दुई पार्टीको एकता छिट्टै : नेपाल
धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै हुने बताएका छन्। टीकापुर महोत्सवको उद्घाटनका लागि आएका नेता नेपालले धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भने, ‘दुवै पार्टीका नेताहरुलाई चीत्तबुझ्दो स्थान दिएर पार्टी एकता गर्नुपर्ने भएकोले कसरी एकीकरण गर्ने भन्ने विषयमा दुवै पार्टीका नेताहरु छलफलमा रहेको छ।’ नेता नेपालले पार्टी एकतापछि मात्रै सरकार गठन हुने बताए। जनताको जनादेश वाम गठबन्धनले पाँच वर्षको स्थायी सरकार बनाउनुपर्ने भएकाले पनि छिट्टै एकता गरेर विकास र समृद्धिको यात्रामा लाग्नुपर्नेमा उनले बताए।
नेता नेपालले कांग्रेसको सरकारले गरेका निर्णय गलत भएकोले अबको सरकारले त्यसको पुर्नविचार गर्ने बताए। ‘कांग्रेस नेतृत्वको सरकारले धेरै दीर्घकालीन असर पार्ने खालका निर्णय गरेको छ, नयाँ जनादेश आईसकेपछि त्यो सरकारले दीर्घकालीन असर पार्ने खालका निर्णयहरु गर्न पाउदैन, त्यसैले नयाँ बन्ने सरकारले ती निर्णयहरुमा पुर्नविचार गर्नेछ’, उनले भने। नेता नेपालले यो प्रदेशको विकास गर्नका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने र त्यसका लागि केन्द्रको सरकारले पनि सहयोग गर्ने बताए।
टीकापुरमा बिहीबारबाट सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको नेता नेपालले उद्घाटन गरे।
महोत्सवमा सम्बोधन गर्दै उनले नेपालले अब बन्ने सरकारले कृषिलाई नेपालको अर्थतन्त्रको मुख्य आधार बनाउने बताए। ‘नेपालको अर्थतन्त्रको जग कृषि भएकोले कृषिको आधुनिकीकरण र व्यवसायिकरण गरिनेछ’, उनले भने।
नेपालले सबै युवा र नेपाली नागरिकमा उद्यमशिलताको विकास भएमा अर्थतन्त्रको विकास हुने बताउँदै आफू प्रधानमन्त्री हुँदा टीकापुरमा पोलिटेक्निक इन्स्च्यिुट, रानी जमरा कुलरिया सिचाई आयोजनालगायत विकासका पूर्वाधार खडा गरेको दाबी गरे।महोत्सव आयोजक टीकापुर उद्योग वाणिज्य संघले तीन सुत्रीय माग पूर्व प्रधानमन्त्री नेपाल समक्ष राखेको छ। महोत्सव टीकापुर उद्योग वाणिज्यका अध्यक्ष परसुराम चपागाईको अध्यक्षतामा भएको थियो।