नथिया : वादी समुदायको गीता
काठमाडौं : सरस्वती प्रतीक्षाको पहिलो उपन्यास ‘नथिया’ शनिबार राजधानीमा विमोचन भयो। प्रदेशसभा सांसद उमा वादीले उपन्यास विमोचन गरेकी हुन्।विमोचनपछि बोल्दै सांसद वादीले उपन्यासले आफ्नो समुदाय र पछि परेका महिलाको कथा भनेको बताइन्। ‘हिन्दु धर्ममा गीता र महाभारतको जस्तो स्थान छ, नथिया वादी समुदायका लागि त्यस्तै छ। यो हाम्रा लागि गीता हो’, वादीले भनिन्, ‘वादीका आँसु, दुःखलाई सरस्वतीले किताबमा लिपिबद्ध गर्नुभएको छ।’
पत्रकार नारायण वाग्लेले नथिया समकालीन साहित्यको श्रेष्ठ उपन्यास भएको दाबी गरे। ‘सोझो रेखाको शैली, सरस, सरल कथाले पाठकलाई डोर्याउँदै लैजान्छ। किताबले हामीलाई दाङको वादी बस्ती र किताबकी नायिका सामलीको जीवनमा प्रवेश गराउँछ’, वाग्लेले भने, ‘किताबका आकर्षण यसका संवाद हुन्। महिला, मर्यादा र समानताको खोजी गर्छ किताबले। नथिया पढ्दा आँसुको ढिक्काबाट जोगाउन सकिनँ।’
राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले नथिया वादी समुदायको आँसु, रगत, छोटे राजाको वीर्य र लेखक सरस्वतीको साधनाले निर्माण भएको बताइन्। ‘अरू किताबजस्तो सजिलो यो होइन। कविताजस्तो यो उपन्यासको महिला नायक पिलन्धरे छैन’, उनले भनिन्, ‘यत्तिको शक्तिशाली किताब यसअघि मैले पढेको थिइनँ।’
उपन्यासकी नायिका सामली वादीको जन्मदिन माघ २० मै पर्छ। त्यसैले माघ २० गते नै उपन्यासको उत्सव मनाइएको लेखक सरस्वती प्रतीक्षाले सुनाइन्। ०६४ भदौ ५ गते सिंहदरबारअघि वादी महिलाहरूले अर्धनग्न भएर जुलुस निकालेका थिए। ‘त्यही घटनाले झक्झक्याएर मैले यो उपन्यास लेखेकी हुँ’, उनले भनिन्। ०६४ सालकै आन्दोलनको नेतृत्वकर्ता उमा वादीले नै उपन्यास विमोचन गरेकी हुन्।
उपन्यासकार सरस्वतीले किताब वादी संस्कृति र संवेदनाको जगमा उभिएको दाबी गरिन्। उनले यो किताब मात्र नभई आँसुको दस्तावेज भएको बताइन्। ‘१० वर्ष मभित्र गढेर बसेको रहर र रहरको क्यानभास मेरो उपन्यास हो’, सरस्वतीले भनिन्, ‘साहस मात्र होइन, दुस्साहसले लेखेको हुँ किताब।’ ०३६ देखि ०४६ साल सम्मको दाङको तत्कालीन वादी बस्तीको कथा उपन्यासमा लेखिएको सरस्वतीले बताइन्।
विमोचन समारोहमै फिल्म निर्देशक दीपेन्द्र के. खनालले नथियामाथि फिल्म बनाउने घोषणा गरे। ‘किताब पढ्दा धेरै ठाउँमा म निस्सासिएँ’, खनालले भने, ‘पढिरहँदा किताबकी नायिका सामली मै हुँ कि झैं अनुभूति भइरह्यो।’
सरस्वतीको यसअघि ‘यद्यपि प्रश्नहरू’, ‘विम्बहरूको कठघरा’ र ‘बागी सारंगी’ कवितासंग्रह प्रकाशित छन्। उपन्यास बुक हिल पब्लिकेसनले बजारमा ल्याएको हो।