प्रदेश १ मा वाम गठबन्धनका उम्मेदवार विजयी
विराटनगर : राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। राष्ट्रियसभा सदस्य दलिततर्फ एमालेका खेम नेपाली छ हजार दुई सय ७० मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्र्धी कांग्रेसका बिन विश्वकर्माले दुई हजार आठ सय ३२ मत प्राप्त गरे। उक्त पदमा स्थानीय तहका जनप्रतिनिधिको ९ र प्रदेशसभाको १ मत बदर भएको छ।
यस्तै अपांगता भएका वा अल्पसंख्यकमा पनि वाम गठबन्धनका अगमप्रसाद बान्तवा राई विजयी भएका छन्। राईले छ हजार एक सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले दुई हजार आठ सय ९८ मत प्राप्त गरे। यो पदमा स्थानीय तहका १० र प्रदेशसभाको दुई मत बदर भएको छ।
१ नम्बर प्रदेशमा ९३ जना प्रदेश सांसद र २ सय ७४ स्थनीय तहका प्रतिनिधि छन्। जसमध्ये प्रदेश सांसद ९२ जनाले र २ सय ७२ स्थानीय तहका प्रतिनिधिले मत खसालेका थिए। राष्ट्रियसभाका आठ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
निर्विरोध निर्वाचित हुनेहरुमा महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल तथा नेपाली कांग्रेसका सरिता प्रसाई छन्। यस्तै खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भएका हुन्। विजयी उम्मेदवारलाई भोली प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ।