प्रदेश १ मा प्रदेशसभा बैठक : 'जातभन्दा राष्ट्रियता ठूलो'

प्रदेश १ मा प्रदेशसभा बैठक : 'जातभन्दा राष्ट्रियता ठूलो'

विराटनगर : शरीरमा बख्खु र शिरमा स्यमुङ (भुवादार चारकुने टोपी) लगाएर प्रदेशसभा भवन प्रवेश गरेका अग्ला कदका एक सांसद सञ्चारकर्मीको घेरामा परे। केही बेर उनको तस्बिर लिने र अन्तर्वार्ताको क्रम चल्यो। उनको पोसाकबाट आकर्षित भएर आगन्तुक र अन्य सांसदले पनि सेल्फी लिन भ्याए। यस्तो पोसाक लगाएर सोमबार प्रदेश १ को पहिलो प्रदेशसभा बैठकमा सहभागी हुन आएका उनी शेर्पा थिएनन्। उनी थिए, सोलुखुम्बुबाट निर्वाचित एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी।

‘भौगोलिक हिसाबले शेर्पा बहुल क्षेत्रबाट निर्वाचित भएको र त्यही जातिको प्रतिनिधित्वको झल्को दिन यस्तो पोसाक लगाएर आएको हुँ’, उनले भने, ‘यो प्रदेशले सगरमाथाको काखदेखि समथर तराई/मधेसको फाँटको पनि प्रतिनिधित्व गर्छ, यही सन्देश दिन खोजेको हुँ।’ उनले प्रदेश १ विश्वकै अग्लो सगरमाथादेखि मुलुककै होचो भाग केचनाकवलका जनताको साझा धरोहर भएको पनि चर्चा गरे।

यही क्रममा कुर्ता–पाइजामा लगाएर हँसिलो मुद्रामा मोरङबाट निर्वाचित जयराम यादव प्रदेशसभा भवनतर्फ लम्किए। यादवले लगाएको खैरो कुर्तामाथिको खरानी रङको जुहारी कोटले तराई/मधेसको प्रतिनिधित्व गरेझैं लाग्थ्यो। सँगै रहेका सोलुका राजभण्डारी र मध्यपहाडका एमाले सांसद शेरधन राईलाई आफूतिर तान्दै यादवले भने, ‘हिमाल, पहाड र तराई सँगै छ। यही हो हाम्रो प्रदेशको विशेषता।’ यादवले बैठकमा संघीय फोरमका तर्फबाट नेपालीमै शुभकामना मन्तव्य राखे।

‘देश संघीयतामा गइसकेपछि पहिचान र राष्ट्रियता झल्किने पोसाक इच्छाअनुसार लगाउन पाउनुपर्छ’, उनले भने, ‘कुनै पनि पोसाक अनिवार्य गरिनु हुँदैन।’

ताप्लेजुङका कांग्रेस सांसद ६६ वर्षीय प्रतापप्रकाश हाङ्गाम दौरासुरुवालमै विराटनगर आइपुगेका थिए। ‘पञ्चायतकालदेखि नै यही पोसाक लगाएँ’, उनले भने, ‘जातीय विविधताका लागि सबै समेटेको राम्रो तर मलाई चाहिँ यही सजिलो र राम्रो लाग्छ।’

एमाले सांसद बलबहादुर साम्सोहाङले जातभन्दा पनि राष्ट्रियता ठूलो भएको बताए। जातीय पोसाकमा नदेखिएका उनले कारण खोले, ‘म लिम्बूको मात्र नेता होइन, सबैले भोट दिएका छन्।’

भोजपुरबाट निर्वाचित एमालेका शेरधन राई ढाका टोपी र दौरासुरुवाल लगाएर बैठकमा सहभागी भए। संविधान कार्यान्वयनले गति लिएको उल्लेख गर्दै उनले प्रदेश १ बहुल जाति, भाषा र धर्मको प्रतिनिधित्व गर्ने समुन्नत प्रदेश भएको बताए। ‘हामीले यो प्रदेशलाई सहमतिका आधारमै समुन्नति र विकासको पथमा लग्ने हो’, उनले भने। आर्थिक विकास नै अबको बाटो भएको उनको भनाइ थियो।

देशकै होचो भूभाग केचनकवल रहेको झापाबाट निर्वाचित हिक्मत कार्की दौरासुरुवाल र ढाका टोपीमा प्रदेशसभा भवनभित्र छिरे। कार्कीले भने, ‘जातीय विविधताले भरिपूर्ण यो प्रदेश मुलुककै एक नम्बर बन्न सक्छ, हामी बनाउन तत्पर छौं।’ उनले संघीयता सम्पूर्ण जातजातिको समान सम्पत्ति भएको बताए।

प्रदेश १ का अधिकांश पुरुष सांसद दौरासुरुवाल लगाएर अधिवेशनमा सहभागी भए भने महिला सांसद सारीचोलो र कोटमा देखिए। कुर्तासलवारमा आएकी सांसद गुलेफुन खातुनले भनिन्, ‘म अल्पसंख्यक मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै प्रदेशसभासम्म आइपुगें। यो विविधताकै नमुना हो।’ स्वास्थ्य स्वयंसेविकाबाट प्रदेशसभासम्म आउन पाउँदा गर्व लागेको उनले बताइन्।

पहिलो बैठक माघ २९ गते सभामुख निर्वाचन गर्ने निर्णय गर्दै सोमबार सम्पन्न भएको छ। सोमबारको बैठक दिउँसो १ बजे बस्ने भनिए पनि २० मिनेट ढिलो सुरु भई करिब पौने एक घन्टासम्म चलेको थियो।

ज्येष्ठ सदस्य ओमप्रकाश सरागवीको अध्यक्षतामा विराटनगरस्थित जिसस भवन रहेको प्रदेशसभा हलमा बसेको बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो। फागुन २ गते उपसभामुखको निर्वाचन हुनेछ। सुरुमा प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले अधिवेशन सुरु गर्न पठाएको पत्र ज्येष्ठ सदस्य सरागवीले पढेर सुनाएका थिए। बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि पनि पारित गरेको छ।

समृद्धिमा एक नम्बर बनाउने अठोट

प्रदेश १ को पहिलो प्रदेशसभा बैठकमा बोल्ने अधिकांश सांसदले यो प्रदेशलाई सबैले एकजुट भएर समृद्ध बनाउनुपर्ने बताए। ‘सत्तापक्ष र प्रतिपक्ष नभनी प्रदेश १ लाई देशकै एक नम्बर र समृद्ध बनाउन सकिन्छ’, एमालेका भीम आचार्यले भने, ‘सबै मिलेर अघि बढ्नुपर्छ।’

कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठले ऐतिहासिक रूपमा बैठक बसेको उल्लेख गर्दै देश संघीयता कार्यान्वयनतर्फ गएकोले अब आर्थिक विकासमा जोड दिइनुपर्ने बताए। भने, ‘प्रदेश १ मा त अझ धेरै सम्भावना छ।’

माओवादीका इन्द्रबहादुर आङ्बोले जनतासँग गरिएका प्रतिबद्धता अब आफ्नै ठाउँबाट पूरा गर्न सकिने धारणा व्यक्त गरे। ‘आफ्नै साधनस्रोतका हिसाबले यो प्रदेश सक्षम छ’, उनले भने, ‘स्थिर सरकार बनाई देशकै धनी प्रदेश बनाउनेछौं।’

संघीय फोरमका जयराम यादवले ठूलो संघर्षपछि संघीय गणतन्त्र प्राप्त भएकाले बहुमत र पूर्ण स्थायित्वको सरकार गठन गर्दै आर्थिक सबलीकरणको बाटोमा अघि बढ्नुपर्ने बताए। स्वतन्त्र सांसद नारायणबहादुर मगरले प्रदेश सरकारका धेरै चुनौती रहने उल्लेख गर्दै उपलब्ध स्रोतको समुचित व्यवस्थापन गर्दै विकासको पथमा अघि बढ्नुपर्नेमा जोड दिए।

संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेले नेपालमा २४० वर्षअघि नै संघीयता रहे पनि एकीकरणका नाममा लिम्बुवान र खम्बुवानजस्ता राज्यको पहिचान नै ध्वस्त गर्ने काम भएको बताइन्। भनिन्, ‘नेपाल त्यति खेरै ध्वस्त गरिएको हो। त्यही बेला संघीयता अपनाउने अमेरिकाले ठूलो विकास गरे पनि हामी २४० वर्षपछि फेरि संघीयतामा गएका छौं।’ उनले पहिचान पैसाले किन्न नसकिने बताइन्। पहिचानबेगरको सात प्रदेशलाई पुनः संख्या थपेर १० जोड एक बनाइनुपर्ने उनको माग थियो। प्रदेशमा मातृभाषालाई सरकारी कामकाजी भाषा बनाउनुपर्ने, आईएलओ १६९ लागू गर्नुपर्ने र प्रदेश १ को पुनः सीमांकन गरी लिम्बुवान/खम्बुवान घोषणा गर्नुपर्नेलगायत मागसमेत गरिन्।

राप्रपाकी इन्दिरा राईले हिन्दूराष्ट्र नेपाल, राष्ट्र निर्माता पृथ्वीनारायण शाह र राजसंस्थालाई स्मरण गर्दै विधिको शासनबाट चलेको देश विभेदतर्फ उन्मुख भएको आशंका गरिन्। संघीयता र गणतन्त्रले विभाजनको कालो बादल मडारिएको हो कि भन्ने शंका बढेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.