पहिलो बैठक सवा घण्टा मात्र

पहिलो बैठक सवा घण्टा मात्र

पोखरा : प्रदेश ४ को पहिलो प्रदेशसभा बैठक सोमबार सवा घण्टा मात्रै बस्ने भएको छ। बैठकबाट प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि पारित गर्ने निर्णय शनिबार सर्वदलीय बैठकले गरिसकेको छ। कार्यविधिको मस्यौदा सरकारले बनाएर पठाइसकेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिबीच प्रदेशसभा सचिवालयले शनिबार पोखरामा सर्वदलीय बैठक गराएको थियो।

बैठकले पहिलो प्रदेशसभामा एमाले, कांग्रेस र माओवादी केन्द्रका ३/३ र नयाँशक्ति र जनमोर्चाका १/१ जना प्रतिनिधिले शुभकामना मन्तव्य राख्ने कार्यसूची बनाएको छ। मुख्य दलका तर्फबाट बोल्ने ३/३ जनामध्ये १ जना महिला हुनेछन्। बैठकको सुरुमै चाहिँ प्रदेश प्रमुख बाबुराम कुँवरको पत्र पढेर सुनाइने कार्यक्रम छ। ११ जनाले बोल्ने र कार्यविधि पारित गर्न लगभग सवाघण्टा समय लाग्ने अनुमान गरिएको छ।

दलबीच सभामुखलाई सघाउन अध्यक्षता गर्न प्रत्येक दलबाट १/१ जनाको नाम दिने सहमति भएको संसद् सचिवालय सञ्चालनका लागि काठमाडौंबाट आएका सहसचिव जीवराज भण्डारीले जानकारी दिए। प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गर्नेछन्। ज्येष्ठ सदस्य र एमाले, कांग्रेस, माओवादीबाट २/२ जना र अन्यबाट १/१ जना शनिबारको सर्वदलीय बैठकमा सहभागी थिए। एमालेबाट पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, कांग्रेसबाट कृष्णचन्द्र पोखरेल, बिन्दु थापा, माओवादी नेत्र अधिकारी, हरिबहादुर चुमनसहितका सांसद सहभागी थिए। पहिलो बैठक बस्नुअघि पनि सर्वदलीय बैठक बस्ने सहमति भएको सहभागीले जानकारी दिएका छन्।

कार्यविधि पारित गर्ने र सभामुखको निर्वाचनको मिति तोक्ने सर्वदलीय सहमति

एमाले नेता पृथ्वी सुब्बाका अनुसार प्रदेशसभाको दोस्रो र तेस्रो बैठकका लागि मोटामोटी मिति प्रस्ताव गरिएको र त्यसबारे सोमबारको पहिलो बैठकले निर्णय गर्नेछ। फागुनको ३ र ६ गते अर्काे बैठकको मिति तय गर्नेबारे शनिबार दलबीच सहमति जुटेको छ। प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। २२ माघमा पहिलो बैठक बस्दा फागुन ७ मा १५ दिन पूरा हुन्छ।

सर्वदलीय बैठकले सभाहलमा सांसद बस्न दलीय आधारमा कुर्सी तय गरेको छ। सभामुखको दायाँपट्टि सबभन्दा पहिलो र तेस्रो दल तथा बायाँपट्टि दोस्रो ठूलो दलका सांसद बस्ने सहमति बनेको छ। त्यसअनुसार एमाले र माओवादीका सांसद एकैतिर र कांग्रेसका अर्काेपट्टि बस्नेछन्। संसदीय परम्परामा सत्तापक्ष सभामुखको दायाँ र प्रतिपक्ष देब्रेपट्टि बस्ने चलन छ। प्रदेश सरकार नबनिसकेको अवस्थामा सर्वदलीय बैठकले दलको आकारका आधारमा ठूलोलाई दायाँपट्टि र दोस्रो ठूलोलाई देब्रेपट्टिको ठाउँ तय गरेको हो। तेस्रो दललाई सत्तातिरकै कुर्सी राखिएको छ। ६० सांसद रहेको प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र १ स्वतन्त्र छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.