सामाजिक सद्भावको बनारसी जात्रा
बैतडी : दलितहरूले अझै पनि मन्दिर दर्शनमा भेदभाव खेप्दै आएका छन्। बैतडीको पाटन नगरपालिका— ३ स्थित बनारसी मन्दिरमा भने दलित समुदायका पुजारी छन्। यहाँ हरेक वर्षको माघ शुक्ल दशमीका दिन जात्रासहित पूजाआजा हुन्छ। दलित समुदायका पुजारीले पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्छन्।
गएको शुक्रबार गाउँगाउँबाट बाजागाजासहित जात्रा आएपछि पुजारी झुले लुहार बनारसी देवताको पूजाआजा गर्दै सबैलाई टीका प्रसाद लगाइदिए। टीका प्रसाद ग्रहणका लागि दर्शनार्थी तँछाडमछाड गरेका थिए। बनारसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद पन्तले भने, ‘यहाँको पूजा विधिले जातीय भेदभाव गर्नु हुँदैन भन्ने कुरा सिकाएको छ।’
दलित अधिकारकर्मी रमेश कोली भन्छन्, ‘धार्मिक हिसाबमा जातीय छुवाछूत हुँदैन। यो पछि चलाएको चलन हो भन्ने कुरा बनारसी जात्राले पुष्टि गर्छ।’बनारसी जात्रामा बैतडीसहित अन्य जिल्लाका दर्शनार्थी पनि आउने गर्छन्।
बनारसी मन्दिरमा १२औं शताब्दीबाटै जात्रा हुने गरेको स्थानीयवासी बताउँछन्। देवता र राक्षसहरूका बीचमा लडाइँ हुँदा खोपरे दैत्यनामक राक्षसलाई बनारसी देवताले मारेको किंवदन्ती छ।