प्रदेश ७ मा सभामुखको निर्वाचन माघ २९ गते
धनगढी : प्रदेश नम्बर ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ।
आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन हुन लागेको छ।
प्रकाशित कार्यतालिकाअनुसार प्रदेशसभाको निर्वाचनका लागि यही माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन साढे छ बजे उम्मेदवारको नामावली प्रकाशन, माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छानबिन गरिने छ।
यसैगरी माघ २८ गते २ बजेपछि दाबी विरोधको छानबिनपछि उम्मेदवारको आन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र माघ २९ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने कार्यतालिक प्रकाशन गरिएको ७ नं प्रदेश सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए।
सभामुखका लागि नेकपा एमाले समानुपातिक सांसद पूर्णा जोशीको नाम चर्चामा छ। वाम गठबन्धनको बहुमत रहेको ७ नं प्रदेशसभाको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रको भागमा र सभामुख एमालेको भागमा परेको छ। डोटीबाट निर्वाचित प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने सिफारिस माओवादी केन्द्रको प्रदेश समितिको बैठकले केही दिनअघि नै गरिसकेको छ।
५३ सांसद रहेको यस प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १४, काग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसदको प्रतिनिधित्व रहेको छ।