै प्रदेश सांसदहरू उत्साहित बनेका छन्। पहिलो बैठक ऐतिहासिक हुने भन्दै उनीहरूले अब प्रदेश संसद् प्रदेशको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा केन्द्रित हुने बताए। प्रदेशसभामा ४० जना सांसद छन्। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन्। प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले भने, ‘हामीले सभाको बैठकस्थलमा सिँगारको काम सकेका छौं, प्राविधिक व्यवस्थापनको काम पनि सकिएको छ। हामी बैठक सुरु गर्ने तयारी हालतमा छौं, अन्य प्रदेशको तुलनामा हाम्रो प्रदेशमा नमुना बैठक हुनेछ।’ बैठकस्थलमा दर्शकका लागि हलबाहिर त्रिपाल टाँगेर अवलोकन गर्ने व्यवस्था मिलाइएको छ।

खड्काले भने, ‘पहिलो बैठकले सभा सञ्चालनको कार्यविधिमाथि छलफल गर्नेछ, सभामुख चयनका लागि पनि मिति तोक्नेछ।’ पहिलो बैठकमा मुख्यगरी तीन वटा विषयमा मात्र छलफल हुने खड्काले बताए। क्षेत्रीय सिँचाइ विकास डिभिजनको हलमा बैठक बस्दै छ। खड्काले भने, ‘रङरोगन र सजावटको काम सम्पन्न भयो, फर्निचर पनि व्यवस्थापन गरेका छौं। सांसदहरूलाई बैठक कक्षमा स्वागत गर्न हामी तयारी अवस्थामा छौं, यो संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण अवसर हो।’ प्रदेशसभा बैठकस्थलमा रहेको स्थानमा सुरक्षा पोस्ट पनि स्थापना भएको छ। यस्तै बैठकमा २० जना मर्यादापालक खटिने भएका छन्। ३० जना पुरुष र १० जना महिला गरी जम्मा ४० जना मर्यादापालक खटिने छन्। तर, पहिलो बैठकमा भने २० जना मात्र खटिने सचिवालयले जनाएको छ।

प्रदेशसभाका लागि शैक्षिक तालिम केन्द्रको भवन प्रस्ताव गरिएको छ। तर, उक्त भवनमा मर्मत तथा सजावटका लागि समय लाग्ने भएकाले तत्कालका लागि सिँचाइको हलमा बैठक बसाल्न लागिएको हो। करिब दुई महिनासम्म बैठक बसाल्नुपर्ने भएकाले सिँचाइको भवन सिँगारेर चिटिक्क पारिएको छ। पहिलो बैठक बस्ने भएपछि वीरेन्द्रनगरमा चहलपहल पनि बढेको छ। माघ २९ गते सभामुख चयन हुने भएपछि एमालेभित्र बहस सुरु भएको छ। माओवादीसँगको गठबन्धनमा सभामुख पाएको एमालेले आन्तरिक तयारी थालेको हो। फागुन तीन गतेसम्म मुख्यमन्त्री चयनको तयारी भइरहेको यो प्रदेशमा भने एमालेसँगको भागबन्डामा माओवादीले मुख्यमन्त्री पाएको छ। गठबन्धनका कारण प्रदेशसभामा दुईतिहाइ बहुमतमा रहेका एमाले र माआवोदी सभामुख र मुख्यमन्त्री चयनका लागि आन्तरिक तयारीमा जुटेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.