गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा एक सातादेखि आन्दोलन

गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा एक सातादेखि आन्दोलन

वीरगन्ज : ठोरी गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरोध गर्दै सुवर्णपुरवासी एक सातादेखि आन्दोलनरत छन्। बजार बन्द भई यातायातका साधन पनि सञ्चालन हुन नसक्दा जनजीवन कष्टकर बन्दै गएको छ।

माघ १५ गते बसेको पहिलो गाउँ परिषद्ले सुवर्णपुरमा रहेको सेवा केन्द्र निर्मलबस्तीको घ्याङ डाँडामा सार्ने निर्णय गरेको थियो। त्यसको भोलिदेखि नै सुवर्णपुरवासीले स्थानीय बजार बन्द गरी वीरगन्ज–ठोरी सडकमा गाडी गुड्न पनि दिएका छैनन्।

सुर्वणपुरवासीको आन्दोलनका कारण हुलाकी सडकको कामसमेत रोकिएको छ। उनीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। एक सातादेखि गाडी नगुड्दा र बजार पनि बन्द हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीय अर्जुन श्रेष्ठले बताए।

संघर्ष समिति गठन गरी आन्दोलनरत स्थानीयले सेवा केन्द्र यथावत राख्नुपर्ने, सबै वडामा समान ढंगले बजेट विनियोजन गर्नपर्ने , १५ शय्याको अस्पताल पायक पर्ने ठाउँमा राख्नुपर्ने माग राखेका छन्।

गाउँपालिका उपाध्यक्ष शान्तिमाया थिङसहित वडा नम्बर ५ र ३ का गरी १० जनप्रतिनिधिले असहमति जनाए पनि अध्यक्षले एकलौटी रूपमा सेवा केन्द्र सार्ने निर्णय गर्न लगाएको संघर्ष समितिका संयोजक जरी लामा थिङले बताए। आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले सुनाए। गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले फेरि गाउँ परिषद बैठक बोलाउनुपर्ने माग उनले गरे।

सुवर्णपुरका कांग्रेस नेता विश्वराज घिमिरेले स्थानीयलाई बेवास्ता गरी ठोरी गाउँपालिकाका जनप्रतिनिधि अगाडि बढ्न नसक्ने चेतावनी दिए। संघर्ष समितिले सोमबार युवा परिचालन, महिला परिचालन र बुद्धिजीवी परिचालन उपसमितिहरू गठनसमेत गरेको छ।

आन्दोलनको विरोध

निर्मलबस्तीको विजयबस्तीमा भने सुवर्णपुरमा भइरहेको आन्दोलनको विरोध र सेवा केन्द्र सार्ने निर्णयको समर्थनमा सोमबार प्रदर्शन भएको छ। सुर्वणपुरको आन्दोलन फिर्ता गर्न र गाउँ परिषद्ले गरेको सेवा केन्द्र सार्ने निर्णय कार्यान्वयन गर्न माग गर्दै ठोरी विजयबस्तीका युवाले मोटरसाइकल ¥याली निकालेर प्रदर्शन गरेका हुन्।

यसैबीच गाउँपालिकाले आन्दोलनमा उत्रिएको संघर्ष समितिलाई वार्तामा आउन आग्रह गरेको छ। संघर्ष समितिलाई वार्तामा आउन आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुँवरले जानकारी दिए। उनका अनुसार सहजकर्तामार्फत वार्ता आह्वान गरिएको हो। जिसस पर्साका उपाध्यक्ष ठाकुर न्यौपानेमार्फत वार्तामा आउन आग्रह गरिएको र सम्भवतः मंगलबार बिहान ११ बजे विजयबस्तीमा वार्ता हुने उनले बताए।

संघर्ष समितिका संयोजक थिङले भने वार्ताका लागि सहजकर्तामार्फत मौखिक जानकारी आएको उल्लेख गर्दै पत्र नपठाएसम्म वार्तामा नबस्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.