राजधानीको माग गर्दै वीरगन्ज बन्द
वीरगन्ज : वीरगन्जलाई २ को राजधानी बनाउन माग गर्दै आइतबार वीरगन्ज बन्द गरिएको छ। राजधानीको माग राख्दै विगत डेढ महिनादेखि निरन्तररुपमा आन्दोलन गर्दै आइरहेको वीरगन्ज राजधानी संघर्ष समितिले आइतबार बन्दको आह्वान गरेको हो।
आन्दोलनकारीहरुले वीरगन्जको घण्टाघर, माइस्थान , मुर्ली , पावर हाउस चोक, प्रतिमा चोक , नगवा , बहुअरीलगायतका स्थानमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले वीरगन्जमा बिहानैदेखि लामो तथा छोटो दूरीका नीजि तथा सार्वजनिक यातायातका सवारी साधनहरु चल्न दिएका छैनन्। यस्तै वीरगन्जको बजार , शिक्षण संस्थाहरु पनि आइतबार खुलेका छैनन्।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले आदर्शनगर र घण्टार चोकमा गरी दुईवटा नीजि गाडीमा तोडफोड गरेका छन्। घण्टार चोकमा बी आर ०५ पीए ३०४०नम्बरको भारतीय स्कार्पियो र आदर्शनगर चोकमा बा १० च ८५१३ नम्बरको कारमा आन्दोलनकारीहरुले तोडफोड गरेका हुन्। बिहानैदेखि आन्दोलनकारीहरु चोक चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कारण यहाँको जनजीवन प्रभावित भएको छ।
जनकपुरमा आइतबार बस्न लागेको प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक र त्यसमा सहभागी हुने प्रदेश सांसदहरुलाई खबरदारी गर्नकै लागि बन्द हडतालको आह्वान गरिएको संघर्ष समितिका सह संयोजक एवं पूर्वसांसद राजकुमार गुप्ताले बताए।गत माघ ३ गते सरकारले जनकपुरलाई अस्थायी राजधानी तोकपछि आन्दोलन चर्काएको वीरगन्ज राजधानी संघर्ष समितिले यसअघि माघ ४ गते पनि वीरगन्जमा बन्द हडतालको आह्वान गरेको थियो।
पुष २१ गते देखि निरन्तर चलिरहेको रिले अनशनसहितको आन्दोलनका भावी कार्यक्रम तय गर्न आइतबार बेलुकी संघर्ष समितिको बैठक बस्ने र त्यहि बैठकले आन्दोलनका सशक्त कार्यक्रम घोषणा गर्ने संघर्ष समितिका सदस्य एवं कांग्रेस नेता अरविन्द गुप्ताले जानकारी दिए।
आइतबार बिहानैदेखि बन्द रहेका वीरगन्जको घण्टाघर चोकका पसलहरु। तस्बिर : क्रान्ति साह