सहिदको तस्बिर सभाकक्षमा नराखेपछि प्रदेश २ मा विवाद
जनकपुर : आइतबार प्रदेश नम्बर २ मा पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ। बैठक सुरु भए लगत्तै सभाकक्षमा मधेस आन्दोलनका सहिदको तस्बिर नराखिएको भन्दै राजपाका प्रदेशसभा सदस्यले आपत्ति जनाए। राजपाका मनिष सुमनले सबैभन्दा पहिला उठेर सभामुख समक्ष सहिदको तस्बिर राख्न माग गरे।
राजपाकै अर्का सदस्य परमेश्वर साहले विरोध जनाउँदै भने, ‘हामी सहिदकै त्यागले आज यो एतिहासिक बैठकमा बस्न पाएका छौं र उहाँहरुकै सम्मान नहुँनु निन्दनीय हो।’
राजपा सांसदले सहिदको तस्बिर नराखेसम्म बैठक चल्नै नदिने अडान राखेर विरोध स्वरुप सदनमा उभिएका थिए। यसै क्रममा माओवादी केन्द्रका सदस्य भरत कुमार साहले मधेस आन्दोलनका साथै जनआन्दोलनका सहिदको तस्बिर पनि सभाकक्षमा राख्नुपर्ने माग गरे।
सदस्यहरुको मांगलाई हेर्दै सभामुख चौधरीले आगामी बैठकमा मधेस आन्दोलनका सहिदको तस्बिर सभाकक्षमा राखिने आश्वासन दिएपछि बैठक सुचारु भएको थियो।