मन्त्रालय सजाउने चटारो
सुर्खेत : प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएसँगै मन्त्रालय व्यवस्थापनमा भ्याइनभ्याई भएको छ। प्रदेश ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश सरकारका मन्त्रालय, मन्त्री र सचिवका लागि आवासको जोहो र सिँगारको काम गर्न कर्मचारीलाई भ्याइनभ्याई भएको हो। १० दिनभित्र मन्त्रालय व्यवस्थापनको काम सक्ने गरी काम थालिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।
यसअघि नै वीरेन्द्रनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना भइसकेको छ। प्रदेश संसद्को पहिलो बैठक सम्पन्न भइसकेको र अब सरकार गठन प्रक्रिया अघि बढ्ने भएपछि मन्त्रालय व्यवस्थापनको कामलाई तीव्रता दिइएको हो। यो प्रदेशमा रहने सात मन्त्रालयका लागि भवनको टुंगो लगाइसकिएको छ। मन्त्रालय राख्ने भवनमा अहिले क्षेत्रीय स्तरका कार्यालय रहेकाले तिनलाई खाली गराउने काम हुँदै छ।
यसअघि मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालनमा आइसकेको छ। १० दिनभित्र सबै मन्त्रालय र आवास व्यवस्थापनको काम सकिने प्रमुख सचिव सुरेश प्रधानले बताए। ‘संसद् चलिसकेको छ। अब तत्काल सरकार पनि गठन हुन्छ।
हामीले मन्त्रालय रहने भवनमा मर्मत तथा सजावटको काममा तीव्रता दिएका छौं’, उनले भने। केन्द्र सरकारबाट ढिला मात्र परिपत्र आएकाले व्यवस्थापनको काममा पनि ढिलाइ भएको उनको भनाइ छ। तर सरकार गठनअघि नै मन्त्रालय सिँगार्ने काम सम्पन्न गरिसक्ने उनको दाबी छ।
प्रदेश वन, वातावरण तथा विज्ञान मन्त्रालयका लागि क्षेत्रीय सिँचाइ र क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको भवन, सहकारी, पशुसेवा र भूमि व्यवस्थापन मन्त्रालयका लागि क्षेत्रीय कृषि निर्देशनालय र क्षेत्रीय पशु रोग अन्वेषण केन्द्रको भवन, अर्थ मन्त्रालयका लागि क्षेत्रीय शिक्षा निर्देशनालयको भवन, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि जिल्ला कृषि कार्यालयको भवन, भौतिक पूर्वाधार मन्त्रालयका लागि क्षेत्रीय सडक, सिचाँइ र जलउत्पन्न प्रकोप कार्यालयका भवन तथा शिक्षा, स्वास्थ्य र सामाजिक विकास मन्त्रालयका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको भवन छानिएको छ।
मन्त्रालय, मन्त्री र सचिवको आवासका लागि छनोट भएका भवन खाली हुने क्रममा रहेको बताइएको छ। जिल्लामा रहेका क्षेत्रीय स्तरका कार्यालय खाली भएपछि मन्त्रालय स्थापनाको कामले पनि गति लिने प्रमुख सचिव प्रधानले जानकारी दिए।
प्रदेश तहमा हुने कार्यालयमा धेरै विभाग रहने भएकाले दुई भवनमा एउटा मन्त्रालय राख्ने व्यवस्था मिलाइएको छ। सुर्खेतमा क्षेत्रीय स्तरका कार्यालय रहेकाले पनि प्रदेश मन्त्रालय व्यवस्थापनमा सहज भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बराज श्रेष्ठले बताए।
संसद् सिँगार्न तीन महिना
प्रदेश संसद्का लागि प्रस्तावित भवन मर्मत तथा सजाउन तीन महिना समय लाग्ने भएको छ। शैक्षिक तालिम केन्द्रलाई प्रदेशसभाका लागि छनोट गरिएको छ। त्यसको मर्मत र सजावटका लागि समय लाग्ने भएपछि हाल क्षेत्रीय सिँचाइ विकास डिभिजनको हलमा संसद् बैठक बस्दै आएको छ।
‘संसद्का लागि भवन उपयुक्त छ, यो दिगो पनि हुनेछ। तर हलमा ‘इको साउन्ड’ व्यवस्थापन गर्नुपर्नेछ’, श्रेष्ठले भने, ‘यसका लागि कम्तीमा तीन महिना समय लाग्छ।’ बाहिरबाट प्राविधिक जनशक्ति ल्याउनुपर्ने भएकाले पनि समय धेरै लाग्ने उनको भनाइ छ।