माओवादी दलका नेता चुनिए आङ्बोहाङ

 माओवादी दलका नेता चुनिए आङ्बोहाङ

विराटनगर : माओवादी केन्द्रले प्रदेश १ को संसदीय दलका नेता चयन गरेको छ। विराटनगरमा बिहीबार बसेको माओवादी प्रदेश संसदीय दलको पहिलो बैठकले टंक आङ्बोहाङलाई नेता चुनेको हो। माओवादी केन्द्रीय सचिवालय सदस्य आङ्बोहाङ ताप्लेजुङबाट प्रदेशसभा सदस्य हुन्।

बैठकले पार्टीका तर्फबाट सरकारको नेतृत्व इन्द्र आङ्बोले गर्ने निर्णय गरेको छ। उपनेता, प्रमुख सचेतक, सचेतक र उपसभामुखका विषयमा भने निर्णय गर्न बाँकी रहेको माओवादीले जनाएको छ।

माओवादी प्रदेश कमिटीले गरेको पत्रकार सम्मेलनमा बाँकी पदको विषयमा फेरि छलफल हुने जानकारी दिइएको हो। ‘संसदीय समिति र मन्त्रालयहरूका विषयमा वाम गठबन्धनसँग छलफल भई आफ्नो हिस्सामा कुन-कुन पर्छन् भन्ने तय भएपछि मात्र निर्णय लिनेछौं’, माओवादी प्रदेश संयोजक सावित्री काफ्लेले भने। उनले केन्द्रीय भागबन्डाअनुसार प्रदेश १ मा माओवादीले उपसभामुख प्राप्त गर्ने निर्णय भएकाले महिला वा पुरुष भन्ने टुंगो लागेपछि मात्र त्यस विषयमा निक्र्योल गरिने बताए।

वाम कार्यदलले टुंगो लगाएअनुसार नै माओवादीले मन्त्रीको टुंगो लगाउने जानकारी दिँदै काफ्लेले भने, ‘यो प्रदेशमा बढीमा सात मन्त्रालय रहने भन्ने छ। तर, सांसद् संख्याको १० प्रतिशत मन्त्री बन्ने भन्ने केन्द्रमा सहमति भएकाले १० मन्त्री हुने सम्भावना भए हामीले पनि त्यहीअनुसार तयारी गर्नेछौं।’ उनका अनुसार कुन-कुन मन्त्रालय माओवादीले लिने भन्ने टुंगो लागिसकेको छैन।

दलको बैठक ज्येष्ठ सदस्य सौभाग्यवती राईको अध्यक्षतामा बसेको थियो।

माओवादीको प्रदेश कमिटीमा गुटगत र लाइनको संघर्ष विवाद रहेको भन्ने चर्चा निराधार भएको दाबी संयोजकले गरे। उनले पार्टीको निर्णयप्रति कसैको विमति नभएको र ‘बाहिर प्रचार भएजस्तो’ कसैलाई काखा अनि पाखा गर्ने काम नभएको पनि दाबी गरे। प्रदेश कमिटीले एकलौटी ढंगले विभिन्द पदमा सिफारिस गरेको भन्दै १९ जनाले पार्टी हेडक्वार्टरमा ज्ञापनपत्र पठाएपछि विवाद सतहमा आएको थियो।

प्रदेश इन्चार्ज गोपाल किरातीले पार्टीभित्र विचार संघर्ष रहेको तर बाहिर आएजस्तो चरम नभएको दाबी गरे। भने, ‘माओवादीले उठान गरेको पहिचानको मुद्दा भने छाड्नु हुन्न भन्ने पक्षमा म पनि छु।’

उदयपुरबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका नारायणबहादुर मगर पार्टीमै फर्किएको र अब यो प्रदेशमा माओवादी प्रदेशसभा सदस्यको संख्या १६ पुगेको पनि जनाइएको छ। कानुनी प्रक्रिया पूरा गरेर मगर माओवादीकै सांसद बन्ने पनि जानकारी दिइएको थियो।

एमालेले आज छान्दै

प्रदेश १ मा एमाले संसदीय दलको नेता चयन गर्न सर्वसम्मतिको प्रयास विफल भएको छ। दलका नेता बन्न तीन जना आकांक्षी देखिएपछि रस्साकस्सी चलेको छ। प्रदेशको बैठकबाट सहमति हुन नसकेपछि दलका नेता चुन्न शुक्रबार बैठक बस्दै छ। विराटनगरमा बस्ने बैठकले अझै सहमतिको प्रयास गर्ने तर टुंगो लाग्न नसके चुनावी प्रतिस्पर्धाबाट नेता छान्ने जनाइएको छ।

प्रदेशसभामा बहुमतप्राप्त दल एमालेको संसदीय दलका नेता नै मुख्यमन्त्री बन्ने भएकाले प्रदेश इन्चार्ज भीम आचार्य, सहइन्चार्ज शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरे दौडधूपमा छन्। ‘शुक्रबारलाई बैठक डाकेका छौं, सहमतिका लागि अझै ढोका खुला छ’, नेता आचार्यले भने, ‘सहमति हुन नसके निर्वाचन प्रक्रियाअनुसार दलको नेता छान्छौं।’

यद्यपि, सहमति हुने सम्भावना नदेखिएपछि नेताहरू आफ्नो पक्षमा परिणाम ल्याउन प्रदेशसभा सदस्यलाई रिझाउनेदेखि गुटगत तयारीमा लागेका छन्। राई संस्थापन पक्षधर हुन् भने आचार्य र घिमिरे एमाले वरिष्ठ नेता माधवकुमा नेपाल निकट। प्रदेशसभा सदस्यको संख्यालाई आधार बनाएर नेताहरू चुनावी तयारीस्वरूप आन्तरिक भेटघाट तथा तयारीमा लागेका छन्। ‘सर्वसम्मति नभए चुनावमै गई निक्र्योल गरिनेछ’, नेता राईले भने। प्रदेश १ मा ५१ सांसदसहित एमाले स्पष्ट बहुमतमा छ।

यसैबीच मुख्यमन्त्रीका आकांक्षीले आआफ्नो दाबी प्रस्तुत गरेका छन्। आचार्यले मुुख्य मन्त्रीका लागि आफू नै सक्षम रहेको दाबी गर्दै भने, ‘मेरो नेतृत्वमा पार्टीले १ नम्बर प्रदेशमा स्पष्ट बहुमत ल्याएको हो। त्यसकै आधारमा पनि मेरो नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्छ।’ उनले पार्टीमा आफ्नो स्थान अन्य नेताभन्दा माथि रहेको उल्लेख गर्दै सम्मानजनक रूपमा अरू नेताले छाडिदिनुपर्ने तर्क पनि गरे। मुख्यमन्त्री भएपछि प्रदेशमा भएका अथाह सम्भावनालाइ विकासमा रूपान्तरण गर्ने उनको भनाइ छ।

अर्का दाबेदार नेता राईले प्रदेश १ संवेदनशील क्षेत्रसमेत रहेको हुँदा आफूले सबै क्षेत्रको प्रतिनिधित्व गर्न सक्ने बताए। ‘जातीय आधारमा सबै क्षेत्र र तहको सम्बोधन गर्न पनि म नै मुख्यमन्त्री बन्नुपर्ने हुन्छ’, उनले भने, ‘भूगोल र जनताको मागका आधारमा मुख्यमन्त्रीको बलियो दाबी मेरै हो।’ पार्टीले आफूलाई नै मुख्यमन्त्रीका लागि प्रदेशमा चुनाव लड्न पठाएको पनि उनको दाबी छ। उनले आफू मुख्यमन्त्री भएपछि सबै क्षेत्रका जातजाति र भाषाभाषीको सम्मान गर्दै सबैलाइ उचित सम्बोधन हुने काम गर्ने र प्रदेशलाइ आर्थिक रूपमा सक्षम बनाउने गोरेटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.