राष्ट्रिय सभा निर्वाचनः सकियो मतदान, आजै परिणाम

राष्ट्रिय सभा निर्वाचनः सकियो मतदान, आजै परिणाम

काठमाडौं: राष्ट्रिय सभा सदस्यको निर्वाचनको मतदान छवटै प्रदेशमा सकिएको छ । १२ वटा मतदान केन्द्रमा बिहान ७ बजे सुरु भएको मतदान दिउँसो ३ बजे समापन भएको छ ।

मतपरिणाम पनि आजै राति अबेरसम्म आइसक्ने भएको छ । प्रदेश २ बाट सबै आठजना सदस्यसहित २४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । ३२ सिटको लागि भएको ५२ जना प्रतिस्पर्धामा थिए ।

हाम्रा सहकर्मीका अनुसार प्रदेश १ मा मतदान सकिएको छ । प्रदेश १ मा ९३ प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २७४ गरी ३६७ मतदाता थिए ।

चार भोट खसेन

संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको एक महिना अघि दुर्घटनामा ज्यान गएको थियो । त्यसैगरी चारजनाले पनि मतदान गरेनन् । उनीहरु विरामी भएर नआएको बताइएको छ ।

एमालेबाट निर्वाचित संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष कटुवालको जीप दुर्घटनामा मृत्यु भइसकेको छ । संघीय लोकतान्त्रिक मञ्चकी बिष्णु तुम्बाहाम्फेले पार्टीको निर्णयानुसार राष्ट्रिय सभा निर्वाचन बहिष्कार गरिन् । त्यसैगरी स्थानीय तहका अन्य दुईजना प्रतिनिध विरामी भएको जनाउँदै मतदानमा उपस्थित भएनन् ।

प्रदेश ३ को अवस्था

प्रदेश ३ मा ३४८ मतदाता र १४ उम्मेदवार छन् । बिहान १० बजेदेखि ललितपुरको जाउलाखेलमा रहेको भलिबल मैदानमा १ बजे सकिएको छ ।

मनाङ्गे आएनन्

प्रदेश ४ को पनि मतदान समेत सकिएको छ । पोखरामा भएको प्रदेश ४ को निर्वाचनमा २३० मध्ये २२९ जनाले मतदान गरेका छन् । तत्कालीन पुनरावेदन अदालत पाटनबाट पाँच वर्षको सजाय पाएपछि फरार रहेका प्रदेश सभा सदस्य दीपक मनाङ्गे पोखरामा मतदान गर्न आएनन् । उनले सपथ समेत गरेका छैनन् ।

प्रदेश ५ मा २ भोट खसेन

प्रदेश ५ मा ३०३ मत खसेको छ। ३०५ मतमध्ये प्रदेश सभाको १ र स्थानीय तहको १ गरी दुई मत नखसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राजपाका प्रदेश सभा सदस्य बीना पन्त र संघीय समाजवादी फोरमबाट निर्वाचित बाँकेको नरैनापुरका इस्तिायक अहमद साहले मतदान गरेनन् । प्रदेश ५ मा प्रदेश सभातर्फ ८७ र स्थानीय तहमा २१८ मतदाता छन । प्रदेश ५ को मतदान दाङमा भएको थियो ।

प्रदेश ६ मा सबै मतदान

सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदेश ६ को राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सतप्रतिशत मतदान भएको छ । प्रदेश ६ मा १९८ जनाले नै मतदान गरेका छन् ।

प्रदेश सभाका ४० र स्थानीय तहका १५८ जना सबै मतदानमा सहभागी भए । प्रदेश ६ मा ८ जनाकै लागि निर्वाचन भएको छ । प्रदेश ६ मा एमालेबाट ५, माओवादीबाट ३ र कांग्रेसबाट ४ गरी १२ उम्मेदवार छन् ।

प्रदेश ७ मा २२९ मध्ये २२७ जनाले मतदान गरेका छन् । डोटीको दिपायलमा भएको मतदानमा राजपाका दुई प्रदेश सभा सदस्य सहभागी भएनन् । समानुपातिक सांसद मालमति राना थारु र कैलाली क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सभा सदस्य कृष्णकुमार चौधरीले मतदानमा सहभागिता जनाएनन् । प्रदेश ७ मा ६ जना यसअघि नै निर्विरोध भएका छन् । दलित तथा अपाङ्गता भएका र अल्पसख्यकका दुईजनाका लागि निर्वाचन भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.