मुख्यमन्त्रीमा शाहीलार्इ सहज

मुख्यमन्त्रीमा शाहीलार्इ सहज

सुर्खेत : लामो रस्साकस्सी र आन्तरिक संघर्षबीच माओवादी नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। माओवादी प्रदेशसभा संसदीय दलको नेतामा चयन भएसँगै उनी प्रदेश ६ को भावी मुख्यमन्त्रीको सम्मुख पुगेका हुन्। वीरेन्द्रनगरमा बिहीबार सम्पन्न संसदीय दलको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो।

पूर्वऊर्जामन्त्रीसमेत रहेका शाही मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए। तर माओवादीकै अर्का नेता नरेश भण्डारीले पनि मुख्यमन्त्रीको आकांक्षासहित संसदीय दलको नेतामा अडान नछाडेपछि दुई नेताबीच रस्साकस्सी नै चलेको थियो। आन्तरिक संघर्षका कारण संसदीय दलको नेतामा सहमति हुन नसकेपछि पार्टीका नेता शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा वीरेन्द्रनगर आएका थिए। बस्नेत र शर्माको रोहवरमा नै बिहीबार सम्पन्न संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको हो।

माओवादीको प्रदेशसभा संसदीय दलको बैठकले औपचारिक रूपमा शाहीलाई दलको नेतामा चयन गरेको छ। योसँगै शाहीलाई अब प्रदेश ६ को मुख्यमन्त्री बन्ने बाटो पनि खुलेको हो। कालिकोटको प्रदेशसभा ‘ख’बाट विजयी शाही र जुम्लाको प्रदेशसभा ‘क’बाट विजयी भएका भण्डारीबीच दलको नेता बन्न रस्साकस्सी चलेको थियो। अध्यक्ष प्रचण्डनिकट मानिने शाही र वरिष्ठ नेता रामबहादुर थापानिकट मानिने भण्डारीले मुख्यमन्त्रीका लागि बाटो खुला गर्न दलको नेतामा दाबी गर्दै आएका थिए। दुवै जनाको अडानका कारण माओवादीभित्र दलको नेता चयन गर्न सकस भएको थियो। तर बिहीबार केन्द्रीय नेताको पहलमा शाहीको नाममा सर्वसम्मत निर्णय गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ।

वाम गठबन्धन कायमै रहे अब माओवादी संसदीय दलका नेता शाही प्रदेशको मुख्यमन्त्री हुने पक्का छ।

तत्कालीन माओवादी सेनाको छैटौं डिभिजनका कमान्डरसमेत रहेका शाहीलाई दलको नेता चयन भएसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। एमालेसँग चुनावी गठबन्धन गरेको माओवादीले भागबन्डामा प्रदेश ६ मा मुख्यमन्त्री पाएको छ। वाम गठबन्धनको प्रदेशसभामा दुईतिहाई बहुमत छ। एमालेसँगको गठबन्धन कायमै रहे अब माओवादी संसदीय दलका नेता शाही नै प्रदेशको मुख्यमन्त्री हुने पक्का छ। दलको नेतामा चयन भएपछि शाहीले प्रदेश ६ को समृद्धिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए। प्रदेशसभाभित्र र यो प्रदेशको समृद्धिका लागि आफूले निरन्तर प्रयास गर्ने उनले बताए। कालिकोटबाट निर्वाचित शाही नै यो प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएसँगै कर्णालीले पहिलो मुख्यमन्त्री पाउने देखिएको छ।

सुर्खेतलाई अस्थायी राजधानी तोकिएको र अब स्थायी राजधानी पनि सुर्खेतबाहेक अन्यत्र बन्ने सम्भावना नरहेकाले पनि कर्णालवासीले मुख्यमन्त्री पाउनुपर्ने आवाज पेचिलो बनाएका छन्। कर्णालीवासीले सुर्खेत राजधानी हुँदा आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएका छन्। महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुलेसँगै कर्णालीले पहिलो मुख्यमन्त्री पाउने सम्भावना पनि बलियो बनेको छ। एमालेसँगको गठबन्धनमा तलमाथि नभए शाही नै यो प्रदेशको मुख्यमन्त्री बन्नेछन्।

 संसदीय दलको नेता कँडेल

प्रदेश ६ मा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन्। वीरेन्द्रनगरमा बिहीबार सम्पन्न प्रदेशसभा संसदीय दलको बैठकले कँडेललाई दलको नेतामा चयन गरेको हो। लामो रस्साकस्सीपछि एमालेले पनि सर्वसम्मत रूपमा दलको नेता चयन गरेको छ। यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले नै कँडेललाई दल नेतामा प्रस्ताव गरेका थिए। ज्वालाको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मत पारित गरेको हो। कँडेल सुर्खेत क्षेत्र नं २ ‘क’बाट प्रदेशसभामा निर्वाचित भएका थिए। तर सल्यानबाट प्रदेशसभामा विजयी भएका ज्वालाले पनि दलको नेता बन्न अन्तिमसम्म आफ्नो अडान कायमै राखेका थिए।

अध्यक्ष केपी ओलीनिकट मानिने कँडेल र वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिने ज्वालाबीच दल नेताका लागि रस्साकस्सी थियो। तर अन्तिम समयमा ज्वाला पछि हटेपछि कँडेललाई दलको नेता बन्न सहज भएको हो। पार्टी उपाध्यक्ष तथा प्रदेश ६ का संयोजक युवराज ज्ञवालीको रोहवरमा संसदीय दलले पोलिटब्युरो सदस्य तथा प्रदेशका सहसंयोजक कँडेललाई दलको नेतामा चयन गरेको हो।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.